अन द हिप्पी ट्रेल समीक्षा: इस्तानबुलबाट काठमाडौंसम्मको यात्रा, ५० वर्षअगाडिको नेपालको रोचक चित्रण


काठमाडौं । सन् १९६० र १९७० को दशकमा अमेरिकाको मूलधारे मूल्यमान्यतालाई अस्वीकार गर्ने युवाहरू शान्तिको खोजीमा विभिन्न देश हुँदै नेपालसम्म आइपुग्ने गरेका थिए ।

गाँजा र अन्य लागूऔषधहरूको सेवन गर्ने लामो कपाल पालेका र रंगीचंगी कपडा लगाउने युवाहरूले काठमाडौंका गल्लीहरू चहार्ने गरेको घटनाले त्यतिखेरको नेपाली समाज तरंगित भएको थियो ।

सन् १९७० को दशकको अन्त्यतिर आइपुग्दा हिप्पी संस्कृति हराउँदै जान थालेको थियो । त्यो हराउनुअघि अमेरिकी नागरिक रिक स्टिभ्सले हिप्पी यात्राको अनुभव लिएका थिए । त्यसक्रममा उनले लेखेका डायरीहरूको संकलनलाई लगभग ५० वर्षपछि पुस्तकको रूप दिएर यसै वर्ष प्रकाशन गरेका छन् । ‘अन द हिप्पी ट्रेल: इस्तानबुल टु काठमाडौं एन्ड द मेकिङ अफ ए ट्राभल राइटर’ नामक यो किताब स्टिभ्सको साधारण यात्राको रेकर्ड मात्र हैन ।

यो यात्रा संस्मरण (ट्राभलग) आफैंलाई खोज्न हिँडेका युवाहरूको अनुभवको बलियो दस्तावेजका रूपमा रहेको छ । साथै, इस्तानबुलदेखि काठमाडौंसम्म तीन हजार माइल लामो प्रसिद्ध स्थलमार्ग हुँदै गरिएको यात्राको ऐतिहासिक रेकर्ड पनि हो ।

यसले सन् १९७८ (२०३५ साल) को निर्णायक र परिवर्तनकारी समयको चित्रण गरेको छ । इरान र अफगानिस्तान हुँदै सुरक्षित यात्रा सम्भव भएको त्यही नै अन्तिम वर्ष हो । त्यसपछि भूराजनीतिक अस्थिरताले त्यस बाटोलाई सधैंका लागि बन्द गरिदियो ।

बाटोमा आइलाग्ने चुनौतीको सामना गर्दै गन्तव्य मुलुकमा पूर्ण भिजेर यात्राको अनुभव लिनु लेखक स्टिभ्सको विशेषता हो । त्यतिबेला कलेज भर्खरै सकेका र पियानो शिक्षक बनिसकेका स्टिभ्सले आफ्ना मान्यताहरूलाई धक्का दिने किसिमको साहसिक यात्रा गर्न खोजेका थिए ।

आफ्ना पुराना मित्र जीन ओपेन्शासँग मिलेर स्टिभ्सले गरेको यात्रामा प्रशस्त असुविधाहरू थिए । इस्तानबुलदेखि तेहरानसम्म ६३ घण्टाको बसयात्रामा झुक्न समेत नमिल्ने सिटमा कोचिएर बस्नुपरेको, कीरा लाग्ने होटेलहरूमा बस्नुपरेको र पेट दुख्ने समस्याले ग्रस्त हुनुपरेको क्षणलाई स्टिभ्सले रमाइलो गरी प्रस्तुत गरेका छन् । ती विवरण पढ्दै गर्दा पाठक खित्का छोडेर हाँस्छन् ।

स्टिभ्सले यी असुविधाहरूलाई आफ्नो संयमको परीक्षाका रूपमा चित्रित गरेका छन् । ‘दुःख र असुविधा नहुने हो भने तपाईंले साँच्चै मजा लिनु भनेको के हो थाहै पाउनुहुन्न,’ उनी लेख्छन् । त्यसैले भारतको जयपुरमा खेत्रीका राजाको भव्य महलमा छोटो समय बिताउँदा वा अफगानिस्तानको हेरातको सफा होटल मोवाफाकमा बस्दा पाइएको राहतलाई उनी अत्यधिक आनन्दका साथ स्वीकार गर्छन् ।

यो यात्रा संस्मरणले सांस्कृतिक विनम्रताका साथै जातिकेन्द्रित सोच भत्काउने अभिप्राय लिएको छ । गरिबीले आक्रान्त क्षेत्रमा धनी अमेरिकी गोरा ब्याकप्याकरको रूपमा यात्रा गर्दा स्टिभ्सले निरन्तर आत्मचिन्तन गर्नुपरेको थियो । स्टिभ्सले बेग्लाबेग्लै राष्ट्रहरूका बीचमा र एउटै देशभित्र पनि धनी र गरिबबीचको ठूलो खाडलको सामना गर्नुपरेको थियो ।

