
काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र कटानको जोखिम घटाउन बागबजार र बबरमहलमा बक्स कल्भर्ट निर्माण गर्ने भएको छ ।
कामपा सार्वजनिक निर्माण विभागका सबइन्जिनियर दीपकबहादुर शाहीले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडकखण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गर्ने जानकारी दिए ।
उनका अनुसार यसको सम्झौता रकम ५७ लाख ७२ हजार ६९४ हो ।
कल्भर्ट निर्माणको काम आगामी चैत मसान्तभित्र सम्पन्न गर्नेगरी निर्माण पक्षसँग सम्झौता भएको छ । यो कल्भर्ट सडकतर्फ पाँच मिटर र पानी बहाव हुनेतर्फ १४ मिटरको हुनेछ ।
“अहिले त्यहाँ पानी निकासका लागि ह्युमपाइप राखिएको छ । यसरी राखिएका ह्युमपाइप पुराना भइसकेका छन्”, सबइन्जिनियर शाहीले भने, “बर्खाको समयमा पानीका बहाव रोकिने अवस्था भएको छ । बर्खाको समयमा हुने सम्भावित डुबान र कटानको जोखिम घटाउन बक्स कल्भर्ट निर्माण गर्न लागिएको हो ।”
कल्भर्ट निर्माणको प्रारम्भ भएपछि सडकको आवागमन पूर्ण बन्द हुनेछ । डिल्लीबजार पुतलीसडक चोक हुँदै बागबजारतर्फ जाने र रामशाह पथ हुँदै पुतलीसडक पुगेर बायाँ मोडिएर बागबजार जाने सवारीसाधनका लागि वैकल्पिक मार्गको व्यवस्थापन गर्न ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरिएको शाहीले बताए ।
यसका लागि दुवैतर्फबाट आउने सवारीसाधन कमलादी मोडमा पुगेर बायाँ मोडिँदै कमलादी गणेश मन्दिर, घण्टाघरतर्फको सडक उपयुक्त वैकल्पिक मार्ग बन्न सक्छ ।
यससँगै धोवीखोला नदी खण्डको दोभान नपुग्दै रोजबर्ड स्कुल नजिक पनि बक्स कल्भर्ट निर्माण हुँदैछ । यसको सम्झौता रकम दुई करोड २१ लाख २३ हजार ८९९ हो । यो काम २०८३ पुस मसान्तभित्र सम्पन्न गर्नेगरी निर्माण पक्षसँग सम्झौता भएको छ । यो कल्भर्टको लम्बाइ १७ मिटर र चौडाइ सात मिटरको हुनेछ ।
यस ठाउँमा भएको फलामे पुल २०८० सालको धोवीखोलाको बाढीले जगसहित क्षति गर्यो ।
वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकारले भने, “पुल बनाउने भनेर विभिन्न निकाय आए, कसैले बनाउँछु भन्यो भने नबनाउनु किन भन्नु भनेर हुन्छ भन्यौँ, तर कसैले बनाएनन् । त्यसपछि वडाले निर्माण योजना बनाउँदै थियो, महानगरपालिकाको केन्द्रीय बजेटबाट निर्माण हुनलागेको हो ।”








प्रतिक्रिया