
काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक अवधिको कृषि, उद्योग तथा निर्माण क्षेत्रको मूल्य र उत्पादन सम्बन्धी महत्त्वपूर्ण तथ्यांक सार्वजनिक गरेको छ ।
कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कृषि उत्पादकको मूल्यमा निरन्तर वृद्धि देखिएको छ भने औद्योगिक उत्पादन वृद्धि हुने अनुमान छ।
यस्तै, निर्माण क्षेत्रको लागत मूल्य त्रैमासिक आधारमा घटेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ को प्रथम त्रैमासिकमा कृषि उत्पादक मूल्य सूचकाङ्क १९३.७२ कायम भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.५० प्रतिशतले बढी हो ।
कार्यालयका अनुसार, यस वृद्धिको मुख्य कारण अन्न बालीहरू (मकै, धान, कोदो) को उत्पादक मूल्यमा भएको वृद्धि हो, जसले सूचकाङ्कमा करिब ५८ प्रतिशत भार ओगट्छ ।
साथै, दुध, अण्डा र माछाजस्ता पशुपन्छीजन्य उत्पादनको मूल्य वृद्धिले पनि यसमा योगदान पुर्याएको छ । यो वृद्धिले कृषकको आम्दानीमा सामान्य सुधारको सङ्केत गरे पनि आगामी दिनमा खाद्य मुद्रास्फीतिमा केही दबाब पर्न सक्ने सम्भावनालाई सूचित गरेको छ ।
प्रथम त्रैमासिकमा समग्र औद्योगिक उत्पादक मूल्य सूचकाङ्क करिब १६४.२६ कायम भएको छ । यो अघिल्लो वर्षको सोही त्रैमासको तुलनामा करिब ३ प्रतिशतले वृद्धि भएको छ, जसले कच्चा पदार्थ, ऊर्जा तथा श्रम लागतका कारण सञ्चित लागत दबाबलाई प्रतिबिम्बित गर्दछ ।
सिमेन्ट, वनस्पति तेल, सुर्तीजन्य उत्पादन, साबुन तथा डिटर्जेन्ट, केही खाद्य वस्तु र पेय पदार्थजस्ता उपभोगमुखी उद्योगहरूमा मूल्य वृद्धि बढी केन्द्रित देखिएको छ ।
खाद्य तेल, पेट्रोलियमजन्य वस्तु तथा रासायनिक पदार्थको उत्पादनमा वृद्धि भए पनि निर्माणसँग सम्बन्धित उद्योगहरू (सिमेन्ट, फलाम) तथा कपडा उद्योगहरूको उत्पादन उल्लेखनीय रूपमा बढ्न नसकेको देखिन्छ ।
निर्माण तथा लगानीसँग सम्बन्धित उद्योगहरू (वस्तुको दाना, चामल, फलामजन्य वस्तु, प्लाष्टिकका पाइप फिटिङस, इँटा) मा उत्पादक मूल्य वृद्धिदर कमजोर वा ऋणात्मक देखिएको छ ।
यसले निर्माण गतिविधिमा अपेक्षित सुधार हुन नसकेको र बजारमा प्रतिस्पर्धात्मक दबाब कायमै रहेको सङ्केत गर्दछ । यसैगरी, औद्योगिक उत्पादन सूचकाङ्क १२५.२ कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा मध्यमस्तरको वार्षिक वृद्धि हो ।
खाद्य तेल, पेट्रोलियमजन्य वस्तु तथा रासायनिक पदार्थको उत्पादनमा वृद्धि भए पनि निर्माणसँग सम्बन्धित उद्योगहरू ९सिमेन्ट, फलाम० तथा कपडा उद्योगहरूको उत्पादन उल्लेखनीय रूपमा बढ्न नसकेको देखिन्छ ।
निर्माण क्षेत्रको लागत मूल्य सूचकाङ्क प्रथम त्रैमासिकमा १५२.३ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा लागत मूल्य १.४ प्रतिशतले बढेको छ, तर अघिल्लो त्रैमासको तुलनामा सूचकाङ्क १.३९ प्रतिशतले घटेको देखिन्छ । लागत घट्नुको मुख्य कारण सिमेन्ट, आइरन रड, बालुवा, काठ र रोडाजस्ता उच्च भार भएका निर्माण सामग्रीहरूको मूल्यमा आएको कमी हो ।
यद्यपि, दीर्घकालीन रूपमा हेर्दा निर्माण सामग्री तथा कामदारको ज्यालामा भने निरन्तर दबाब कायमै रहने देखिन्छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको यो प्रारम्भिक नतिजा मुद्रास्फीति विश्लेषण, राष्ट्रिय लेखा अनुमान, तथा तथ्यमा आधारित आर्थिक नीति निर्माणका लागि महत्त्वपूर्ण हुने जनाएको छ ।








प्रतिक्रिया