ब्रोडव्याण्ड इन्टरनेटमा टेलिकम र डिसहोमबीच ग्राहक बढाउने प्रतिस्पर्धा, कसका सेवाग्राही कति ?


काठमाडौं । ब्रोडब्याण्ड इन्टरनेट सेवाप्रदायकका रूपमा नेपाल टेलिकम र डिसहोम फाइबर इन्टरनेटबीच ग्राहक संख्या बढाउने प्रतिस्पर्धा देखिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मंसिर २०८२ सम्मको तथ्यांक अनुसार टेलिकम र डिसहोमबीच ग्राहक संख्याको अन्तर जम्मा ७ हजार मात्रै छ ।

टेलिकमले मंसिरसम्ममा ३ लाख ७५ हजार ग्राहक पुर्‍याउँदा डिसहोमले भने ३ लाख ८२ हजार पुर्‍याएको छ । यो तथ्यांक अनुसार इन्टरनेटका ग्राहक संख्याका हिसाबले ब्रोडब्याण्ड इन्टरनेटमा टेलिकम ३ लाख ७५ हजार ग्राहक संख्या पुर्‍याएर इन्टरनेटको बजारमा तेस्रो स्थानमा छ ।

इन्टरनेट सेवामा ग्राहक संख्या र आम्दानी दुवैका हिसाबले वर्ल्डलिङ्क सबैभन्दा अगाडि छ । वर्ल्डलिङ्कका मंसिरसम्ममा १० लाख ४४ हजार ग्राहक पुगेका छन् । यो ग्राहक संख्या इन्टरनेटको कुल बजारमा करिब ३१ प्रतिशत हो ।

ग्राहक सेवाका हिसाबले दोस्रो स्थानमा डिसहोम छ । डिसहोमले दोस्रो स्थानमा पकड बनाउँदा टेलिकम तेस्रो स्थानमा छ । टेलिकम र डिसहोमबीच दोस्रो र तेस्रो स्थानका लागि प्रतिस्पर्धा भइरहेको देखिन्छ ।

डिसहोम पछिल्लो ७ महिनादेखि दोस्रो स्थानमा उक्लँदा टेलिकम तेस्रोमा झरेको छ । यसअघि २०८२ को वैशाख अगाडि (२०८१ पुसदेखि २०८२ वैशाखसम्म) को ५ महिनासम्म बजार हिस्साका दरले टेलिकमको ब्रोडब्याण्ड इन्टरनेट दोस्रो स्थानमा थियो

त्यसअघि टेलिकम तेस्रो स्थानमै थियो भने वर्ल्डलिङ्कले पहिलो र अन्यले दोस्रो स्थान ओगटेका थिए । यी दुई कम्पनीबीच ग्राहक वृद्धिदरको अनुपात करिब समान नै छ ।

तथ्यांक अनुसार नेपालमा सेवा प्रदान गरिरहेका उत्कृष्ट २० सेवाप्रदायकमा वर्ल्डलिङ्कको बजार हिस्सा ३०.९२ प्रतिशत छ । इन्टरनेट सेवामा डिसहोमको बजार हिस्सा ११.३२, नेपाल टेलिकमको ११.१० र भायनेटको १०.०६ प्रतिशत छ ।

भायनेटको ग्राहक संख्या ३ लाख ४० हजार छ । बजार हिस्सामा क्लासिक टेक पाँचौँ नम्बरमा छ । यसको ग्राहक संख्या २ लाख ६७ हजार छ । सुविसुको ग्राहक संख्या २ लाख ५५ हजार छ भने यसको बजार हिस्सा ८ औँ स्थानमा छ ।