
विराटनगर । सरकारले चिनी आयातमा भन्सार महसुल आधाले घटाए पनि भारतबाट अनधिकृत रूपमा चिनी भित्रिने क्रम रोकिएको छैन ।
गत वर्ष चिनी आयातमा ३० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट लाग्थ्यो । त्यसले चिनीको तस्करी बढेको भन्दै सरकारले चालु आर्थिक वर्षदेखि भन्सार महसुल १५ प्रतिशत र भ्याट १३ प्रतिशत कायम गर्यो, तापनि तस्करी नरोकिएको व्यवसायी बताउँछन् ।
भन्सार महसुल ३० प्रतिशत हुँदा गत वर्ष जोगवनी नाकाबाट १० हजार १४२ क्विन्टल चिनी आयात भएको थियो । भन्सार महसुल १५ प्रतिशतमा झरेपछि चालु वर्षको ६ महिनामा ४१ हजार ५८० क्विन्टल चिनी आयात भएको तथ्यांक विराटनगर भन्सारको छ ।
भन्सार नाका हुँदै आएको चिनीले पूर्वी नेपालमा तीन महिना पनि पुग्दैन । त्यसको दोब्बर तस्करीबाट भित्रिएर चिनीको माग धान्ने गरेको सम्बद्ध व्यवसायीको भनाइ छ । उनका अनुसार तस्करीबाट चिनी ल्याउँदा प्रति किलो २८ रुपैयाँ मूल्य फरक पर्छ ।
भारतबाट अनधिकृत रूपमा भित्रिने सस्तो मूल्यको चिनीले स्वदेशी उत्पादन बिक्री नहुँदा चिनी उद्योग सङ्कटमा परेको र किसानलाई समयमै उखुको भुक्तानी दिन गाह्रो हुँदै आएको नेपाल चिनी उद्योग संघले गुनासो गर्दै आएको छ ।
मुलुकमा १३ वटा चिनी उद्योगहरू सञ्चालनमा रहेको र यसमा १ लाख १५ हजार ७ सय ५५ उखु कृषक परिवार जोडिएको संघले उल्लेख गरेको छ । उद्योगहरूमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ३० हजार ५ सय ३५ जनाले रोजगारी पाएको दाबी गरिएको छ।
गत वर्ष १३ वटा चिनी मिलले क्रसिङ सिजनमा २ करोड १५ लाख ७२ हजार १ सय ४८ क्विन्टल उखु क्रसिङ गरेर १८ लाख २५ हजार ३ सय ३२ क्विन्टल चिनी उत्पादन भएको संघले जनाएको छ । नेपालमा चिनीको माग वार्षिक २ लाख ५० हजार मेट्रिक टन रहेको छ ।
भारतीय चिनी प्रति किलो ६५ रुपैयाँमा छेलोखेलो पाइन्छ । तर नेपाली उत्पादनको मूल्य प्रति किलो ९० रुपैयाँ पर्छ । नेपाल र भारतमा एक किलो चिनीमा २५ रुपैयाँ मूल्य अन्तर छ । त्यही मूल्य अन्तरले तस्करी बढ्दो छ । तस्करीबाट भित्रिने भारतीय चिनीले बजार धान्दा स्वदेशी उत्पादन गोदाममै सडेको सम्बद्ध उद्योगीको गुनासो छ ।
त्यही मूल्य अन्तरको शिकार स्वदेशी चिनी उद्योग भएका छन् । यसको पछिल्लो उदाहरण कोशी प्रदेशको एक मात्र चिनी उद्योग इस्टर्न सुगर मिल हो । जुन उद्योगले गत वर्ष उत्पादन गरेको ४ सय ८ क्विन्टल चिनी अहिलेसम्म बिक्री नभएर गोदाममै थन्काएर नयाँ चिनी उत्पादन सुरु गरेको छ ।
यो उद्योगले गत वर्ष १८ लाख ५५ हजार क्विन्टल उखु क्रसिङ गरेर १ लाख ५३ हजार ९७८ क्विन्टल चिनी उत्पादन गरेको थियो । त्यसमध्ये अहिलेसम्म ४ सय ८ क्विन्टल चिनी बिक्री नभएर गोदाममै थन्किएको छ । उद्योग स्रोतका अनुसार त्यो चिनी गोदाममै डल्लो पर्दा पुनः रिसाइक्लिङ गर्नुपर्ने बाध्यता छ ।
