बन्चरेडाँडामा स्थानीयको अवरोध हट्यो, ११ बुँदे सम्झौता

525
Shares

काठमाडौं । बन्चरेडाँडामा काठमाडौंको फोहोर फाल्न स्थानीयबाट भइरहेको अवरोध हट्ने भएको छ । बिहीबार सहरी विकासमन्त्री कुलमान घिसिङको पहलमा सहमति जुटेको हो ।

सहमतिसँगै स्थानीयबाट फोहोरमैला ढुवानी एवं विसर्जनमा भएको अवरोध नहुने भएको छ । सहमति अनुसार स्थानीयलाई विगतमा चलाइएको मुद्दाका सम्बन्धमा तत्काल निर्णय गरी पत्राचार गरिने छ ।

वातावरणीय अध्ययन प्रतिवेदन छिटो तयार पर्न परामर्शदाता कम्पनीलाई पत्राचार गरी त्यसको लिखित प्रतिबद्धता समेत लिने सहमति जुटेको छ ।

आगामी आर्थिक वर्षको बजेटमा ईआईए प्रतिवेदन अनुसार जग्गा अधिग्रहणका लागि आवश्यक बजेट विनियोजन गर्ने काम अगाडि बढाउने सहमति समेत जुटेको छ ।

बन्चरेडाँडाका स्थानीयका लागि तत्काल चालु आव २०८२र८३ को घरटहरा तथा बालीको मुआब्जा दिन काठमाडौं महागरपालिकालाई पत्राचार गर्ने निर्णय पनि भएको छ ।

साथै, महानगरले एक महिनाभित्र बन्चरेडाँडा क्षेत्रका अतिप्रभावित स्थानीयलाई साविकमा सिसडोलबाट प्रभावित क्षेत्रलाई दिइएको आधारमा बन्चरेका हकमा समेत सोहीलाई आधार मानेर क्षतिपूर्ति दिने सहमति जुटेको छ ।