गगन नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक जारी


काठमाडौं । गगन थापाको नेतृत्वमा गठन भएको नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समितिको पहिलो बैठक बसेको छ ।

बुधबार सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको बैठक ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बसिरहेको महामन्त्री प्रदीप पौडेलको सचिवालयले जानकारी दिएको छ ।

बैठकपछि विशेष महाधिवेशनको नतिजा अद्यावधिक गर्न यो समूह आजै निर्वाचन आयोग जाने तयारीमा छ ।

नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेकाले त्यससम्बन्धी अभिलेख अद्यावधिक गर्न आयोग जाने तयारी गरिएको अधिवक्ता राजु कटवालले बताए ।

उनका अनुसार बिहीबार मध्याह्न १२ देखि १ बजेसम्म निर्वाचन आयोग जाने कार्यक्रम तय भएको छ ।

विशेष महाधिवेशनसँग सम्बन्धित कागजात तथा अभिलेख दस्तावेजीकरणका लागि कटवालसहितको टोलीले सहजीकरण गरिरहेको जनाएको छ ।