
एजेन्सी । गाजा सिटीमा इजरायलले आक्रमणमा हमासका सेकेन्ड–इन–कमान्ड राएद सईदको मृत्यु भएको छ ।
एउटा कारलाई निशाना बनाएर यो आक्रमण गरेको इजरायलको सेनाले शनिबार दाबी गरेको हो । तर, हमासले अहिलेसम्म राएद सईदको मृत्युको आधिकारिक पुष्टि गरेको छैन ।
राएद हमासको अल–कासिम ब्रिगेडका प्रमुख कमान्डर थिए । अल जजीराको रिपोर्ट अनुसार, सईद हमासको हतियार बनाउने नेटवर्कका प्रमुख थिए र अक्टोबर २०२३ मा इजरायलमा भएको आक्रमणको योजना बनाउनेहरूमा पनि संलग्न थिए ।
हमास स्रोतका अनुसार, राएद गाजा सिटी बटालियनका पूर्व प्रमुख पनि रहेका थिए । सईद युद्धविरामका बावजुद हमासको क्षमतालाई पुनः सुदृढ गर्ने र हतियार बनाउने काम गरिरहेको र यो सम्झौताको उल्लंघन भएको इजरायलको आरोप छ ।
यो आक्रमण हमासले इजरायली सैनिकहरूमाथि गरेको आक्रमणपछि भएको हो । त्यसमा २ इजरायली सैनिक घाइते भएका थिए । त्यसपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जले सईदलाई निशाना बनाउन आदेश दिएका थिए । अहिले नेतन्याहुले सैनिकहरूको मृत्युको बदला लिएको बताएका छन् ।
सईद गाजा शहरको पश्चिमी भागमा यात्रा गरिरहेको आफूहरूलाई रियल टाइममा गुप्तचर सूचना प्राप्त भएको र मौका गुम्नुअघि नै उनलाई मार्न तत्काल कारबाही गरेको इजरायल डिफेन्स फोर्सले जनाएको छ ।
अरबका गुप्तचर अधिकारीहरूका अनुसार, राएद पछिल्लो २ वर्षको अधिकांश समय गाजा सिटीमुनि बनेको हमासको सुरुङमा लुकेर बसेका थिए ।
हमासले सईदको मृत्युको पुष्टि गरेको छैन । इजरायली ड्रोनले गाजा सिटीको पश्चिममा नबुलसी जक्सन नजिकै एउटा नागरिक गाडीलाई निशाना बनाएको संगठनको भनाइ छ ।
गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार, यस आक्रमणमा पाँचजनाको मृत्यु भएको छ र २५ जना घाइते भएका छन् ।
सईदभन्दा पहिले इजरायलले मार्च २०२५ मा हमासका प्रधानमन्त्री इस्साम दिब अब्दुल्ला अल–दालीसलाई मारेको थियो । अब्दुल्लाले जुलाई २०२४ मा रुही मुश्ताहाको मृत्युपछि उनको ठाउँ लिएका थिए ।
अब्दुल्लाले गाजामा हमासको सरकार चलाउँथे । उनीसँग हमासको संगठन र लडाकुहरूको गतिविधिहरूको जिम्मेवारी पनि थियो । यसअघि इजरायलले हवाई आक्रमणमा हमासका ३ अन्य नेताहरूलाई पनि मारेको थियो ।
यिनमा हमासका कमान्डर र राजनीतिक नेता महमुद मारजुक अहमद अबु–वत्फा, बहजत हसन मोहम्मद अबु–सल्तान र अहमद ओमर अब्दुल्ला अल–हाता समावेश थिए ।









प्रतिक्रिया