
काठमाडौं । औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको प्यारासिटामोल ट्याब्लेट (सेटोफेन) तत्काल फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ । ब्याच नं. सीटी २७२३ को प्यारासिटामोल ट्याब्लेट बजारबाट तत्काल फिर्ता (रिकल) गर्न निर्देशन दिएको निर्देशन दिएको हो । विभागले सेटोफेनलाई तेस्रोपल्ट प्रतिबन्ध गरेको हो ।
राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा उक्त ब्याचको औषधि न्यून गुणस्तरको पाइएपछि विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री–वितरण रोक्का गरी उद्योगलाई बजारबाट फिर्ता गर्न आधिकारिक निर्देशन दिएको हो ।
विभागले उक्त ब्याच नम्बर उल्लेख भएका औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोग समेत नगर्न नगराउन आह्वान गरेको छ ।
सम्बन्धित ब्याचको उत्पादन मिति २०२३ जुन र म्याद सकिने मिति २०२६ मे रहेको छ । अर्थात, म्याद गुज्रन अब करिब ६ महिना मात्र बाँकी छ तर यो औषधि बजारमा करिब साढे २ वर्षदेखि निर्वाध बिक्री–वितरण हुँदै आएको थियो ।
विभागले बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका औषधिका नमुना संकलन गरी परीक्षण गर्दा कम्पनीको प्यारासिटामोल ट्याब्लेट न्युन गुणस्तरको पाइएको विभागले जनाएको छ । सोही कारण उक्त ब्याचको सबै प्यारासिटामोल ट्याब्लेट रिकल गरीएको छ ।
पछिल्लो समय गत कात्तिक २६ गते पनि विभागले यस्तै नोटिस जारी गरेको थियो ।
लोमसका अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीप जंग पाण्डे हुन् । कम्पनीमा उनीसहित उनका छोराहरूको समेत पारिवारिक लगानी छ ।








प्रतिक्रिया