निर्वाचनको बहानामा कार्टेलिङ गरी आफूखुसी अण्डाको मूल्य वृद्धि


काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले प्रतिनिधिसभाको निर्वाचनको बहानामा कार्टेलिङ गरी अण्डाको मूल्य वृद्धि गरेको छ ।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार नेपालमा निर्वाचनको माहोल बन्नु, निर्वाचनसँगै सीमा क्षेत्रमा भएको कडाइका कारण अण्डाको मूल्यमा वृद्धि भएको हो । अण्डा उत्पादनमा मुलुक आत्मनिभएर भएको बताइरहँदा निर्वाचनको नाममा संघले कार्टेलिङ र सिण्डिकेट खडा गरी आफूखुसी मूल्य वृद्धि गरेको हो ।

निर्वाचनको बहाना बनाएर उत्पादनकर्ताले आफूखुशी मूल्य वृद्धि गरे पनि सरकार भने मुकदर्शक बनेको छ ।

निर्वाचनका कारण अण्डाको माग उच्च भएको छ। माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको पोखरेलले बताए।

सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो। यसअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य चार सय ९५ रुपैयाँ पुगेको छ।

यसअघि प्रतिक्रेट चार सय ६५ मा बिक्री गरिएको ठूलो अण्डाको मूल्य ३० ले बढेको हो । यस्तै मझौला अण्डाको फार्म मूल्य चार सय ७५ कायम गरिएको छ। यसअघि यो अण्डा चार सय ४५ रुपैयाँमा बिक्री हुँदै आएको थियो।

गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो। तत्कालीन समयमा फार्ममा ठूलो अण्डा पाँच सय ६५ प्रतिक्रेटमा बिक्री भएको थियो। मझौलाको रेट पाँच सय ५० थियो।

अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने संघले जनाएको छ ।

यसलाई हिसाब गर्दा किसानको लागत मूल्य प्रतिक्रेट पाँच सय ७४ रुपैयाँ छ पैसा पर्न आउँछ। लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसान निरास बनेका थिए।

अब मूल्य बढ्ने आशमा किसान रहेका छन्। सङ्घले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य तय गर्दै आएको छ।