वैदेशिक व्यापार : ११६ मुलुकसँग नेपालले कमायो झण्डै ८ खर्ब घाटा, ३६ मुलुकसँग मात्रै आर्जन गर्यो नाफा


काठमाडौं । नेपालले पछिल्लो ६ महिनामा १५२ वटा मुलुकसँग द्विपक्षीय वैदेशिक व्यापार गरेको छ ।

यसमध्ये ११६ मुलुकसँग नेपालले वैदेशिक व्यापारमा घाटा व्यहोरेको छ भने ३६ मुलुकसँग मात्रै नाफा कमाएको छ ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधीमा नेपालले कूल १० खर्ब ८१ अर्ब ४ करोड ८ लाख ९९ हजार रुपैयाँबराबरको वैदेशिक व्यापार गरेको थियो ।

यसमध्ये ९ खर्ब ३९ अर्ब २ करोड २८ लाख ८३ हजार रुपैयाँबराबरको विभिन्न वस्तु नेपालले दर्जनौं मुलुकबाट आयात गरेको थियो भने नेपालबाट १ खर्ब ४२ अर्ब १ करोड ८० लाख १६ हजार रुपैयाँबराबरको विभिन्न वस्तु दर्जनौं मुलुकमा निर्यात भएको थियो ।

समग्रमा नेपालले यो ६ महिनाको अवधीमा ७ खर्ब ९७ अर्ब ४८ लाख ६७ हजार रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको थियो ।

भन्सार विभागको तथ्याँकअनुसार पछिल्लो साउनदेखि पुस महिनासम्मको अवधीमा नेपालले सबैभन्दा बढी डेनमार्कसँग वैदेशिक व्यापारमा नाफा कमाएको छ ।

डेनमार्कसँग नेपालले ४१ करोड ८६ लाख ८१ हजार रुपैयाँबराबरको नाफा आर्जन गरेको छ । यो मुलुकमा नेपालले ५१ करोड २ लाख ६३ हजार रुपैयाँबराबरको विभिन्न वस्तु निर्यात गरेको थियो । यस्तै यो मुलुकबाट नेपालले ९ करोड १० लाख रुपैयाँबराबरको विभिन्न वस्तु आयात गरेको थियो ।

यसपछि दोश्रोमा रोमानियासँग नेपालले व्यापारमा नाफा आर्जन गरेको थियो । रोमानियासँग ५ करोड ९१ लाख ४९ हजार रुपैयाँबराबरको नाफा आर्जन गरेको छ । रोमानियाबाट ८ करोड १२ लाख रुपैयाँबराबरको बस्तु निर्यात गर्दा नेपालले २ करोड २१ लाख ५० हजार रुपैयाँबराबरको विभिन्न वस्तु आयात गरेको थियो ।

नाफा कमाएको तेश्रो मुुलुकमा स्वीडेन रहेको छ । स्वीडेनसँग नेपालले ३ करोड ३१ लाख ८० हजार रुपैयाँबराबरको नाफा कमाएको थियो । यो मुलुकबाट १५ करोड ४२ लाख ५६ हजार रुपैयाँबराबरको विभिन्न सामान आयात गर्दा नेपालले उक्त मुलुकमा १८ करोड ७४ लाख ३६ हजार रुपैयाँबराबरको सामान निर्यात गरेको थियो ।

नेपालले नाइजेरियासँग १ करोड ७३ लाख ४३ हजार, इराकसँग १ करोड ७१ लाख ३० हजार, नर्वेसँग १ करोड ६८ लाख ९० हजार, अमेरिकन सामोआसँग १ करोड ६५ लाख ४० हजार, आइसल्याण्डसँग १ करोड २५ लाख १६ हजार, सेन्चेल्ससँग १ करोड ११ लाख ६० हजार रुपैयाँबराबरको वैदेशिक व्यापारमा नाफा आर्जन गरेको छ ।

घाटा कमाउने मुलुकमा भारत अग्रस्थानमा
नेपालले द्विपक्षीय वैदेशिक व्यापारमा सबैभन्दा बढी भारतसँग व्यापार घाटा व्यहोरेको छ ।

भारतसँग मात्रै नेपालले ४ खर्ब १६ अर्ब ७१ करोड ३० लाख ९४ हजार रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको छ । भारतबाट ५ खर्ब ३२ अर्ब ४५ करोड ६७ लाख ८२ हजार रुपैयाँबराबरको विभिन्न सामान आयात गर्दा नेपालले भने १ खर्ब १५ अर्ब ७४ करोड ३६ लाख ८८ हजार रुपैयाँबराबरको विभिन्न सामान निर्यात गरेको छ ।

व्यापार घाटा कमाउने दोश्रो मुलुकमा चीन छ । वैदेशिक व्यापारमा नेपालले चीनसँग ६ महिनाको अवधीमा १ खर्ब ९५ अर्ब ३६ करोड ८४ लाख ९० हजार रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको छ ।

चीनबाट नेपालले १ खर्ब ९६ अर्ब ९४ लाख ६ हजार रुपैयाँबराबरको सामान आयात गर्दा नेपालले ६४ करोड ९ लाख १५ हजार रुपैयाँबराबरको सामान मात्रै निर्यात गर्न पाएको छ ।

व्यापार घाटा हुने तेश्रो मुलुकमा अर्जेन्टिना पर्छ । अर्जेन्टिनासँग नेपालले ५४ अर्ब ४३ करोड ८३ लाख ८७ हजार रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको छ ।

अर्जेन्टिनाबाट ५४ अर्ब ४४ करोड ८ लाख ६ हजार रुपैयाँबराबरको सामान आयात गर्दा नेपालले भने २४ लाख १९ हजार रुपैयाँबराबरको मात्रै सामान निर्यात गरेको छ ।

यस्तै युएईसँग ३० अर्ब ८७ करोड ८४ लाख ३३ हजार, इण्डोनेशियासँग ९ अर्ब ८१ करोड ९८ लाख ९५ हजार, थाइल्याण्डसँग ९ अर्ब १० करोड ७१ लाख ६१ हजार, मलेसियासँग ५ अर्ब ९४ करोड १४ लाख ३५ हजार, अष्ट्रेलियासँग ५ अर्ब १५ करोड ३९ लाख १७ हजार, ब्राजिलसँग ५ अर्ब ७ करोड ६८ लाख ५९ हजार र ब्रुनाई दारुस्सलामसँग ४ अर्ब ५७ करोड २७ हजार रुपैयाँबराबरको व्यापार घाटा नेपालले गरेको छ ।