एग्रीटेक इन्टरनेशनल एक्स्पो उद्घाटन, विदेशी कृषि प्रविधिको पहुँच र प्रयोग बढाउनुर्नेमा जोड


चितवन । बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मदुसुदन पौडेलले कृषिजन्य व्यवसायिक उत्पादन विस्तारका लागि विदेशी कृषि प्रविधिको नेपालमा पहुँच र प्रयोग बढाउनुपर्ने बताएका छन्।

चितवन प्रदर्शनी केन्द्रमा आजदेखि सुरु भएको आठौँ एग्रीटेक इन्टरनेशनल एक्स्पोको उद्घाटन गर्दै मन्त्री पौडेलले विदेशमा प्रयोग भइरहेका आधुनिक कृषि प्रविधि नेपाल भित्र्याएर उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताए। ‘यसप्रकारका एक्स्पोबाट नयाँ ज्ञान र प्रविधि सिकेर त्यसको व्यवहारिक प्रयोग बढाउनुपर्छ,’ उनले भने, ‘यसले किसानलाई निर्वाहमुखीभन्दा व्यवसायिक र निर्यातमुखी बनाउन मद्दत गर्छ।’

मन्त्री पौडेलले कृषिमा प्रविधिको अधिकतम प्रयोगमार्फत उत्पादन लागत घटाउँदै उत्पादकत्व बढाउनुपर्नेमा जोड दिए। कृषिमा युवालाई आकर्षित गर्ने, आयात घटाउने, विचौलियालाई निरुत्साहित गर्दै वास्तविक किसानलाई लक्षित अनुदान कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारले उच्च प्राथमिकता दिएको उनले बताए। ‘उत्पादनअनुसारको अनुदान र ब्याज अनुदानलाई प्राथमिकतामा राखेर काम भइरहेको छ,’ उनले भने, ‘युवा लक्षित कार्यक्रमका लागि छुट्टै कार्यविधि बनाएर अघि बढिरहेका छौँ।’

उनले समयमै रासायनिक मल उपलब्ध गराउन र प्राङ्गारिक मल कारखाना सञ्चालन गर्न सरकार सक्रिय रहेको जानकारी दिए। सो अवसरमा स्टल प्रदर्शकहरूले मन्त्री पौडेलसमक्ष सरकारका नीति, भन्सार तथा करसम्बन्धी समस्याबारे ध्यानाकर्षण गराएका थिए।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि प्रदर्शनीमा देशभरका किसान, कृषि उद्यमी, लगानीकर्ता, सहकारी, सरोकारवाला निकाय तथा व्यावसायिक प्रतिष्ठानहरूको उल्लेख्य सहभागिता रहेको छ। तीन दिनसम्म चल्ने यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत विभिन्न देशका कृषि सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १०० भन्दा बढी स्टलहरू रहेका छन्।

प्रदर्शनीमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषिऔजार तथा उपकरण, कृषियन्त्र, पशु स्वास्थ्य तथा पशु चिकित्सा सेवा, खाद्य प्रविधि तथा फुड प्रोसेसिङ, कीटनाशक, मल, बीउ–बिजन, कृषि तालिम तथा वित्तीय समाधानसम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिने नेपाल मिडिया स्पेसका प्रबन्ध निर्देशक सृजल भट्टराईले बताए।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीको प्रवर्द्धक संस्थाका रूपमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ। त्यसैगरी राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., राष्ट्रिय कृषक समूह महासंघ–नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ–नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ–नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा चितवन उद्योग संघ सहयोगी संस्थाका रूपमा रहेका छन्।

नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्सको संयुक्त आयोजनामा भएको उक्त एक्स्पो माघ ४ गतेसम्म सञ्चालन हुनेछ। एक्स्पोमा निःशुल्क प्रवेश पासको व्यवस्था गरिएको छ।णी भूमिकालाई निरन्तरता दिँदै, उच्च प्रदर्शन, व्यवहारिकता र दीर्घकालीन बचतको उत्कृष्ट संयोजन भएको इभि भ्यान नेपाली बजारमा उपलब्ध गराइरहेको छ।