बीवाईडीले सन् २०२५ मा बेच्यो ४६ लाख कार, तर सन् २०२६ मा कमजोर हुने



एजेन्सी । चिनियाँ सवारीसाधन कम्पनी बीवाईडीले डिसेम्बरमा विश्वभर ४ लाख १४ हजार ७८४ यात्रुवाहक सवारी साधनहरू बिक्री गरेको कारन्युजचाइनाले समाचार प्रकाशन गरेको छ ।

यो गत वर्षको सोही महिनाको तुलनामा १८.६ प्रतिशत र नोभेम्बरको तुलनामा १२.७ प्रतिशत कम बिक्री हो । यो लगातार चौथो महिनाको वार्षिक गिरावट हो ।

डिसेम्बरमा वैदेशिक बिक्री कीर्तिमान १ लाख ३३ हजार १७२ सवारी साधन पुगेको थियो । यो गत वर्षको तुलनामा १३३ प्रतिशत बढी हो ।

डिसेम्बरमा, बीवाईडीले १ लाख ९० हजार ७१२ ब्याट्री इलेक्ट्रिक सवारीसाधनहरू बिक्री गरेको थियो । यो गत वर्षको सोही महिनाको तुलनामा ८.२ प्रतिशत कम हो । यो सन् २०२५ मा भएको पहिलो वार्षिक गिरावट हो र पछिल्लो पाँच वर्षमा पूर्ण–विद्युतीय सवारीसाधनको बिक्रीमा भएको तेस्रो वार्षिक गिरावट मात्र हो ।

बीवाईडीले २ लाख २४ हजार ७२ प्लग–इन हाइब्रिड सवारीसाधनहरू पनि बिक्री गरेको छ । यो वार्षिक रूपमा २५.७ प्रतिशतले कम हो । यो पीएचईभी बिक्रीमा गिरावट आएको लगातार नवौं महिना हो ।

अप्रिल २०२२ मा बीवाईडीले इन्धनबाट मात्र चल्ने सवारीसाधनको बिक्री बन्द गरी बीईभी र पीएचईभीमा मात्र ध्यान केन्द्रित गरेको छ ।

बीवाईडीले सन् २०२५ मा ४५ लाख ५० हजार ३६ वटा कारहरू बिक्री गरेको छ । सन् २०२४ को ४२ लाख ५० हजार ३७० युनिटको तुलनामा यो ७.१ प्रतिशत बढी हो । यो सन् २०२१ देखिको दोहोरो वा तेहोरो अंकको प्रतिशत वृद्धिको तुलनामा निकै कम हो ।

सन् २०२५ मा बीवाईडीले २२ लाख ५४ हजार ७१४ बीईभी बिक्री गरेको छ । यो सन् २०२४ को तुलनामा २७.९ प्रतिशत बढी हो । पीएचईभी बिक्री २२ लाख ८८ हजार ७०९ पुग्यो र त्यो सन् २०२४ को तुलनामा ७.९ प्रतिशतले कम हो ।

बीवाईडीको सन् २०२५ को बिक्रीमा अहिले बीईभीको हिस्सा ४९.६ प्रतिशत छ भने पीएचईभीको हिस्सा ५०.४ प्रतिशत छ । यो सन् २०२४ को तुलनामा महत्त्वपूर्ण सुधार हो । त्यतिबेला कम्पनीको बिक्रीमा बीईभीको हिस्सा ४१.५ प्रतिशत मात्र थियो ।

बीवाईडीको वैदेशिक बिक्री पहिलोपटक १० लाख नाघ्यो र चीनबाहिर १० लाख ४६ हजार ८३ युनिट बिक्री भयो । यो सन् २०२४ को तुलनामा १५०.७ प्रतिशत बढी हो ।

कुनै पनि कुरा सधैंभरि बढिरहँदैन र बीवाईडीले भर्खरै त्यो पाठ सिकेको छ । बीवाईडीको सुरुवाती वार्षिक लक्ष्य ५५ लाख थियो । वर्षको सुरुमा यो ६५ लाख पुग्न सक्ने अनुमान गरिएको थियो । यसलाई सेप्टेम्बरमा ४६ लाखको लक्ष्यमा परिमार्जन गरियो । बीवाईडीले कुनै न कुनै रूपमा त्यो प्राप्त गर्यो ।

तर, सन् २०२६ चीनको सबैभन्दा ठूलो ईभी निर्माताका लागि अझ चुनौतीपूर्ण हुनेछ । घरेलु बिक्री घट्दै गएको छ । नोभेम्बरमा चीनमा बीवाईडी ब्रान्ड ३५ प्रतिशतले घटेको थियो र सन् २०२५ मा यो १० प्रतिशतभन्दा बढीले घट्ने अपेक्षा गरिएको छ ।

चिनियाँ सरकारले अब भारी छुट दिने बीवाईडीको प्रमुख हतियारलाई सूक्ष्म निगरानी गरिरहेको छ र अन्य दर्जनौं ईभी निर्माताहरूले उचित बजेटका ईभीहरू उपलब्ध गराउन सकिन्छ भन्ने प्रमाणित गरेका छन् ।