सिमरा झडप घटना : जेन-जी र जिल्ला सुरक्षा समितिबीच सहमति


बारा । जेन- जीको ६ बुँदे मागमा जिल्ला सुरक्षा समितिले सहमित जनाएपछि वार्ता टुंगोमा पुगेर दुई पक्षबीच सहमति भएको छ ।

सुदन गुरूङसहितको जेन- जी टिम, पीडित र प्रशासनबीच शुक्रबार वार्ता भएको थियो । सहमति भएका विषय प्रहरी प्रशासनले सोमवारसम्म (चार दिन भित्र) पूरा गर्ने छाँट देखाएन भने पाँचौ दिन मंगलवारदेखि फेरि आन्दोलित हुने जेन- जीले चेतावनी दिएका छन् ।

बाराको सिमरामा बुधवार भएको जेन- जी र एमाले कार्यकर्ताबीचको झडपको घटनापछि उत्पन्न परिस्थितिबारे शुक्रवार भएको जिल्ला सुरक्षा समिति र जेन- जीबीच ६ बुँदे सहमति भएको छ ।

घटनाको तेस्रो दिन वार्ता भएर टुंगो लागेको हो । मौखिक सहमति भएको हो । जेन- जीको मागप्रति सहमति जनाउँदै सुरक्षा समितिले माग कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि जेन- जीले सहमति जनाएका हुन् ।

जेन- जीले आफ्ना ६ बुँदे माग राख्दै वार्ता सुरू गरेका थिए । वार्तामा दुबै पक्ष संयम थिए । सुरूमा जेन जी टिम सुरक्षा र सुरक्षा अधिकारीमाथि कडा रूपमा प्रस्तुत हुँदै सुरक्षाकै कमजोरीले जेन जीमाथि हातपात भएको र ठुलो संख्यामा परिचालित प्रहरीले आरोपितलाई तत्कालै पक्राउ गर्न नसकेको भन्दै खनिएका थिए ।

जेन- जीको तर्फबाट सुदन गुरूङ, पुरूषोत्तम यादव, शिव यादव र स्थानीय सिमराका जेन जी सम्राट उपाध्याय, कपिल खरेललगायतले ६ बुँदे माग प्रस्तुत गर्दै वार्ता सुरू गरेका थिए । उक्त माग राख्दै सुरक्षा कमजोरीले घटना भएको तर्क अघि सारेका थिए ।

६ बुँदे मागमा जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङ, इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीको सुरक्षमा कमजोरी भएकोले घटना हुन पुगेको भन्दै उनी दुबैलाई कारबाही हुनुपर्ने, जेन- जीमाथि हातपात गर्ने एमाले कार्यकर्तालाई कडा कारबाही हुनुपर्ने माग राखेका थिए।

यसैगरी पक्राउ परेका एमाले कार्यकर्ता अरबिन्द साहको टेलिफोनको कल डिटेल जाँच हुनुपर्ने, घाइते जेन- जीलाई राज्यपक्षबाट उपचार र क्षतिपुर्ती मिलाउनु पर्ने, पुरक जाहेरी मार्फत नवराज बस्नेत र विशाल लामाको नाम जाहेरीमा थप हुनुपर्ने र जेन जीको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने भन्दै यी ६ बुँदे माग राखेका थिए ।

यी सबै मागमा जिल्ला सुरक्षा समितिले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । यिनै ६ बुँदे मागमा मौखिक सहमति भएको हो । वार्ता पथलैयास्थित सशस्त्र प्रहरी प्राविधिक शिक्षालयमा भएको थियो । साढे ४ बजेदेखि भएको वार्ता ७ बजे टुंगिएको थियो। झन्डै साढे तीन घण्टा वार्ता भएको थियो ।

तीनदिन अघि बाराको सिमरामा बुधवार भएको एमाले र जेनजीबीच झडप भएको थियो । झडपको क्रममा ६ जना जेन- जीलाई चोटपटक लागेर घाइते भएका थिए ।

