उम्मेदवारी दर्ताका लागि आयोगले तोक्यो समय: पहिला रास्वपा, अन्तिममा कांग्रेसको पालो


प्रतिनिधि सभा निर्वाचन: उम्मेदवारी दर्ताका लागि दलहरूलाई छुट्टाछुट्टै समय निर्धारण (तालिकासहित)

काठमाडौं । आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रियालाई व्यवस्थित बनाउन निर्वाचन आयोगले दलगत रूपमा समय निर्धारण गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले माघ ६ गते हुने मनोनयन दर्ताका लागि मुख्य ५ राजनीतिक दलहरूलाई फरक-फरक समय छुट्ट्याएको हो ।

माघ ६ गते बिहान १०:०० बजेदेखि साँझ ५:०० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । सोही अवधिभित्र राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गर्नुपर्नेछ । भीडभाड कम गर्न र सुरक्षा व्यवस्थालाई सहज बनाउन आयोगले ‘देहाय’ बमोजिमको तालिका सार्वजनिक गरेको छ:

कुन दललाई कति बजेको समय?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा): अपरान्ह १:०० बजे
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा): अपरान्ह २:०० बजे
नेपाल कम्युनिस्ट पार्टी (एमाले): अपरान्ह २:३० बजे
नेपाली कम्युनिस्ट पार्टी: अपरान्ह ३:०० बजे
नेपाली कांग्रेस: अपरान्ह ४:०० बजे

उम्मेदवारी दर्ताका लागि आवश्यक पर्ने मनोनयन पत्र र अन्य कानुनी कागजातहरूको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलका प्रतिनिधिहरूलाई उपलब्ध गराउने निर्णय गरेको छ । साथै, निर्वाचनलाई मर्यादित बनाउन निर्वाचन आयोगले जारी गरेको ‘निर्वाचन आचारसंहिता’ र प्रचलित ऐन-कानुनलाई अक्षरसः पालना गर्ने प्रतिबद्धता समेत जनाइएको छ ।