काबुलमा स्टिभ्सले एकजना प्राध्यापकसँग कुराकानी गर्दा एउटा मार्मिक प्रसंग आउँछ । ती प्राध्यापक भन्छन्, ‘संसारका एक तिहाइ मानिस हातले, एक तिहाइ मानिस चपस्टिकले र एक तिहाइ मानिस चम्चाले खान्छन्, तर हामी सबै सभ्य नै हौं ।’ प्राध्यापकको यो भनाइ स्टिभ्सलाई आफूमा रहेको पूर्वाग्रहलाई नियाल्ने बलियो भनाइ थियो ।

यात्राको अन्तिम खण्डमा स्टिभ्स नेपाल आइपुग्छन् । तीन हजार माइलको यात्रापछि पुगिएको ‘वाचा गरिएको भूमि’ पुगेर उनी प्रफुल्लित हुन्छन् । टर्की, इरान, अफगानिस्तानका सुक्खा फाँट र भारतको उकुसमुकुस बनाउने जनघनत्वको अनुभवपछि स्टिभ्सले नेपाललाई फरक स्थानका रूपमा पाउँछन् । नेपालमा चरम गरिबी भए पनि शान्ति र खुशीको स्पष्ट अनुभूति भएको स्टिभ्स लेख्छन् ।

भारतको उत्तर प्रदेशबाट सुनौली नाका हुँदै भैरहवाबाट नेपाल प्रवेश गरेका स्टिभ्सले नेपालको सौन्दर्यलाई हरियाली, अग्ला हिमाल र घना जंगलको बिम्बका साथ वर्णन गरेका छन् । पोखराका वरपरका क्षेत्रमा रहेका रोमाञ्चक भीरहरू, स्वप्निल झरनाहरू र हरिया टारहरूको उनले आनन्द लिएका छन् । पोखरा उपत्यका आफैंमा विश्वको सबैभन्दा सुन्दर स्थानमध्ये एक मानिन्छ । त्यहाँ फेवातालमा बुद्ध स्तुप छायाँमा डुंगा खियाएको मनोरम वर्णन पुस्तकमा गरिएको छ ।

पाल्पाको तानसेन र कास्कीको पोखराका डाँडाहरूमा रहेका सुन्दर गाउँहरूमा पुग्दा आकाशमा सेता बादलका टुक्रा अनि तल आँखाले भ्याएसम्म उपत्यकाहरूको विशाल दृश्यले मन लोभ्याएको वर्णन पुस्तकमा पाइन्छ । यस सौन्दर्यलाई गाउँहरूमा विद्यमान सांस्कृतिक विशुद्धताले थप स्तरीय बनाएको लेखकको भनाइ छ ।

स्टिभ्सले नेपालीहरू भारतीयभन्दा बढी तिब्बती वा मंगोल जस्ता देखिन्छन् भनी वर्णन गरेका छन् । उनले ब्राह्मण वा क्षेत्रीभन्दा बढी जनजातिलाई भेटेका हुन सक्छन् । खुला दिलले स्वागत गर्ने, दयालु, शान्त र न्यानोपन बोकेका भनी उनले नेपालीलाई चित्रित गरेका छन् । भारतीय महिलाभन्दा फरक नेपाली महिला स्वतन्त्र रहेको, उनीहरूले अपरिचितलाई सिधै आँखामा हेरेर कुरा गर्ने र गहनाले सजिएका हुने भनी पुस्तकमा वर्णन गरिएको छ ।

नेपालको संस्कृति बौद्ध र हिन्दूको रोचक मिश्रण हो जसको अनुपम उदाहरण काठमाडौंको दरबार स्क्वेयरका रंगीन प्यागोडा र मन्दिरहरूमा देखिन्छ भनी स्टिभ्स लेख्छन् । स्वयम्भूनाथको चैत्य भ्रमणका क्रममा सुगन्धित धूप, सुमधुर भजन र बुद्धका दुई आँखाको दृश्यले भरिएको इन्द्रियगोचर अनुभवलाई उनले शब्दमा उतारेका छन् । कीर्तिपुर शहर पुग्दा युरोपका महान् चित्रकार ब्रुएगलको चित्रमा रहेको दृश्य झैं लागेको स्टिभ्स लेख्छन् । साना कुटिर उद्योग, संगीत बजाउने मानिसहरू र धागो कात्ने महिलालाई देख्दा कालातीत जीवनको झलक पाइएको उनले वर्णन गरेका छन् ।

