प्रधानमन्त्री र राजनीतिक दललाई राखेर चन्द्र ढकालले सोधे यी चार प्रश्न


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले लगानी गरी व्यवसाय गरेर नाफाको अपेक्षा राख्नु गलत हो? भन्दै प्रश्न गरेका छन् । देशको अर्थतन्त्र उकास्ने उद्देश्यसहित नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवादमा अध्यक्ष ढकालले यस्तो प्रश्न गरेका हुन् ।

हरेक आन्दोलन र प्रदर्शनमा निजी क्षेत्रलाई नै निसाना बनाउने काम भएको भन्दै ढकालले त्यसमा तीब्र असन्तुष्टि व्यक्त गरेका हुन् । आगामी दिनमा आन्दोलनका नाममा निजी क्षेत्रमाथि आक्रमण र आगजनी गर्ने वातावरणको अन्त्य गर्न अध्यक्ष ढकालले माग गरे ।

आगामी दिनमा निजी क्षेत्रको सुरक्षा र संरक्षणमा सबैले काम गर्ने र त्यो वातावरण बनाउन राजनीतिक दल र नेतृत्वबाट प्रतिबद्धता दिनसमेत आग्रह गरे । निजी क्षेत्रमाथि गरिएको आक्रमण र सुरक्षाका विषयमा बढी केन्द्रीत भएको ढकालले प्रधानमन्त्री सुशीला कार्की र अन्य राजनीतिक दलका नेतृत्वलाई राखेर निम्न प्रश्न सोधेका छन्ः

१. के ऋणधन गरेर लगानी गर्ने व्यवसायीले नाफाको अपेक्षा गर्नु अपराध हो? होइन भने निजी क्षेत्र सँधै नाफाको हिसाबमा मात्रै हेर्छन् भन्ने भाष्य गलत भएन र?

२. हाम्रो निजी सम्पत्तिमाथि नै आगजनी र तोडफोड हुन्छ । व्यवसायीले बैंकबाट कर्जा लिएर रोजगारी सिर्जना गर्नु गलत हो?

३. के हामीले कर तिरेर राज्य सञ्चालनका लागि खर्च जुटाउनु गलत हो?

४. पूर्वाधार निर्माण गर्नु र आम जनतालाई सेवा गर्नु गलत हो? कल्पना गरौं त मुलुकमा निजी क्षेत्रको लगानी नभएको भए स्वास्थ्य, शिक्षा, कृषि, प्रविधि, पूर्वाधार, बैंक तथा वित्तीय क्षेत्रको हालत के हुन्थ्यो होला?