इरानमा सत्तापरिवर्तनको लक्ष्यसहित अमेरिकी जलसेनाको तैनाथी, सफल होला ‘स्टील रिङ’ रणनीति ?


काठमाडौं । विगत केही दिनयता अमेरिकाले पश्चिम एसियामा आफ्नो जलसैन्य उपस्थिति बढाएको छ ।

आणविक ऊर्जाबाट चल्ने यूएसएस अब्राहम लिंकन क्यारियर स्ट्राइक ग्रुप सोमबार (जनवरी २६) अमेरिकाको फिफ्थ फ्लीटको जलक्षेत्र अर्थात् अरब सागरमा प्रवेश गरेको छ ।

सन् २०२५ मा क्यारिबियाली सागरमा जलसेनाको उपस्थिति बढाएर लागूऔषध तस्करहरूको डुंगामा बारम्बार आक्रमण गरेको अमेरिकाले सन् २०२६ को जनवरीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेको थियो । इरानमाथि आक्रमण गरी आयातोल्लाहको शासन ढलाउन अमेरिकाले जलसैन्य उपस्थिति बढाएको विश्लेषकहरूको कथन छ ।

हालका दिनमा अमेरिकी जलसेनाको बढ्दो तैनाथी सन् २००३ को इराक आक्रमणयता पर्सियन गल्फमा पश्चिमी समुद्री शक्तिको सबैभन्दा ठूलो उपस्थिति हो । यसले वाशिङटन र तेहरानबीच लामो समयदेखि चलिरहेको तनावलाई चर्काएको छ । सन् २०२५ मा इरान र इज्रायलबीच १२ दिनसम्म युद्ध हुँदा अमेरिकाले अपरेशन मिडनाइट ह्यामर चलाएर इरानको आणविक पूर्वाधारलाई सटीक हमलामार्फत ध्वस्त पारेको दाबी गरेको थियो ।

अहिले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी जलसैन्य जहाजहरूको ‘आर्माडा’ लाई इरानी प्रदर्शनकारीहरूको सुरक्षाकवच र मजहबी इरानी शासकलाई अन्तिम चेतावनीका रूपमा चित्रण गरेका छन् ।

आणविक सम्झौताका लागि दबाब दिने उद्देश्यले सैन्य तैनाथी बढाएको ट्रम्पको भनाइ छ ।

पर्सियाली खाडीमा अमेरिकाको जलसैनिक उपस्थितिलाई जहाजहरूको संख्याको दृष्टिबाट मात्र हेर्न हुँदैन । इरानी शासनलाई रक्षा गरिरहेको इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स (आईआरजीसी) को आन्तरिक र बाह्य शक्ति प्रक्षेपण क्षमतालाई कमजोर बनाउने यस उपस्थितिको उद्देश्य हो । यूएसएस अब्राहम लिंकनसँगै आर्ले बर्क श्रेणीका डिस्ट्रोयर र भर्जिनिया श्रेणीका द्रुत आक्रमण गर्न सक्षम पनडुब्बीहरूका साथै एफ–१५ई लडाकु विमान तैनाथीले अमेरिकी सेन्ट्रल कमान्डलाई मनोवैज्ञानिक डिटरेन्सदेखि पूर्ण सैन्य विनाशसम्मका लागि तयारी गरेको विश्लेषकहरू बताउँछन् ।

त्यससँगै मंगलबार यूएस एयरफोर्सेस सेन्ट्रल कमान्डले आफ्नो जिम्मेवारीको क्षेत्रमा अनेकौं दिनसम्मकोे तयारीका लागि सैन्य अभ्यासको घोषणा गरेको अलजजीरामा शोला लवलले लेखेको एक्सप्लेनरमा उल्लेख गरिएको छ । मध्यपूर्व, एसिया र अफ्रिकामा अमेरिकी सैन्य अड्डा भएका करिब २० देशलाई अमेरिकी वायुसेनाले जिम्मेवारीको क्षेत्र भनेको हो ।

