
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदमा कारोबार गर्न पाइने सीमा घटाइएको बताएका छन् ।
राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले कतिपय क्षेत्रहरूमा अझै पनि अपारदर्शी ढङ्गले काम भइरहेको बताए ।
साथै, गलत तरिकाले आर्जन गरिएको कालो धनलाई सेतो बनाउने माध्यमको रूपमा ती निकायहरू प्रयोग भइरहेकाले अपारदर्शी कारोवारलाई नियन्त्रण गर्न नगदमा कारोबार गर्न पाइने सीमा घटाइएको उनको भनाइ थियो ।
बैंक तथा वित्तीय संस्थाहरूले अरू निकायहरूको तुलनामा अहिलेसम्म राम्रै काम गरेको भएपनि अझै सावधान हुनुपर्ने आवश्यकता रहेको उनले बताए ।
फिजिकल करेन्सीबाट भर्चुअल करेन्सीतिर र फिजिकल बैंकिङ एक्सेसबाट भर्चुअल बैंकिङ एक्सेसतिर जानुपर्ने आवश्यकता रहेको धारणा उनले राखे ।
धितोमा आधारित कर्जाको सट्टामा उद्यमशीलतामा आधारित, क्षमतामा आधारित, आय आर्जन गर्ने क्षमतामा आधारित विधिबाट लगानी गर्न सक्ने अवस्थाका लागि राष्ट्र बैंकसंग अर्थमन्त्रालयले छलफल गरिरहेको उनले बताए ।
उनले अहिले वित्तीय क्षेत्र त्यति कमजोर नरहेपनि पनि बेलाबेलामा विभिन्न कारणले समस्या आउनु स्वभाविक भएको उल्लेख गरे ।








प्रतिक्रिया