उद्योग संगठन मोरङको ‘कोशी कनेक्ट’ व्यावसायिक मिसन अभियान सम्पन्न


विराटनगर । औद्योगिक विकास, क्षेत्रीय सहकार्य तथा व्यवसायीहरूबीचको आपसी सहकार्य अभिवृद्धि गरी व्यावसायिक सम्बन्धलाई बलियो बनाउने उद्देश्यले उद्योग संगठन मोरङले तीन दिने ‘कोशी कनेक्ट’ व्यावसायिक मिसन अभियान सम्पन्न गरेको छ।

अभियानका क्रममा संगठनको प्रतिनिधिमण्डलले उदयपुर, खोटाङ र भोजपुरको स्थलगत भ्रमण गरी त्यहाँको औद्योगिक र व्यापारिक सम्भाव्यताको अध्ययन गर्दै स्थानीय उद्योगी व्यवसायीसँग अन्तरक्रिया गरेको थियो।

त्यस क्रममा संगठनको प्रतिनिधिमण्डलले त्रियुगा उद्योग वाणिज्य संघका प्रतिनिधि र उदयपुरका व्यवसायीसँग अन्तरक्रिया गरी उदयपुरमा उत्पादन हुने वस्तुलाई प्रशोधन उद्योगमार्फत मूल्य अभिवृद्धि गरी किसान र उद्यमी दुवैलाई लाभ पुर्‍याउने विषयमा सहमति जनाएको संगठनका अध्यक्ष नन्दकिशोर राठीले बताए। त्यस क्रममा उदयपुरमा उद्योग क्लस्टर विकास गर्नुका साथै निजी क्षेत्रको लगानी र ज्ञान भित्र्याउन संगठन र संघले आगामी दिनमा संयुक्त रूपमा पहल गर्ने सहमति भएको उनले जानकारी दिए।

त्यसैगरी खोटाङ उद्योग वाणिज्य संघका प्रतिनिधि र स्थानीय व्यवसायीसँगको छलफलमा खोटाङलाई धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको दृष्टिले होटल तथा होमस्टे विकासमा सहकार्य गर्ने सम्भावनाका विषयलाई प्राथमिकता दिइएको राठीले उल्लेख गरे। छलफलका क्रममा खोटाङका उत्पादन र वितरण प्रणालीलाई मजबुत बनाउनुका साथै स्थानीय व्यवसायलाई प्रतिस्पर्धी र दिगो बनाउने विषयमा केन्द्रित भएको जानकारी दिइयो।

त्यसैगरी भोजपुर उद्योग वाणिज्य संघका प्रतिनिधिहरूसँग आपसी व्यापारलाई सुदृढ बनाउने, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने र पहाड तथा तराईलाई साझा विकासको दिशातर्फ अघि बढाउने विषयमा छलफल भएको संगठनले जनाएको छ।

‘कोशी कनेक्ट’ व्यावसायिक मिसनले अन्तर-जिल्ला व्यापारिक सञ्जाल तथा साझेदारी स्थापना, लगानी र व्यापारका अवसरको पहिचान तथा प्रवर्द्धनका सन्दर्भमा तीनै जिल्लाका उद्यमीहरूसँग आपसी सहकार्यका विविध आयामहरूबारे नयाँ सम्भावना उजागर गरेको संगठनको निष्कर्ष छ।

व्यावसायिक अभियानका अवधिमा स्वदेशी उत्पादनको बजार विस्तार, बिटुबी (B2B) प्लेटफर्ममार्फत व्यावसायिक सहकार्य, उद्यमशीलता र नवप्रवर्तन प्रवर्द्धन तथा आर्थिक एजेन्डामा साझा धारणा निर्माणका विषयमा सहमति र समझदारी विकसित भएको संगठनका महानिर्देशक चुडामणि भट्टराईले बताए।

तीन दिने व्यावसायिक मिसन भ्रमणमा संगठनका निवर्तमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्षहरू सुरेन्द्र गोल्छा, विपिन कावरा, सुबोध कोइराला, कोषाध्यक्ष पारस लुनिया लगायत कार्यसमिति सदस्यहरू सौरभ सारडा, विरेन्द्र राठी, दीपक अग्रवाल, सिद्धार्थ कावरा, उकेश अग्रवाल सहभागी थिए। त्यसैगरी उद्यमी निर्मल कोचर, महिला उद्यमीहरू प्रतिभा पौडेल निरौला, सावित्रा ढकाल, विमला थापा, मयुषा तथा युवा उद्यमीहरू रोमन कट्टेल र सागरराज ढुंगानाको पनि सहभागिता रहेको थियो।