अवैध रूपमा अमेरिका पस्नेलाई ५ हजार डलर जरिवाना तिराइने

105
Shares

एजेन्सी । अमेरिकाले अनुमतिबिनै देशमा प्रवेश गरेपछि पक्राउ परेका १४ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिहरूलाई ५ हजार डलरको एप्रिहेन्सन शुल्क लागू भएको छ ।

यो नीति बिहीबार अमेरिकी बोर्डर पट्रोलका प्रमुख माइकल ब्यान्क्सले घोषणा गरेका हुन् । यसलाई राष्ट्रपति डोनल्ड ट्रम्पको शासनकालमा पारित वन बिग ब्युटिफुल बिल एक्टअन्तर्गत स्वीकृति दिइएको थियो । त्यसले आप्रवासन नियन्त्रणका लागि ठूलो बजेट छुट्याएको थियो ।

ब्यान्क्सले एक्समा लेखे, ‘यो सन्देश सबै अवैध आप्रवासीहरूलाई लागू हुन्छ । उनीहरू कहाँबाट प्रवेश गरे, कति समयदेखि अमेरिकामा छन्, अहिले कहाँ छन् वा कुनै पनि आप्रवासन प्रक्रियामा छन् कि छैनन् भन्ने कुराले केही फरक पर्दैन ।’

अवैध रूपमा अमेरिकामा प्रवेश गर्नेहरूले पक्राउ पर्दा यो शुल्क तिर्नुपर्नेछ । अन्य सजायहरू पनि हुन सक्छन् ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सिक्योरिटीले यो शुल्क सेप्टेम्बरदेखि लागू भइसकेको पुष्टि गरेको छ । शुल्क नतिरेमा अमेरिकी सरकारप्रति ऋण बनेर रहनेछ । त्यसले भविष्यमा ती व्यक्तिहरूलाई कानूनी रूपमा अमेरिका फर्कन नदिने सम्भावना रहन्छ ।

अवैध रूपमा पस्न खोज्ने व्यक्तिहरू मेक्सिको सीमा क्षेत्रमा पक्राउ पर्ने गरेकोमा त्यो संख्या उल्लेखनीय रूपमा घटेको छ । नोभेम्बर महिनामा करिब ७३ सयजना मात्र पक्राउ परे जुन १९६० को दशकदेखि नदेखिएको न्यूनतम स्तर हो ।

यसबीच, सीमा गश्ती अधिकारीहरूलाई लस एन्जलस र शिकागो जस्ता भित्री शहरहरूमा पठाइएको छ । उनीहरूले कारवाश, पसलका पार्किङ जस्ता सार्वजनिक स्थानमा पक्राउ अभियान चलाएका छन् ।

भारी हतियारधारी र मुख छोपेका एजेन्टहरू सहभागी भएका यी अभियानहरूलाई लिएर प्रदर्शनकारीहरूसँग झडप समेत भएको छ । धेरै मुद्दा दायर भएका छन् जसमा बढी जसो बलप्रयोग र वारेन्टबिनै पक्राउ जस्ता आरोप छन् ।

५ हजार डलरको यो शुल्क ट्रम्प प्रशासनको विस्तृत निष्काशन रणनीति अन्तर्गतका सजायहरूमध्ये एक हो । यसै वर्ष सरकारले अमेरिका छोड्न आदेश पाएका तर नछोडेका आप्रवासीहरूलाई दिनको करिब १ हजार डलरको जरिवाना लागू गरेको थियो ।

त्यसका अतिरिक्त स्व–निष्काशन कार्यक्रम सुरु गरिएको छ । त्यसले स्वैच्छिक रूपमा अमेरिका छोड्न प्रोत्साहन गर्छ । सीबीपी होम एपमार्फत बाहिरिने आप्रवासीलाई अमेरिका छोड्ने क्रममा १ हजार डलर दिइन्छ ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सिक्योरिटीले ट्रम्पको दोस्रो कार्यकालमा करिब १९ लाख विदेशी नागरिकले स्व–निष्काशन गरेको जनाएको छ । तर, कतिजनाले सीबीपी एप प्रयोग गरे भन्ने भने स्पष्ट पारेको छैन ।