उद्योगले किसानलाई उखुको भुक्तानी क्रसिङ गरेलगत्तै गरिसकेको छ । तर उत्पादित चिनी बिक्री नहुँदा उद्योग आर्थिक सङ्कटमा पुगेको छ । उद्योग स्रोतका अनुसार मुलुकभरिका उद्योगको उत्पादन बिक्री नभएर गोदाममा थुपारेर नयाँ उत्पादन सुरु गर्नुपर्ने बाध्यता छ ।
इस्टर्न सुगर मिलले यस वर्ष पनि करिब १८ लाख क्विन्टल उखु क्रसिङ गरेर डेढ लाख क्विन्टलभन्दा बढी चिनी उत्पादन गर्ने लक्ष्य राखेको छ ।
उद्योगले बुधबारसम्ममा करिब ६ लाख क्विन्टल उखु क्रसिङ गरिसकेको छ । उद्योग स्रोतका अनुसार उद्योगले नयाँ उखु क्रसिङ र पुरानो मौज्दात रहेर डल्लो परेको चिनीलाई रिसाइक्लिङ पनि सँगसँगै गर्दै छ ।
नेपाल चिनी उत्पादक संघले हालै विज्ञप्ति जारी गर्दै अनधिकृत रूपमा भइरहेको चिनीको आयातले स्वदेशी चिनीको बिक्री नभई चिनी उद्योगहरू नै सङ्कटमा परेको उल्लेख गरेको छ ।
संघले खुला सिमानाका कारण भइरहेको अनियन्त्रित चिनीको पैठारीमा अविलम्ब रोक लगाउनुपर्ने माग सरकारसँग गरेको छ ।
स्वदेशी उद्योगहरूलाई जोगाउन चिनीको आयातलाई नियन्त्रण गरिनुपर्ने संघको माग छ ।
चिनीको आयातमा कायम गरिएको भन्सार दरलाई वृद्धि गरिनुपर्ने र स्वदेशी चिनी उद्योगको संरक्षणका लागि स्वदेशी उत्पादनको परिमाण यकिन भएपछि नपुग हुने चिनीको कोटा निर्धारण गरी आयात अनुमति दिनुपर्ने, त्यस्तो आयात नेपाल खाद्य कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत मात्र गरिनुपर्ने संघले माग गरेको छ ।
स्वदेशी चिनीको सहज बिक्री-वितरण नभएको खण्डमा किसानलाई उखुको नियमित एवं सहज भुक्तानीमा समेत प्रतिकूल असर पर्ने विज्ञप्तिमा उल्लेख छ ।
उखु कृषकहरूलाई विगत ४/५ वर्षदेखि नियमित भुक्तानी भइरहेको दाबी संघको छ । देशभित्र १३ वटा चिनी उद्योगहरू सञ्चालनमा रहेको र यसमा १ लाख १५ हजार ७ सय ५५ उखु कृषक परिवार जोडिएको संघले उल्लेख गरेको छ । उद्योगहरूमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ३० हजार ५ सय ३५ जनाले रोजगारी पाएको दाबी गरिएको छ ।
गत वर्षको क्रसिङ सिजनमा २ करोड १५ लाख ७२ हजार १ सय ४८ क्विन्टल उखु क्रसिङ गरिएको र त्यसबाट १८ लाख २५ हजार ३ सय ३२ क्विन्टल चिनी उत्पादन भएको संघले जनाएको छ । चिनीको वार्षिक माग २ लाख ५० हजार मेट्रिक टन रहेको छ ।
अनधिकृत पैठारीका कारण गत सिजनमा उत्पादित चिनी हालसम्म पनि केही उद्योगमा मौज्दात रहन गएकाले चिनीको आयातमा कडाइ गर्नुपर्ने संघको माग छ । यस वर्ष उद्योगहरूमा उखु क्रसिङ सुरु भइसकेको छ । २ लाख २७ हजार मेट्रिक टन चिनी उत्पादन हुने अनुमान संघले गरेको छ ।








प्रतिक्रिया