डेढ वर्षदेखि रोकिएको आईपीओ प्रकिया अघि बढाउन रिलायन्सलाई धितोपत्र बोर्डको अनुमति

1.6k
Shares

काठमाडौं । डेढ वर्षदेखि रोकिएको रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढेको छ ।

नेपाल धितोपत्र बोर्डले मंगलबार निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटललाई पत्र लेख्दै रिलायन्सको आईपीओ निष्कासन प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।

रिलायन्सले यसअघि २०८१ असार १२ मा स्वीकृत पाए पनि त्यसका विरुद्ध उजुरी परेपछि प्रक्रिया रोकिएको थियो ।

रिलायन्सले डेढ वर्षअघि नै प्रतिकत्ता ८२०.८० रुपैयाँका दरले सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन गर्ने प्रक्रिया सुरु गरेको थियो । संस्थागत लगानीकर्ताले प्रतिकित्ता ९ सय १२ रुपैयाँका दरबले आईपीओ किनिसकेका छन् । धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएसँगै अब रिलायन्सको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुने प्रक्रिया सुरु हुनेछ ।

उच्च अदालत पाटन पुगेको रिलायन्सले अदालतको आदेशअनुसार आईपीओ निष्काशन प्रक्रिया अघि बढाउने अनुमति पाएको हो । बोर्डले मंगलबार निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई दिएको पत्रमा अदालतको आदेशलाई समेत बोर्डले उल्लेख गरेको छ ।

‘उच्च अदालत पाटनबाट मिति २०८१/०३/१२ मा भएको स्वीकृति बमोजिम निवेदक कम्पनीको सेयर निष्काशन सम्बन्धमा कानूनबमोजिम आवश्यक निकाशा दिनु भनी परमादेशको आदेश जारी भए अनुसार उक्त कम्पनीको सार्वजनिक निष्काशन सम्बन्धी प्रकृया अगाडी बढाउनुहुन जानकारी गराइन्छ,’ स्वीकृतिपत्रमा भनिएको छ ।

रिलायन्स स्पिनिङ मिल्स अग्रणी औद्योगिक घराना गोल्याण ग्रुपको अभिन्न अंग हो । २०५४ मा स्थापित उद्योगले पछिल्लो समय उत्पादन र नाफामा उल्लेख्य सुधार गर्दै आएको छ । कम्पनीद्वारा सार्वजनिक वार्षिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ४२ प्रतिशत बढी हो । अघिल्लो वर्ष कम्पनीको नाफा ८६ करोड ५० लाख रुपैयाँ थियो ।

वित्तीय विवरणमा रिलायन्सको खुद नाफामा ८ सय ४५ प्रतिशत वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा ५ करोड ३ लाख ८३ हजार ७९३ रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा ४७ करोड ६३ लाख ७८ हजार ८६० रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ ।

रिलायन्सको नेतृत्व हाल गोल्याण समूहका तेस्रो पुस्ताका प्रतिनिधि अक्षय गोल्याणले गरिरहेका छन् । उद्योगले अन्तर्राष्ट्रिय बजारमा समेत विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ । उद्योग तथा वाणिज्य क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको भन्दै नेपाल सरकारले गत असारमा स्पिनिङ मिल्सका नेतृत्वकर्ता अक्षयलाई ‘महत्वपूर्ण वर्ष व्यक्ति’ (सीआईपी) बाट सम्मान गरेको थियो ।

९ हजार स्पिन्डल क्षमताबाट सुरु भएको रिलायन्स स्पिरिङ मिल्स हाल १ लाख २ हजार ८ सय २४ स्पिन्डलको जडित क्षमतासहित सञ्चालन भइरहेको छ । सुनसरीको खनार र दुहबीमा उद्योगका दुईवटा धागो कारखाना रहेका छन् । उद्योगले कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्सचर्ड यार्न उत्पादन गर्दै आएको छ । उद्योगका उत्पादनहरु नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन् । वार्षिक ५ करोड अमेरिकी डलर बराबरको निर्यात हुन्छ ।