
काठमाडौं । आन्तरिक उडानमा प्रतिस्पर्धी वायुसेवा बनेर उदाएको श्री एयरलाइन्सले नियमित अन्तर्राष्ट्रिय उडानको तयारी थालेको छ । २०७६ को साउन अन्तिममै अन्तर्राष्ट्रिय चार्टर उडान अनुमति पाएको यो वायुसेवाले अब भने भएकै फिक्स्ड विङ्समार्फत नियमित अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ ।
नियमित उडानका लागि श्री एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति मागेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार श्रीले भएकै जहाजबाट छिमेकी मुलुका विभिन्न गन्तव्यमा उडान अनुमति मागेको छ ।
हाल निजी क्षेत्रकै अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले जस्तै श्रीले पनि भएकै साना जहाजबाट भारतका विभिन्न गन्तव्यमा नियमित उडानको अनुमति मागेको हो । हाल बुध्द एयरले पनि काठमाडौंबाट भारतको वनारस र कलकत्तामा उडान गर्दै आएको छ । श्रीले पनि काठमाडौंबाट भारतीय सहरमा उडान गर्ने गरी अनुमति मागेको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार यो वायुसेवाले यस अघि नै अन्तर्राष्ट्रिय उडानको अनुमति पाइसकेको हुँदा यसले अन्तर्राष्ट्रिय उडानमा पनि अब नियिमत उडानको अनुमति पाउने छ । श्रीले अहिले पनि अन्तर्राष्ट्रिय चार्टर उडान गर्न पाउँछ । अब त्यही उडान अनुमतिलाई नियमित बनाउन निवेदन दिएको हो ।
श्री एयरलाइन्सको आन्तरिक उडानको इजाजतपत्र भएको र यसले अन्तर्राष्ट्रिय उडानमा इजाजतपत्र स्तरोन्नती गर्न चाहेको हो । त्यसका लागि श्रीले निवेदन दिएकोले नेपाल नागरिक उड्डयन प्राधिकरणले एक अध्ययन समितिसमेत गठन गरिसकेको छ ।
प्राधिकरणले श्रीको प्राविधिक पक्ष विश्लेषण गर्ने र आन्तरिकको तुलनामा अन्तर्राष्ट्रियमा जाँदा बढ्ने आर्थिक दायित्वसहितको पक्षमा अध्ययन गरिरहेको छ । प्राधिकरणमा कर्मचारीले त्यसलाई अध्ययन गरिरहेकोले छिट्टै निर्णय आउने पनि जानकारी दिएको छ ।
श्रीले भएकै जहाज सीआरजेसहित भएकै जहाजबाट ४ घण्टासम्म उडान गर्न सक्ने भएकोले भारतका विभिन्न गन्तव्य, भुटान, थाइल्याण्डसम्म जान सक्छ । यसले अन्तर्राष्ट्रिय उडानबाट सेवा सुभारम्भ गर्न बम्बार्डियर सीआरजे ७०० लाई हटाएको छ । श्रीसँग यो प्रकृतिको जहाज २ वटा थियो ।
श्री एयरलाइन्सका कर्पोरेट प्रवन्धक अनिल मानन्धरले भने यस अघि नै चार्टरको अनुमति पाएकोले अब नियमित उडानमा जान चाहेको बताए । प्राधिकरणमा नयाँ वायुसेवाले जस्तो सुवातदेखिको पाँच वटा चरण सञ्चालनमा रहिरहेको हुँदा श्रीले गर्नु पर्दैन । प्राधिकरणको अनुमतिको पर्खाइमा रहेको र त्यसपछि भारतमा उडानको तयारी थालिहाल्ने योजना श्रीले बनाएको पनि मानन्धरले जानकारी दिए ।
श्री एयरलाइन्स २ वर्ष अगाडि नै पब्लिक कम्पनी बनिसकेको छ । यसले अब प्राथमिक सेयर निष्कासन (आईपीओ)मा समेत जाने भएको छ । यसको लागि पनि आवश्यक तयारी भइरहेको श्री एयरलाइन्सले जानकारी दिएको छ ।
वार्षिक आम्दानी ४ अर्ब रुपैयाँभन्दा बढी हुन थालेको यो वायुसेवाको आईपीओ भने प्रिमियम मूल्यमा ल्याउने भएको छ । यसका लागि श्रीले तयारी गरिरहेका छ ।
सन् १९९९ मा एयर अनन्यामा दर्ता गरेको कम्पनी पछि नाम परिवर्तन गरी श्री एयरलाइन्स भएको थियो । कम्पनीमा सुधीर मित्तलको वहुमत सेयर छ । श्री एयरलाइन्समा ९९.८९ प्रतिशत सेयर मित्तलको छ ।
श्रीले भारतको नयाँदिल्ली, बैंलोर, कोलकाता, अहमदाबाद र बङ्गलादेशको राजधानी ढाकामा भएकै जहाजबाट उडान गर्ने र लामो दुरीको लागि वोइङका जहाज ल्याउने तयारीसमेत गरेको छ ।
लामो समय हेलिकप्टर उडान गरेको यो वायुसेवाले २०७४ देखि फिक्स्ड विङ्समार्फत नियमित उडानमा प्रवेश गरेको हो । ५० सिट क्षमताको सिआरजे २०० र ८० सिट क्षमताको ड्यास ८ का जहाजबाट भारत र बङ्गलादेशमा उडान गर्ने योजना अगाडि सारेको छ ।
सन् २०१७ देखि फिक्स्ड विङबाट नियमित उडान शुरु गरेको एयरलाइन्सले हाल आन्तरिकतर्फ चन्द्रगढी, विराटनगर, नेपालगञ्जलगायत गन्तब्यमा उडान भर्दै आएको छ ।
श्रीसँग ८० सिट क्षमताको ड्यास ८ नामक सात वटा हवाईजहाज छ । यो कम्पनीसँग ५० सिट क्षमताको सीआरजे नामक २ वटा जहाज छ । यसले ७० सिट क्षमताको अर्को २ वटा सीआरजे ७०० लाई भने अधिक सञ्चालन खर्चसहितको कारण विस्थापित गरिसकेको छ । यो वायुसेवासँग २४ सिट क्षमताका ठूला ६ वटा र साना २ वटा एएस ३५० बीथ्रीका हेलिकप्टरसमेत छन ।








प्रतिक्रिया