विराटनगरमा फस्टाउँदै आँखा अस्पतालको व्यापार: भारत, बंगलादेश र भुटानबाट आउँछन् बिरामी

सेवा विस्तारसँगै चर्को प्रतिस्पर्धा


विराटनगर । चार दशकअघि विराटनगरमा एउटा मात्र आँखा अस्पताल थियो-रामलाल गोल्छा आँखा अस्पताल । चिकित्सक सीमित हुँदा बजारमा आँखाको उपचार गर्ने निजी क्लिनिक भेट्टाउन बिरामीलाई मुस्किल पर्थ्यो।

तत्कालीन कोशी अञ्चल अस्पतालको बहिरंग विभागमा पनि आँखाको सामान्य उपचार हुन्थ्यो। यही कारण यस क्षेत्रका आँखा रोगीले त्यसबेलामा उपचारका लागि कि त काठमाडौं, या त भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो।

विगत ६ दशकदेखि विराटनगरलाई बुझ्दै आएका ८४ वर्षीय ताराचन्द्र खेतान भन्छन्, ‘अहिले विराटनगरमा पाइलै पिच्छे आँखा अस्पताल छन् । ती अस्पतालहरूले यसवेला स्वदेशीलाई मात्र नभई भारतीय नागरिकलाई समेत आकर्षित गरेका कारण विराटनगर आँखा उपचारका लागि हब बन्दै गएको छ।’

यहाँ आँखा अस्पतालहरूको तीव्र विस्तारसँगै यसलाई ‘फस्टाउँदै गएको व्यापार’ का रूपमा हेर्नेहरू पनि बढेका छन् । उपचार सेवामै व्यवसायिक स्वार्थ मिसिँदै गएको आरोप पनि यहाँ असामान्य बन्दै गएको छ ।

१९ वटा वडा रहेको विराटनगर महानगरपालिकामा निजी क्षेत्रका १९ वटा आँखा अस्पताल सञ्चालनमा छन् । ती अस्पतालमा गत वर्ष मात्र झन्डै १० लाखले आँखाको उपचार गराएको तथ्यांक छ । तीमध्ये झन्डै ६० प्रतिशत भारतीय तथा २ प्रतिशत भुटानी र बंगलादेशी नागरिक छन्।

पछिल्लो समय विराटनगरमा आँखा अस्पतालको व्यापार खुबै मौलाएको छ । रामलाल गोल्छा आँखा अस्पतालका प्रशासन प्रमुख नविन राजवंशीका अनुसार पूर्वी नेपालसहित भारत, भुटान र बंगलादेशी नागरिकका लागि विराटनगर आँखा उपचारको हब बनेको छ। आँखाको उपचारका नाममा विराटनगरले वर्षेनी अर्बौं रुपैयाँ भित्र्याउने गरेको पाइन्छ छ।

गोल्छा आँखा अस्पतालले गत वर्ष झन्डै ६६ हजारको आँखा उपचार गरेको तथ्यांक छ। त्यसमध्ये ७ हजारवटा शल्यक्रिया गरिएको थियो। राजवंशीका अनुसार उपचार गर्ने मध्ये झन्डै ४० प्रतिशत भारतीय नागरिक छन्।

कोशी प्रदेशको राजधानी रहेको विराटनगरमा पछिल्लो समय आँखा उपचार सेवाको तीव्र विस्तार भएको छ । महानगरपालिकामा विभिन्न ८ वटा मात्र आँखा अस्पताल दर्ता भएको तथ्यांक भए पनि अहिले यहाँ १९ वटा आँखा अस्पताल सञ्चालित रहेको पाइएको छ।

तीमध्ये रामलाल गोल्छा आँखा अस्पताल, विराटनगर आँखा अस्पताल र तापडिया आँखा अस्पताल ठूला अस्पतालमा पर्दछन् । यसले विराटनगरलाई आँखा उपचारको हब मात्र नभई ‘आँखा व्यापारको बढ्दो बजार’ का रूपमा समेत व्याख्या गर्न थालिएको छ।

यहाँको सबैभन्दा ठूलो विराटनगर आँखा अस्पतालमा गत वर्षमात्र ७ लाख ४ हजार ८६४ जनाले आँखाको उपचार गराएका छन् । तीमध्ये ४६ प्रतिशत भारतीय नागरिक छन् । अस्पतालका प्रबन्धक कुमार पृथुका अनुसार ७२ हजार ४२८ जनाको शल्यक्रिया हुँदा ८० प्रतिशत मोतियाबिन्दुका बिरामी थिए।

