अन्तर्राष्ट्रिय उडान धेरै गर्नेमा हिमालय एयरलाइन्स, यात्रु धेरै बोक्नमा भने वायुसेवा निगम अगाडि



काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय उडानमा स्वदेशी वायुसेवा हिमालय एयरलाइन्स र नेपाल वायुसेवा निगमबीच यात्रुसेवामा प्रतिस्पर्धा बढ्न थालेको छ । नेपालको अन्तर्राष्ट्रिय उडानका यी वायुसेवा कम्पनीमा सबैभन्दा धेरै उडान गर्नेमा निजी क्षेत्रको हिमालय एयरलाइन्स भए तापनि यात्रु उडानका हिसाबले भने नेपाल वायुसेवा निगम अगाडि छ ।

हिमालय एयरलाइन्सले गत वर्ष सन् २०२५ को एक वर्षमा ३ हजार ५ सय ४२ उडान गरेको छ । यो उडानबाट हिमालयले ४ लाख ७४ हजार ९८७ यात्रुलाई सेवा दिएको छ । तर हिमालयको भन्दा केही उडान कम गर्ने निगमको भने यात्रु सेवा बढी छ । निगमले सन् २०२५ को एक वर्षमा ३ हजार ५ सय १७ उडान गरेर ६ लाख ६ हजार ३३३ यात्रुलाई सेवा दिएको नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांकमा उल्लेख छ ।

प्राधिकरणको तथ्यांक अनुसार हिमालयले १ हजार ७७१ उडान र त्यति नै संख्यामा गरेको अवतरणमा पौने ५ लाख यात्रु बोकेको छ । हिमालयले २ लाख ३८ हजार ४५० यात्रुलाई विभिन्न देशबाट नेपाल ल्याएको छ भने २ लाख २१ हजार ५९२ यात्रुलाई विदेश उडाएको छ ।

निगमले पनि १ हजार ७५९ उडानबाट ३ लाख १६ हजार ३४२ यात्रुलाई विभिन्न देशबाट नेपाल ल्याएको छ । निगमले १ हजार ७५८ उडानबाट नेपाल बाहिर भने २ लाख ८८ हजार ९०५ यात्रुलाई लगेको तथ्यांकले देखाएको छ । वायुसेवा निगमले पछिल्लो एक वर्षमा यात्रु सेवासहित जहाज उडाएर गरेको आम्दानी करिब १६ अर्ब रुपैयाँ भएको अनुमान गरिएको छ । निगमको प्रति यात्रु करिब साढे २६ हजार रुपैयाँ औसत आम्दानी छ ।

निगमले गत आर्थिक वर्ष २०८१/८२ मा भने ५ लाख ७५ हजार ५६९ यात्रुलाई सेवा दिँदा १५ अर्ब २८ करोड रुपैयाँ आम्दानी गरेको छ । निगमले सन् २०२५ मा बोकेको ६ लाख ६ हजार ३३३ यात्रुको औसत आम्दानीका हिसाबले १६ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरेको उल्लेख छ ।

निगमले गरेको यस्तो आम्दानी गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/८२ मा भने कम देखिएको छ । अघिल्लो वर्ष २०८०/८१ मा ६ लाख १४ हजार ७८७ यात्रुलाई सेवा दिएर १५ अर्ब ४३ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको निगमले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

जहाज संख्याका हिसाबले हिमालय र निगमसँग ४/४ वटा नै छन् । तर, निगमले २ वटा वाइडबडी र २ वटा न्यारोबडी उडाउँदा हिमालय एयरलाइन्सको भने चारवटै न्यारोबडी जहाज रहेको छ ।

हिमालय एयरलाइन्सको तुलनामा निगमको वाइडबडीबाट यात्रु उडान क्षमता बढी हुने भएकोले पनि यसको उडान उस्तै रेन्जमा भए तापनि यात्रु सेवा संख्या भने बढी देखिएको हो । आम्दानीको हिसाबमा पनि निगमले नेपालबाट लामो दूरीको गन्तव्य (लङ हल) को रुपमा जापानको नारितासम्म जाने भएकोले यो गन्तव्यको भाडादरका कारण हिमालयभन्दा अगाडि देखिएको छ ।

उडान संख्याका हिसाबले नेपालमा सबैभन्दा बढी भारतीय वायुसेवा एयर इन्डियाको छ । यो वायुसेवाले गत वर्ष सन् २०२५ मा ३ हजार ६९५ उडान गरेको छ । यो उडानबाट एयर इन्डियाले नेपालमा दिएको यात्रु सेवा ४ लाख ९९ हजार ७४३ छ । नेपालमा एयर इन्डिया र निगमको यात्रु सेवाको हिसाबले प्रतिस्पर्धा देखिन्छ । निगमको यात्रु संख्या बढी र उडान संख्या कम छ भने एयर इन्डियाको उडान संख्या निगमको भन्दा बढी भए पनि यात्रु सेवा पनि करिब एक लाखले कम छ ।

नेपालमा पछिल्लो एक वर्षमा १ हजार ७९८ उडान गरेर कतार एयरवेजले ४ लाख ४६ हजार यात्रुलाई सेवा दिएको छ । कतारले नेपालमा २ लाख २४ हजार यात्रुलाई नेपाल भित्र्याउँदा २ लाख २४ हजारलाई बाहिर लगेको छ ।

नेपालमा भारतीय वायुसेवाको उडान वर्चस्व छ । भारतबाट आउने नियमित उडानका वायुसेवाहरु एयर इन्डिया, इन्डिगो एयर, एयर इन्डिया एक्सप्रेस र स्पाइस जेट आउँछन् । यी वायुसेवाले सन् २०२५ मा नेपालबाट भारतीय वायुसेवाले १० लाख यात्रुलाई हवाई सेवा दिएका छन् ।

नेपालको ५० लाख ४५ हजार अन्तर्राष्ट्रिय यात्रुको बजारमा १० लाख ९७ हजार नेपाली वायुसेवाले दिएको उडानबाट भएको छ भने बाँकी ३९ लाख भन्दा बढी विदेशी वायुसेवाकै भर पर्नुपरेको छ । नेपाली वायुसेवा नेपाल एयरलाइन्स, हिमालय र बुद्ध एयरले दिएको यात्रुको तुलनामा ४ गुणा बढी विदेशी वायुसेवाले नेपालमा यात्रुसेवा दिएका छन् ।

भारतीय वायुसेवाले ५ लाख २१ हजार २३६ यात्रुलाई नेपालबाट बाहिर लगेको छ भने ४ लाख ९१ हजार ७१० यात्रुलाई भारतबाट नेपाल ल्याएको पनि तथ्यांकले देखाएको छ ।

Skip This