ह्वाट्सयाप सुरक्षित नरहेको भन्दै मुद्दा दायर, इलोन मस्क र पावेल दुरोभ पनि चिन्तित


एजेन्सी । ह्वाट्सएपले आफ्ना सन्देशहरूको गोपनीयता र सुरक्षाबारे प्रयोगकर्ताहरूलाई भ्रममा पारेको आरोपमा अमेरिकामा मेटा विरुद्ध मुद्दा दायर भएपछि सामाजिक सञ्जाल एक्सका मालिक इलोन मस्क र टेलिग्रामका संस्थापक पावेल डुरोभले आफ्नो धारणा राखेका छन् ।

टेलिग्रामका संस्थापक तथा सीईओ पावेल डुरोभले एक्समार्फत टेलिग्रामले यसअघि नै ह्वाट्सएपको इन्क्रिप्सन प्रणालीको विश्लेषण गरेको र त्यसमा धेरै आक्रमणका माध्यमहरू पहिचान गरेको दाबी गरे । सन् २०२६ मा पनि कसैले ह्वाट्सएप सुरक्षित छ भनेर विश्वास गर्छ भने उसको मस्तिष्क मरिसकेको छ, उनले थपे ।

डुरोभले लेखे, ‘२०२६ मा ह्वाट्सएप सुरक्षित छ भनेर विश्वास गर्नका लागि तपाईंको मस्तिष्क मृत हुनुपर्छ । ह्वाट्सएपले कसरी आफ्नो इन्क्रिप्सन लागू गरेको छ भनेर विश्लेषण गर्दा आक्रमणका विभिन्न माध्यमहरू फेला पार्यौं ।’

टेस्ला र एक्सका मालिक इलोन मस्कले पनि मेटाविरुद्धको व्हिसलब्लोअर (भित्री कुरा खोल्ने व्यक्ति) को आरोपसँग सम्बन्धित सामग्री पुनः पोस्ट गर्दै यस आलोचनामा समर्थन जनाए । ‘ह्वाट्सएप सुरक्षित छैन । सिग्नल समेत शंकास्पद छ । एक्स च्याट प्रयोग गर्नुहोस्,’ मस्कले ह्वाट्सएपमा मात्र नभई सिग्नलमाथि पनि शंका व्यक्त गर्दै लेखे ।

डुरोभ र मस्कको प्रतिक्रिया सान फ्रान्सिस्कोको अमेरिकी जिल्ला अदालतमा दायर गरिएको एक मुद्दाबारे ब्लूमबर्गको रिपोर्टपछि आएको हो । त्यसमा मेटा प्लेटफर्मले ह्वाट्सएपको इन्ड–टु–इन्ड इन्क्रिप्सनले कम्पनीलाई प्रयोगकर्ताका संवादहरूमा पहुँच पाउनबाट रोक्छ भनी गलत दाबी गरेको आरोप लगाइएको छ ।

सन्देशहरू पठाउने र पाउनेले मात्र पढ्न सक्छन् भन्ने ह्वाट्सएपको आश्वासनका बाबजुद मेटाले प्रयोगकर्ताका सञ्चारका विषयवस्तुहरू भण्डारण र विश्लेषण गर्छ र त्यसमा पहुँच पाउन सक्छ भनी मुद्दामा दाबी गरिएको छ । यो मुद्दा भारत, ब्राजिल, अस्ट्रेलिया, मेक्सिको र दक्षिण अफ्रिका लगायतका देशका निवेदकहरूको एक अन्तर्राष्ट्रिय समूहले दायर गरेको हो । यसमा नाम नखुलाइएका ह्विसलब्लोअरहरूलाई उद्धृत गरिएको छ ।

तर, मेटाले ती आरोपहरूलाई कडा रूपमा अस्वीकार गर्दै मुद्दालाई तुच्छ भनेको छ । कम्पनीका एक प्रवक्ताले ह्वाट्सएपका सन्देशहरू इन्क्रिप्टेड छैनन् भन्ने कुनै पनि कुरा पूर्ण रूपमा गलत र हास्यास्पद भएको बताउँदै यो प्लेटफर्म झण्डै एक दशकदेखि इन्ड–टु–इन्ड इन्क्रिप्सनमा निर्भर रहेको थपे ।

मस्कको पोस्टमा प्रत्यक्ष प्रतिक्रिया दिँदै ह्वाट्सएपका प्रमुख विल क्याथकार्टले पनि ती दाबीहरूलाई निराधार भन्दै खारेज गरिदिए । क्याथकार्टले टिप्पणीमा लेखे, ‘यो पूर्णतया झूटो हो । ह्वाट्सएपले सन्देशहरू पढ्न सक्दैन किनभने इन्क्रिप्सन कुञ्जीहरू तपाईंको फोनमा भण्डारण हुन्छन् र हामीसँग तिनीहरूमा पहुँच हुँदैन ।’

उनले थपे, ‘यो कुनै ठोस आधार नभएको र हेडलाइनमा आउनका लागि हालिएको मुद्दा हो जुन त्यही फर्मले ल्याएको हो जसले पत्रकार र सरकारी अधिकारीहरूमाथि स्पाइवेयर आक्रमण गरेपछि एनएसओको प्रतिरक्षा गरेको थियो ।’