
काठमाडौं। सरकारले जारी नेपाल प्रिमियर लिग(एनपीएल) र एमालेको बागमती प्रदेश कमिटीले आज गर्न लागेको जनप्रर्दशनलाई लक्षित गरेर शनिबार राजधानीमा ३ हजार प्रहरी सडकमा परिचालन गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार ३ हजार प्रहरीले नपुगे थप जनशक्ति तयार पारिएको छ । आवश्यक परे उपत्यकास्थित विभिन्न गण–गुल्मका टोलीसँग समन्वय गरिएको उनले बताए ।
एमाले नेतृत्वले प्रदर्शन संयमित हुने प्रतिबद्धता गरे पनि सम्भावित घुसपैठ र त्यसबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीबारे प्रहरी उच्च सतर्कमा रहेको उनले बताए ।
त्यस्तै, नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछ । दर्शकको अत्यधिक चापका कारण खेलको क्रममा हुनसक्ने सुरक्षा चुनौतीप्रति पनि काठमाडौँ प्रहरीले उच्च सतर्कता अपनाएको प्रवक्ता भट्टराईले बताए ।
एमाले प्रदर्शनका निम्ति विभिन्न स्थानबाट भृकुटीमण्डपमा जम्मा हुने क्रममा ठाउँठाउँबाट जुलुससहित सहभागी हुने सूचनाका आधारमा काठमाडौँ जिल्लाभित्रका सम्पूर्ण प्रहरी युनिट बिहानैदेखि ड्युटीमा खटिएको उनले बताए ।








प्रतिक्रिया