नेभल वार कलेज रिभ्युमा सन् २०१८ मा प्रकाशित लेख ‘यू.एस. नेभल अप्शन्स फर इन्फ्लुएन्सिङ इरान’ का अनुसार, अमेरिकी जलसैनिक बलहरू इरानी शासकहरूको व्यवहारलाई आकार दिनका लागि विशेष रूपमा उपयुक्त छन् किनकि तिनीहरू अमेरिकाको सार्वभौम क्षेत्रमा रहेका सैन्य अड्डाबाट सञ्चालन गरिन्छन् । त्यसले पश्चिम एसियाका विभिन्न देशमा रहेका अमेरिकी सेनाको उपस्थितिसँग जोडिने राजनीतिक जटिलताहरूलाई छलिदिन्छ । सजिलो गरी भन्नुपर्दा, पश्चिम एसियामा अमेरिकाका कतिपय सहयोगी मुलुकहरूले आफ्नो भूमि इरानका विरुद्ध उपयोग गर्न नदिने भनिरहेको भए पनि अमेरिकालाई धेरै फरक पर्दैन ।

अहिले अमेरिकाले गरिरहेको शक्तिप्रदर्शनको रणनीतिक सन्दर्भलाई बुझ्नका लागि सन् २०२५ को जुन महिनामा सञ्चालन गरिएको अपरेशन मिडनाइट ह्यामरको अध्ययन गर्नुपर्ने हुन्छ । उक्त सैन्य कारवाहीका क्रममा अमेरिकी सेनाले बी–२ स्पिरिट स्टेल्थ बमवर्षक विमान र यूएसएस जर्जिया (एसएसजीएन–७२९) बाट प्रक्षेपित टमाहक मिसाइल उपयोग गरी नतान्ज र फोर्दोमा रहेका मजबुत आणविक केन्द्रहरूमा प्रहार गरेको थियो ।

त्यतिखेरको आक्रमणले इरानी शासनको आणविक कार्यक्रमलाई लक्षित गरेको भए पनि हालको तैनाथी प्रत्यक्ष रूपमा शासनको अस्तित्वसँग जोडिएको छ । सन् २०२५ को अन्त्यतिर सुरु भएको विद्रोहलाई इरानी शासकहरूले हिंस्रक रूपमा दबाएकोमा थप प्रदर्शनकारीको हत्या रोक्नका लागि अमेरिकाले जलसैन्य उपस्थिति बढाएको भनिएको छ । तेहरानलाई मार हान्न सकिने दूरीभित्र विमानवाहक युद्धपोतहरू राखेर अमेरिकाले रणनीतिक धैर्यको युग समाप्त भएको र इरानी जनताको सुरक्षाका लागि बलप्रयोगको युग सुरु भएको संकेत दिइरहेको छ ।

इरानमाथि रणनीतिक दबाबका लागि अमेरिकाले तीनवटा उपाय अपनाएको विश्लेषकहरू बताउँछन् । पहिलो, आर्थिक घेराबन्दी । सन् २०२५ मा ‘अपरेशन प्रोस्पेरिटी गार्डियन’ चलाएर अमेरिकाले लाल सागरमा हूती नाकाबन्दीलाई प्रभावहीन बनाएको थियो । हूतीहरूलाई तेहरानले पश्चिमविरुद्ध आर्थिक दबाबको साधन बनाउने आशा गरेकोमा त्यसमा सफलता पाएन ।
बाब–एल–मान्देब र हर्मुज जलसंयोजक (स्ट्रेट) सुरक्षित राखेर अमेरिकाले इरानको तेल निर्यातमा प्रतिबन्धका बावजुद विश्व व्यापार निरन्तर चलिरहने सुनिश्चित गरेको छ । त्यसले इरानी शासनलाई आफू जोगिनका लागि विश्वव्यापी ऊर्जा संकट सिर्जना गर्ने क्षमता खोसिदिएको छ ।