तिनै विषय लिएर जेन- जी विरोध प्रदर्शनमा उत्रिदै सिमरा विमानस्थलमा तोडफोड, राजमार्गमा आगो बाले प्रदर्शन र एमालेले बनाएको स्वागतद्वार तोडफोड, झण्डा जलाउने जस्ता कार्य गरेका थिए । विमानस्थल परिसरमा सिसाको बोतल दुबै तर्फबाट हानाहान भएको थियो ।

बुधवार परवानीपुरमा युवा जागरण अभियान सभामा सम्बोधन गर्न एमाले महासिचव शंकर पोखरेल र पोलिटब्यूरो सदस्य महेश बस्नेतलाई लक्षित गरी उनीहरूविरूद्ध सिमरा चोकमा जेन- जीले विरोध प्रदर्शन गर्न थालेपछि एमालेको युवा संघका कार्यकर्ता र जेन- जीबीच भनाभन भई विवाद हुँदा झडप हुन पुगेको थियो ।

त्यहीं झडपमा जेन- जीका ६ जना युवालाई चोटपटक लागि घाइते भएका थिए । जेन- जीका जिल्ला संयोजक सम्राट उपाध्यायको अगुवाइमा एमाले नेताविरूद्ध विरोध प्रदर्शन भएको थियो ।

घाइतेहरूको तर्फबाट सम्राटले नै इलाका प्रहरी कार्यालयमा एमालेका ६ जना कार्यकर्तामाथि किटानी जाहेरी दिएका थिए । सोही अनुसार ३ जना पक्राउ परेका हुन् ।

उनीहरूमाथि बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान सुरू भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए । दुई दिनदेखि अशान्त सिमरा शुक्रवारदेखि शान्त छ । कर्फ्यू, झडप, प्रदर्शन, तोडफोड छैन् ।

जितपुरसिमरा उपमहानगरपालिका जेन- जी कमिटीका प्रवक्ता मनिष सापकोटाले वार्ता सौहार्दपुर्ण वातावरणमा भएको बताए । यता प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले विहीवारदेखि नै वार्ताको पहल गर्दै जेन- जीलाई संवादका लागि बोलाए पनि वार्ता शुक्रवार भएको हो ।

वार्तामा भएका सहमित यथासक्य चाँडै कार्यान्वयन गर्ने बताए । जेन- जीले जाहेरी दिएको आरोपित व्यक्ति अरबिन्द साह पक्राउ परेपछि वार्ताको वातावरण बनेको थियो । त्यस अघि साहलाई पक्राउ नगरेसम्म वार्ता र संवाद नगर्ने जेन- जी अडानमा थिए ।

जेन- जीले ६ जना एमाले कार्यकर्ता उपर दिएको किटानी जाहेरीअनुसार प्रहरीले ३ जनालाई पक्राउ गरिसकेको छ । विहीवार विहान २ जना निर्वाचित एमालेका वहालवाला वडाध्यक्ष र राति १ जना गरी ३ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका तिनै जना जिल्ला प्रहरी कार्यालय कलैयामा राखिएको छ ।

उनीहरूमाथि कुन कसुरमा मुद्दा चलाउने भन्ने खुलाइको छैन् । तर प्रहरी स्रोतकाअनुसार शान्ति सुरक्षा अपराधिक उपद्रो मुद्दा चलाउने गरि अनुसन्धान भइरहेको छ ।

उता जेन- जीको मागअनुसार अरबिन्द साहलाई विहीवार राति हेटौंडाबाट पक्राउ गरिएको छ भने एमालेबाट निर्वाचित वडाध्यक्षद्वय धनबहादुर श्रेष्ठ र कैमुदिन अंसारी विहीवार इलाका प्रहरी कार्यालय सिमरामा भेट गर्न गएको बखत प्रहरीले नियन्त्रणमा लिएको थियो । जाहेरीअनुसार ३ जना पक्राउ पर्न बाँकी छ ।

तिनीहरूलाई पनि पक्राउ गर्न खोजी कार्य भइरहेको प्रजिअ मिश्रले बताए । पहिलो दिन बुधवारको झडपले तनाव थियो । सिमराविमान स्थलमा तोडफोड र राजमार्गमा आगो बालेर प्रदर्शनकारीले राजमार्ग अवरूद्ध गरेका थिए ।