विद्युतीय कार उत्पादन घटाउने निर्णय लिँदा जनरल मोटर्सलाई ६ अर्ब डलरको घाटा


एजेन्सी । जनरल मोटर्स (जीएम) ले विद्युतीय कार उत्पादनमा कमी ल्याउने आफ्नो निर्णयका कारण थप ६ अर्ब डलर घाटा लाग्ने जनाएको छ ।

यो नोक्सानी अक्टोबरमा आफ्नो ईभी योजनाहरूमा गरिएको परिवर्तनका लागि सार्वजनिक गरिएको १.६ अर्ब डलरको अतिरिक्त भारको रूपमा आएको हो ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले शून्य उत्सर्जन सवारीसाधनको प्रयोगलाई बढावा दिने उद्देश्यले ल्याइएका संघीय नीतिहरू अन्त्य गरेपछि परम्परागत मोटर निर्माताहरूले बेहोर्नुपरेको ठूलो लागतको यो अर्को संकेत हो ।

जीएम र अन्य मोटर निर्माताहरूले बाइडन प्रशासनका समयमा लागू गरिएका कडा वातावरणीय नियमहरूको अपेक्षामा ईभी योजनाहरूमा ठूलो लगानी गरेका थिए । उनीहरूले केही राज्यहरूले क्यालिफोर्नियाको सिको गर्दै एक दशकभित्र पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको बिक्रीमा प्रतिबन्ध लगाउने अपेक्षा समेत गरेका थिए । जीएमले यसअघि सन् २०३५ सम्ममा विद्युतीय सवारीसाधन मात्र उत्पादन गर्ने लक्ष्य सार्वजनिक गरेको थियो ।

तर, ट्रम्प प्रशासनले ती उत्सर्जन नियमहरूका साथै ईभीका लागि दिइने वित्तीय सहयोग पनि फिर्ता लिएको छ । यसले आफ्नै कडा नियमहरू बनाउने राज्यहरूको अधिकारलाई पनि चुनौती दिइरहेको छ ।

यति हुदाहुँदै पनि विद्युतीय कारहरू पूर्ण रूपमा हराएर जाने छैनन् किनकि अमेरिकामा यसको अझै पनि उल्लेख्य माग छ । अन्य बजारहरूमा यसको माग लगातार बढिरहेको छ ।

जीएमको आम्दानीमा पर्ने ६ अर्ब डलरको भारको ठूलो हिस्सा पार्टपुर्जा आपूर्तिकर्ताहरूसँग रद्द गरिएका सम्झौताहरूको फर्छ्यौटमा खर्च हुनेछ ।

जीएमको यो पछिल्लो वित्तीय भार फोर्डले डिसेम्बरमा गरेको घोषणापछि आएको हो । त्यसमा फोर्डले आफ्नो ईभी योजनामा परिवर्तन गर्दा आम्दानीमा १९.५ अर्ब डलरको समान भार पर्ने जनाएको थियो ।

जीएमले हालका लागि कुनै विशेष विद्युतीय कारको उत्पादन बन्द गर्ने घोषणा गरेको छैन । उसले कुनै कारखाना बन्द गर्ने वा रोजगारी कटौती गर्ने घोषणा पनि गरेको छैन । तर, उसले अक्टोबरमै डेट्रोइटस्थित आफ्नो फ्याक्ट्री जिरो ईभी प्लान्टमा एउटा शिफ्ट कटौती गर्ने र १२ सय घण्टे कामदारहरूलाई अनिश्चितकालीन बिदामा राख्ने घोषणा गरिसकेको थियो । यसले ओहायोस्थित एक ईभी ब्याट्री प्लान्टका ५५० कामदारहरूलाई पनि अनिश्चितकालीन बिदामा राखेको छ ।

ईभी खरिदकर्ताका लागि दिइँदै आएको ७५ सय अमेरिकी डलरको करछुट समाप्त हुन लागेका कारण गर्मी महिना र सेप्टेम्बरभरि विद्युतीय सवारीसाधनको माग ह्वात्तै बढेको थियो । तर चौथो त्रैमासिकमा अघिल्लो वर्षको तुलनामा र रेकर्ड कायम गरेको तेस्रो त्रैमासिकको तुलनामा समेत अमेरिकामा विद्युतीय मोडलहरूको बिक्री उद्योगभरि नै तीव्र रूपमा घट्यो ।