दोस्रो, आईआरजीसीमाथि मनोवैज्ञानिक दबाब । पश्चिम एसियामा अमेरिकाको जलसैन्य उपस्थितिले इरानका प्रदर्शनकारीहरूलाई हौसला दिन सक्छ । इरानी जनताले क्षेत्रीय शक्ति भनेर प्रस्तुत गरिएको आईआरजीसीको जलसेना अमेरिकी विमानवाहक युद्धपोतहरूको सामु टिक्न नसकेर आफ्ना बन्दरगाहमै बसिरहेको देखेमा इरानी शासनको अटुट शक्तिको भ्रम हटेर जान्छ । तर, आईआरजीसीले अमेरिकी सेनाको सामना गर्ने उद्घोष गरिरहेको छ ।

तेस्रो, विद्रोहीहरूलाई समर्थन । जनवरी महिनामा इरानी रियालको पतन र द्रुत गतिमा भएको मुद्रास्फीतिका कारण भएको व्यापक विरोध प्रदर्शन भयो । डिफेन्स सिक्योरिटी एसियाका अनुसार, अमेरिकी जलसेनाको पर्सियाली खाडीमा आउँदा प्रदर्शनकारीहरूले आफ्नो लागि सहायता आइरहेको रूपमा हेरेका छन् । यस्तो अवस्थामा अमेरिकी जलसेनाले इरानी शासनको भारी हतियार र आन्तरिक सञ्चार केन्द्रहरूलाई पंगु बनाएमा मात्रै पनि इरानमा भइरहेको विरोध प्रदर्शनले गति पाउनेछ ।

तर, अमेरिकाको जलसैन्य तैनाथीले आयातोल्लाह शासनको पतन गराउने कुराको सुनिश्चितता गर्दैन । सन् २०२५ मा भएको इरान–इजरायल युद्धमा इरानका आणविक र क्षेप्यास्त्र केन्द्रहरूमा क्षति पुगेको भए पनि इरानसँग घातक क्षेप्यास्त्रहरूको कमी छैन । १९फोर्टीफाइभ नामक रणनीतिक मामिलाका सामग्री प्रकाशन गर्ने वेबसाइटमा ज्याक बकबीको लेख ‘इरान जस्ट मेड अल–आउट वार थ्रेट इफ यू.एस. मिलिटरी अट्याक्स’ मा उल्लेख भएअनुसार, इरानको मोबाइल मिसाइल क्षमताका कारण अझै पनि ऊ खतरनाक छ । उससँग एकदेखि २ हजार किलोमिटर परसम्म मार हान्ने छोटो र मध्यम दूरीका क्षेप्यास्त्रहरू छन् । तिनले हिन्द महासागर र पर्सियाली खाडीमा रहेका अमेरिकाका सैन्य अड्डालाई निशाना बनाउन सक्छन् । त्यसबाहेक इरानले होर्मुज जलसंयोजकमा फतेह र गदिर नामक क्षेप्यास्त्र प्रहार गर्न सक्षम पनडुब्बीहरू तैनाथ गरेको छ । आफूलाई अप्ठ्यारो परेमा विश्व व्यापारको महत्त्वपूर्ण चोकपोइन्टका रूपमा रहेको होर्मुजलाई ठप्प पार्ने इरानको रणनीति हुन सक्छ ।

इरानी शासन अहिले खोक्रो संरचना बनिसकेको छ र त्यसलाई ढाल्नका लागि बाहिरबाट ठूलो झड्का दिए पुग्छ भनी कतिपयले तर्क गरेका छन् । वाशिङटन इन्स्टिच्युटका सैन्य विश्लेषक फरजिन नदिमीले ‘इरान एट ए वाटरशेड मुभमेन्ट ? द केस फर मिनिङफुल यू.एस. एक्सन’ शीर्षकको लेखमा उल्लेख गरेअनुसार अमेरिकाको जलसैन्य तैनाथीले आईआरजीसीको कमान्ड र कन्ट्रोललाई लक्षित गर्न आक्रामक सैन्य विकल्प सिर्जना गर्छ । अमेरिकी जलसेनाले आईआरजीसीका जलसैनिक साधन र तटीय मिसाइल ब्याट्रीहरू नष्ट गरेमा इरानी शासनले बाहिरको युद्ध देखाएर आफ्ना जनताको जायज माग नसुन्ने बहाना देखाउन पाउँदैन ।

