मेक्सिकोले गर्यो श्रमिकको पक्षमा राम्रो निर्णय

63
Shares

एजेन्सी । अर्को वर्षदेखि कामदारको न्यूनतम ज्याला बढाउने र काम गर्ने समयावधि क्रमशः घटाउने मेक्सिकोले बुधबार घोषणा गरेको छ ।

दक्षिण अमेरिकाको दोस्रो ठूलो अर्थतन्त्रमा कामदारहरूलाई सहयोग गर्ने उद्देश्यले वामपन्थी सरकारले चालेको यो पछिल्लो कदम हो ।

जनवरी महिनादेखि न्यूनतम ज्याला १३ प्रतिशतले बढेर दैनिक ३१५.०४ पेसो पुग्नेछ । यो श्रमिक, व्यवसायी र सरकारी अधिकारीहरूबीच भएको सम्झौताको हिस्सा भएको श्रममन्त्री माराथ बोलानोसले बताए ।

तर, अमेरिकासँग सीमा जोडिएको उत्तरी मेक्सिकोका केही क्षेत्रमा दैनिक ज्याला करिब ४४०.८७ पेसो पुग्नेछ किनभने त्यहाँ ज्याला पहिलेदेखि नै उच्च छ ।

सन् २०२६ को न्यूनतम ज्याला वृद्धिले सन् २०१८ देखि ज्यालामा कुल १५४ प्रतिशत वृद्धि पु¥याउने राष्ट्रपति क्लाउडिया शेनबाउमले पत्रकार सम्मेलनमा बताइन् ।

एक वर्षअघि मात्र पद सम्हालेकी शेनबाउमले आफ्ना पूर्ववर्ती तथा गुरु आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले सुरु गरेको ज्याला वृद्धिको नीतिलाई निरन्तरता दिइरहेकी छिन् । यस वृद्धिले गरिबी निकै घटाएको तर्क उनले गरेकी छन् ।

यो निर्णय अर्थ मन्त्रालय, केन्द्रीय बैंक र व्यवसायीहरूसँग परामर्श गरेर मात्र लिइएको शेनबाउमले बुधबार बताइन् । उनले आलोचकहरूलाई जवाफ दिँदै दोहोरो अंकको नयाँ वृद्धिले मूल्य बढाएर उपभोक्तालाई हानि पुर्याउने तर्क गलत भएको बताइन् ।

‘न्यूनतम ज्याला बढाउन सकिँदैन, बढायो भने मुद्रास्फीति बढ्छ, देशमा लगानी आउँदैन, विदेशी लगानी आउँदैन भनेर वर्षौंसम्म भनियो । तर, अहिले हामी विदेशी लगानीको कीर्तिमान स्तरमा छौं,’ उनले सम्मेलनमा बताइन् ।

केही विश्लेषक र केन्द्रीय बैंकका डेपुटी गभर्नर जोनाथन हिथले न्यूनतम ज्यालालाई औसत ज्यालाको धेरै नजिक पुर्याउँदा मुद्रास्फीति बढ्न सक्ने चेतावनी दिएका छन् । तर, अहिले वार्षिक मुद्रास्फीति बैंकको ३ प्रतिशत लक्ष्यभन्दा एक प्रतिशत बिन्दुभित्र छ र सन् २०२४ को सुरुदेखि ब्याजदरमा पटक–पटक कटौती भइसकेको छ ।

मेक्सिकोको अर्थतन्त्र तेस्रो त्रैमासमा ०.३ प्रतिशतले खुम्चिएको र सन् २०२१ यताकै पहिलो वार्षिक त्रैमासिक गिरावट आएको बेलामा यो कदम चालिएको हो । अहिले त्यहाँ औद्योगिक गतिविधिमा सुस्तता आएको छ ।

मेक्सिकोको अर्थतन्त्रलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार शुल्क र अर्को वर्ष हुने संयुक्त राज्य–मेक्सिको–क्यानडा व्यापार सम्झौताको समीक्षाको अनिश्चितताले थिचिरहेको छ ।

सन् २०३० सम्ममा हप्ताको कामको समय ४८ घण्टाबाट क्रमशः घटाएर ४० घण्टा पु¥याउने विषयमा सरकारले बुधबार नै संसदमा विधेयक पेश गरेको छ । त्यो विधेयक पारित भएमा सन् २०२७ देखि हरेक वर्ष दुई घण्टाका दरले आधिकारिक कामको हप्ता घट्दै जानेछ ।

४० घण्टे कामको हप्ता शेनबाउमको सन् २०२४ को चुनावी अभियानको मुख्य वाचा थियो । तर, व्यवसायी नेताहरूको विरोधका कारण त्यो अड्किएको थियो ।

ओईसीडीको तथ्यांकअनुसार, सन् २०२४ मा औसत मेक्सिकाली कामदारले २१ सय ९३ घण्टा काम गरेका थिए, जुन ओईसीडीका सबै देशका कामदारहरूभन्दा निकै धेरै हो ।