गगन थापाको सभापतित्वमा आज पहिलोपटक बस्दै कांग्रेस बैठक, देउवा पक्षको पनि बस्दै


काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बस्दै छ।

बैठक अहिले बिहान ११.३० बजे नयाँ बानेश्वरमा बस्ने नेताहरूले जानकारी दिएका छन्।

निर्वाचन आयोगले मान्यता दिएको भोलिपल्टै सभापति गगन थापाले केन्द्रीय कार्यसमितिको बैठक राख्न लागेका हुन्।

पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले थापालाई सर्वसम्मत सभापति चुन्दै कांग्रेसको नयाँ नेतृत्व निर्वाचित गरेको हो।

उता शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिता दाबी गरे पनि निर्वाचन आयोगले शुक्रबार गगन पक्षको कांग्रेसलाई वैधानिकता दिएको हो।

देउवा पक्षको पनि बैठक बस्दै

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । सो पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा आज बिहान ८ बजे सानेपामा बैठक बोलाइएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सबै ७ प्रदेश कार्यसमितिका सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिएपछि बस्न लागेको यो बैठकलाई अर्थपूर्ण मानिएको छ । आधिकारिकतासम्बन्धी आयोगको निर्णयलाई देउवा पक्षले अस्वीकार गरेको छ ।

पुस २७ देखि ३० सम्म काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए । सभापति चयन भएपछि बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णयसहित थापा पक्षले आधिकारिकताको दाबी गर्दै आयोगमा कागजात बुझाएको थियो ।

देउवा पक्षले पनि आफूहरू नै आधिकारिक भएको जिकिरसहित आयोगमा छुट्टै कागजात पेस गरेको थियो । तर आयोगको निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा देउवा पक्षबाट गुमेको छ ।