
काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन २१ गत हुने प्रतिनीधिसभा निवार्चनका लागि राजनीतिक दल र उमेदवारहरुलाई छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाउन बैकहरुलाई निर्देशन दिएको छ । सोमबार राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले उक्त निर्देशन दिएको हो ।
निर्वाचन आयोग नेपालको अनुरोधमा आमनिर्वाचन सम्पन्न भई निर्वाचन आयोगद्वारा निर्णय गरी बैंक खाता बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुने गरी उक्त खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
निवार्चन आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरुको सिफारिसमा आमनिर्वाचन अभियान समूह (वा यस्तै मिल्दो अन्य कुनै) का नेपाली मुद्राको आम्दानी खर्च कारोबार गर्न सक्ने गरी खाता खोल्न निर्देशन दिएको हो ।
‘प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार (समानुपातिक समेत) एवम् स्वतन्त्र उम्मेदवारहरुलाई छुट्टै एउटा (एक मात्र) बैंक खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाउनहुन यो सूचना जारी गरिएको छ,’ राष्ट्र बैंकले भनेको छ ।

यसरी खोलिने बैंक खाताको हकमा राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी एकीकृत निर्देशन, २०८२ को निर्देशन नं. २१ को बुँदा नं. ४५ मा रहेको व्यवस्थामा छुट प्रदान गरीएको राष्ट्र बैंकले जनाएको छ ।
‘बैंक वा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता खोल्न पाइने छैन भन्ने व्यवस्थामा निर्वाचन आयोगबाट उक्त बैंक खाता बन्द गर्न नलगाउँदासम्म छुट प्रदान गरिएको छ,’ राष्ट्र बैंकले भनेको छ ।








प्रतिक्रिया