यस यात्रा संस्मरणले अफगानिस्तान र नेपालमा व्याप्त र सामान्य लाग्ने लागूऔषध संस्कृतिको वर्णन गर्छ । स्टिभ्सले हेरातमा गाँजा सेवनको सुरुवात गर्ने व्यक्तिगत र दार्शनिक निर्णयका बारेमा लेखेका छन् । त्यहाँ ह्यासिस स्थानीय संस्कृतिको अभिन्न अंग थियो । पछि काठमाडौंमा गाँजा तान्नु पर्यटकका लागि सामान्य दृश्य रहेको उनी लेख्छन् जसरी जर्मनीमा बियर पिउनु अत्यन्त सामान्य कुरा हो ।

नेपालमा गाँजाको उत्पादन, बिक्री र सेवन वैध भएकाले झोंछेको फ्रीक स्ट्रटीमा सरकारको अनुमति लिएर गाँजा पसलहरू प्रशस्तै खुलेका थिए । तर, अमेरिकाले संसारभरि लागूऔषधविरुद्धको युद्ध सुरु गरेपछि नेपाललाई गाँजामाथि प्रतिबन्ध लगाउन चरम दबाब दिएको थियो । फलस्वरूप, २०३३ सालमा लागूऔषध नियन्त्रण ऐन ल्याएर गाँजाको उत्पादन र उपयोगलाई फौजदारी अपराध बनाइएको थियो । २०३५ सालमा रिक स्टिभ्स नेपाल आउँदा अवैध रूपमा गाँजा सेवन गर्ने अड्डाहरूमा पसेका हुन् ।

स्टिभ्सले काठमाडौंको पाई एण्ड चाई क्याफेमा अन्तिम हिप्पी शेल्टर भेटे । त्यहाँ शान्तिप्रेमी, संगीतप्रेमी, कवि र दार्शनिकहरू एप्पल पाई, चिया, पश्चिमी संगीत र हिमाल जस्तो अग्लो बनाइदिएको अनुभव गराउने स्थानीय गाँजा तान्नका लागि भेला हुन्थे ।

स्टिभ्सका लागि लागूपदार्थको अनुभव क्षणिक र अतियथार्थवादी भए पनि त्यसले उनको दृष्टिकोण फराकिलो बनायो । ‘आँखाले देखेभन्दा अझ बढी कुराहरू अस्तित्वमा छन्’ भन्ने कुरा उनलाई थाहा भयो ।

अन द हिप्पी ट्रेल दुईवटा मुख्य कारणले गर्दा अत्यन्त महत्त्वपूर्ण यात्रा संस्मरणका रूपमा रहेको छ । पहिलो, यो उक्त ट्रेलमा गरिएको यात्राको अन्तिम वर्ष भएकाले त्यस क्षेत्रको दुर्लभ र विस्तृत प्रत्यक्षदर्शी वर्णन हो । पुस्तकले राजाको शासनमा रहेको इरान (जहाँ इस्लामिक क्रान्तिको पृष्ठभूमि तयार भइरहेको थियो) र सोभियत आक्रमणअघिको अफगानिस्तान जस्ता देशहरूको सांस्कृतिक र राजनीतिक वातावरणको झल्को दिन्छ । त्यसले पुस्तकलाई ऐतिहासिक महत्त्व दिएको छ ।

दोस्रो, पुस्तकले स्टिभ्सको जीवनभरिको यात्रा दर्शन निर्माण गर्ने आधारभूत अनुभवलाई अभिलेखीकरण गरेको छ । विश्वलाई चिन्न र आफ्ना साँघुरा सीमाहरूलाई चुनौती दिनका लागि आधुनिक विश्वव्यापीकरणको युगमा पनि हिप्पी ट्रेलको भावना जीवन्त रहेको लेखकको तर्क छ ।

हिप्पी ट्रेल जस्तो परिवर्तनकारी अनुभवले विश्व असल मानिसहरूले भरिएको बुझाइ लेखकलाई दिएको छ । त्यही यात्रापछि नेपालका शान्त अग्ला हिमालको अनुभव अरूलाई पनि गराउने प्रेरणाका साथ स्टिभ्सलाई पियानो शिक्षकको करियर छोडेर यात्रा व्यवसाय सुरु गर्न प्रेरित गरेको हो । त्यसैले यो यात्रा उनको जीवनको दिशा सधैंका लागि परिवर्तन गरिदिने कारकतत्त्व बन्यो ।

यो किताब हिप्पी ट्रेलको इतिहासमा रुचि राख्नेहरूका लागि मात्र नभई यात्रामा आफूलाई विलीन गराउने र शिक्षा लिने सबै व्यक्तिका लागि पठनीय छ । असुविधा बेहोरेर प्रकृति र सरल संस्कृतिको शरणमा पुग्दा आफैंलाई चिन्न सफल यात्रीको अनुभवलाई पुस्तकको आकार दिनु साँच्चै प्रशंसनीय काम हो ।