यो अस्पतालमा आँखाको उपचार गर्न आएका मध्ये २ प्रतिशत भुटानी र बंगलादेशी नागरिक पनि छन्। पृथुका अनुसार गत वर्षमात्र करिब २ हजार बालबालिकाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो।

विराटनगरमा पछिल्ला वर्षहरूमा आँखाको व्यापार फस्टाएको पृथुको बुझाइ छ। यो अस्पतालमा मात्र वार्षिक सरदर करिब ६० करोडभन्दा बढी रकम आँखाको नाममा कारोबार हुने गरेको उनको तर्क छ।

विगतमा आँखाको सामान्य चेकजाँच तथा मोतियाबिन्दु शल्यक्रियामै सीमित रहेको सेवा अहिले अत्याधुनिक लेजर प्रविधि, रेटिना उपचार, ग्लुकोमा व्यवस्थापन र कॉर्निया प्रत्यारोपणसम्म विस्तार भइसकेकाले आँखाको उपचारका लागि भारतीय नागरिकका लागि विराटनगर प्रमुख गन्तव्य बन्दै गएको पृथुको भनाइ छ।

विराटनगरका विभिन्न चोक तथा सडकमा आँखा अस्पताल, क्लिनिक र निदान केन्द्र यत्रतत्र देखिन्छन्। एक किलोमिटरभित्रै दुई–तीनवटा आँखा उपचार केन्द्र देखिनु विराटनगरका लागि सामान्य भइसकेको छ।

गोल्छा आँखा अस्पतालकी वरिष्ठ नेत्र विशेषज्ञ डा. कृपा लोप्चनका अनुसार जनसंख्या वृद्धि, मधुमेह तथा उच्च रक्तचापका कारण आँखाका बिरामीको संख्या बढ्दो छ । उनका अनुसार कतिपयलाई अस्पताल आइपुगेपछि मात्र मधुमेह तथा उच्च रक्तचापका कारण आफ्नो आँखामा समस्या भएको थाहा हुने गरेको पाइएको छ।

विराटनगरमा आँखा अस्पतालहरूको संख्या तीव्र रूपमा बढेपछि सेवा विस्तारसँगै प्रतिस्पर्धा पनि असामान्य रूपमा चर्किएको छ । केही अस्पतालहरूले अत्यधिक मार्केटिङ, अनावश्यक परीक्षणको सिफारिस तथा सामान्य समस्यालाई पनि जटिल बताएर बिरामीसँग मोटो रकम असुल्ने गरेको गुनासो छ ।

आँखा अस्पतालको वृद्धि स्वास्थ्य सेवा उपलब्धतामा सुधार, छिटो सेवा, विशेषज्ञको पहुँच र आधुनिक प्रविधिले बिरामीहरू लाभान्वित भएका छन् । तर अस्पतालको अत्यधिक संख्या र उच्च प्रतिस्पर्धाका कारण यो क्षेत्र शुद्ध ‘व्यापारिक’ बन्दै गएको आलोचना पनि उत्तिकै छ । स्वास्थ्य क्षेत्र संवेदनशील भएकाले मूल्यमा पारदर्शिता, अनावश्यक परीक्षण रोकथाम तथा नियमन कडाइ गर्नुपर्ने माग उठ्दै आएको छ।

विराटनगरमा फस्टाउँदै गएको आँखा अस्पताल क्षेत्र केवल व्यवसायिक पक्षले मात्र नभई स्वास्थ्य सेवा उकास्ने दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । उपलब्ध प्रविधि, दक्ष जनशक्ति र प्रतिस्पर्धी वातावरणले बिरामीहरूलाई लाभ पुगेको छ।

तर, सेवा र व्यवसायबीचको सन्तुलन कायम राख्न नियमन, पारदर्शिता र बिरामीमैत्री अभ्यास आवश्यक रहेको सरोकारवाला बताउँछन् । यी सबै पक्ष सुदृढ हुँदै गए विराटनगर केवल व्यापारिक राजधानी मात्र नभई आँखाको स्वास्थ्य उपचारको विश्वसनीय केन्द्रका रूपमा चिनिने छ।

तर आँखा अस्पतालहरूको विस्तारसँगै यसलाई फस्टाउँदै गएको व्यापारको रूपमा पनि हेर्नेहरू बढेका छन् । उपचार सेवामै व्यवसायिक लाभ मिसिँदै गएको आरोप असामान्य बन्दै गएको छ।