प्रचण्डलाई छाडेका रहबर रास्वपा प्रवेश, कहाँबाट बन्लान् उम्मेदवार ?


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेका रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।

उनले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र लेख्दै नेकपा छाडेका थिए।

जनकपुरमा आयोजित रास्वपाको ‘परिवर्तन उद्घोष सभा’मार्फत अन्सारीले औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेशसँगै उनले मधेश प्रदेश सभाको सदस्य पदबाट पनि राजीनामा दिएका छन् ।

अन्सारीले रास्वपाले देशमा परिवर्तनको स्पष्ट सङ्कल्पका साथ अभियान थालेको भन्दै त्यसै अभियानमा आफू जोडिएको बताए ।

अबको वास्तविक परिवर्तन रास्वपाबाट मात्रै सम्भव हुने उनको दाबी थियो ।

उनले रास्वपाले मधेशका छोरा बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा अघि सारेको उल्लेख गर्दै आफू बारा–४ बाट निर्वाचनमा होमिने तयारीमा रहेको जानकारी पनि दिए ।