एनआईसी एशियाले आधार दरमै सेयर कर्जा प्रदान गर्ने, दिन सक्छ ६ अर्ब

28
Shares

काठमाडौं । एनआईसी एसिया बैंकले सेयर धितो कर्जामा प्रिमियम नलिने भएको छ । बैंकले प्रिमियम शुल्क नलिई आधार दरमै सेयर धितोकर्जा प्रवाह गर्ने भएको हो । ‘एनआईसी एसिया सेयर लोनः सेयर तपाईंको साथ हाम्रो’ भन्ने नाराका साथ बैंकले शून्य प्रिमियममा अर्थात् आधार दरमा नै सेयर धितो कर्जा प्रवाह गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा मात्रै ४ अर्ब २४ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेको देखिन्छ । यो सँगै सेयर धितोमा बैंक तथा वित्तीय संस्थाको लगानी असोज मसान्तसम्ममा १ खर्ब ४४ अर्ब ९५ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २० वाणिज्य बैंकले सेयर धितो कर्जामा गरेको लगानी भने १ खर्ब २१ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । गत वर्षको असोजसम्मा बैंकहरुले ८४ अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका थिए ।
तथ्यांकअनुसार यस अवधिसम्ममा एनआईसी एसिया बैंकले २ अर्ब ४७ करोड ५० लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको कर्जा आफ्नो प्राथमिक पुँजीको बढीमा ४० प्रतिशतसम्म प्रवाह गर्न पाउने व्यवस्था छ। यस प्रयोजनको लागि प्राथमिक पुँजी भन्नाले ठीक अघिल्लो त्रैमासको आन्तरिक लेखापरीक्षण भएको वित्तीय विवरणको आधारमा कायम हुन आएको प्राथमिक पुँजीलाई मानिने व्यवस्था छ ।

जस अनुसार एनआईसी एसिया बैंककाले कुल चुक्ता पुँजी २२ अर्ब १८ करोड ७० लाख रुपैयाँ छ । ४० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था अनुसार एनआईसी एसियाले कुल ८ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गर्न सक्छ ।

तर, असोज मसान्तसम्ममा एनआईसीले २ अर्ब ४७ करोड ५० लाख रुपैयाँ लगानी गरेकाले बैंकले अझै थप ६ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ सेयर धितो कर्जामा लगानी गर्ने स्पेस छ । हालको घोषणाअनुसार बैंकले अब ६ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा अधार दरमा अर्थात् शून्य प्रिमियम शुल्कमा प्रदान गर्न सक्छ ।