रास्वपा कार्यकर्ताले झापामा दुई जनाको सिक्री लुटेको एमालेको आरोप


झापा । नेकपा (एमाले) ले आफ्ना अध्यक्ष एवं केपी शर्मा ओलीलाई निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न जानबाट रोक्ने नियतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले झापाको दमकमा साङ्घातिक आक्रमण गरेका आरोप लगाएको छ ।

नेकपा (एमाले) निर्वाचन क्षेत्र समन्वय समिति, झापा क्षेत्र नम्बर ५ ले प्रेस विज्ञप्ति जारी गर्दै रास्वपा कार्यकर्ताहरूले निर्वाचन आयोगले तोकेको सीमा नाघेर सुनियोजित रूपमा आक्रमण गरेको उल्लेख गरेको हो । एमालेले यसलाई आफ्नो पार्टीका उम्मेदवार केपी शर्मा ओलीलाई उम्मेदवारी दर्ता गर्न नदिने ‘कुत्सित नियत’ बाट प्रेरित घटना भनेको छ।

रास्वपा कार्यकर्ताको साङ्घातिक हमलाबाट तीन जना कार्यकर्ता गम्भीर घाइते भएको र दुई जना कार्यकर्ताको सुनको सिक्री समेत लुटिएको आरोप लगाएको छ ।

निर्वाचन जस्तो लोकतान्त्रिक अभ्यासका क्रममा उम्मेदवारलाई रोक्ने र कार्यकर्ताको धनमाल लुट्ने कार्य हुनुले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको एमालेको ठहर छ।