तर, अमेरिकी जलसेनाको विशाल शक्तिका बावजुद कतिपय विश्लेषकहरू जलसैनिक गतिविधिले शासन परिवर्तन गराउन सक्छ भन्ने विषयमा शंका गर्छन् । अमेरिकामा रहेको रणनीतिक विश्लेषण संस्था सूफान सेन्टरले प्रकाशन गरेको लेख ‘ट्रम्प कुड स्टिल डिसाइड टु स्ट्राइक इरान’ मा उल्लेख भएअनुसार, हवाई र क्षेप्यास्त्र आक्रमणहरू विनाशकारी भए पनि इरानको सुरक्षा संरचनाको पूर्ण पतन हुने कुनै ग्यारेन्टी छैन । आईआरजीसीले दशकौंदेखि यही अवस्थाको तयारी गर्दै ‘मोजाइक डिफेन्स’ विकास गरेको छ । त्यसले सैन्य कमान्डलाई विकेन्द्रित गर्दै केन्द्रीय नेतृत्वको सफाया भए पनि स्थानीय एकाइहरू स्वतन्त्र रूपमा सञ्चालन गर्न मिल्ने प्रणालीलाई इंगित गर्छ ।

लामो समयसम्म अमेरिकी जलसैनिक तैनाथीले अनपेक्षित रूपमा इरानमा राष्ट्रवादी लहर सिर्जना गर्न सक्ने भनी युरोपियन काउन्सिल अन फरेन रिलेशन्सका विज्ञहरूले चेतावनी दिएका छन् । अमेरिका निरोध (डिटरेन्स) बाट पूर्णरूपमा वायु र जलसैन्य कारबाहीतर्फ गएमा इरानी शासनले यसलाई विदेशी आक्रमणका रूपमा चित्रण गर्नेछ । त्यस अवस्थामा अमेरिकाले समर्थन गरेको इरानी विरोध प्रदर्शनलाई कमजोर बनाइदिन सक्छ ।

त्यसबाहेक ९ करोड जनसंख्या भएको देशको शासन पतन हुँदा मानवीय र शरणार्थी संकट निम्त्याउन सक्छ । त्यसले सम्पूर्ण पश्चिम एसियालाई अस्थिर बनाउन सक्छ । यस्तो जोखिम लिन अमेरिकाका क्षेत्रीय साझेदारहरू इच्छुक छैनन् ।

अमेरिकाको लक्ष्य वास्तवमै सत्तापरिवर्तन हो भने अमेरिकी जलसैन्य बेडाले आईआरजीसीलाई आपूर्ति ढुवानी गर्न, ड्रोन प्रक्षेपण गर्न वा रुस र चीनजस्ता सहयोगीबाट मद्दत लिन रोक्नेछ । तर, इरानी जनताको आन्तरिक दबाबले मात्र शासन ढल्ने हो ।

यसरी अमेरिकी जलसेनाले इरान सरकारलाई प्रत्यक्ष रूपमा ढाल्न नसके पनि पतनका लागि आवश्यक अवस्थाहरू भने सिर्जना गरेको छ । तर, आयातोल्लाह शासनको पतन इरानी जनताले गराउने हो । तैपनि इरानको घेराबन्दी गर्नका लागि अमेरिकी जलसेनाले बनाएको स्टील रिङले इरानी शासनलाई भाग्ने कुनै ठाउँ बाँकी नराखेको देखिन्छ । आफ्नो अस्तित्व संकटमा परेको देखेपछि इरानी शासनले जोगिनका लागि भएभरको बल लगाउनेछ र त्यसक्रममा व्यापक हिंसा हुनेछ ।