फोर्ब्सको ३० वर्ष मुनिको सफल व्यवसायी सूचीमा नेपालका अजर राजभण्डारी



एजेन्सी । प्रख्यात फोर्ब्स सञ्चारमाध्यमले अमेरिकामा कारोबार गरिरहेका नेपालमा जन्मिएका अजर राजभण्डारीलाई ३० वर्षमुनिका सफल व्यवसायीको सूचीमा राखेको छ ।

रिटेल एन्ड ईकमर्शतर्फ थर्टी अन्डर थर्टीको सूचीमा २७ वर्षीय राजभण्डारी पनि परेका हुन् ।

सन् २००१ देखि अमेरिका बस्दै आएका राजभण्डारीले आफ्नो कम्पनी ‘हर्ड’ मार्फत अमेजन, वालमार्ट, टार्गेट र अन्य प्रमुख मार्केटप्लेसहरूमा विभिन्न ब्रान्डहरूको पोर्टफोलियो सञ्चालन गर्ने गरेको फोर्ब्सले उल्लेख गरेको छ ।

एक वर्षभन्दा केही बढी समयमै हर्डले १ करोड ५० लाख डलर राजस्व पुर्याएको छ । त्यसका साथै हर्डले हजारौं फाइभ–स्टार रिभ्युहरू प्राप्त गरेको छ र लाखौं ग्राहकहरूसम्म पुग्न पनि सफल भएको छ ।

कम्पनीसँग इलेक्ट्रोनिक्स बिक्रेता ‘मिनी माइक प्रो’ र सौन्दयै प्रसाधन सामग्री बिक्रेता ‘ट्रान्सेन्ड’ जस्ता तीनवटा ब्रान्डहरू छन् ।

यो वर्ष इलेक्ट्रिक डग कलरदेखि कार एडेप्टरहरूसम्मका पाँचवटा नयाँ ब्रान्डहरूमा कम्पनी विस्तार हुने तयारी गरिरहेको छ ।

राजभण्डारीका अनुसार, मिनी माइक प्रो निरन्तर अमेजनको बेस्ट–सेलर माइक रहँदै आएको छ । यसले लोजिटेक, आरोडीई र डीजेआईका उत्पादनहरूलाई समेत पछि पारेको छ ।