
एजेन्सी । आन्ध्रप्रदेशको मारेडुमिल्ली जंगल क्षेत्रमा बुधबार थप सातजना माओवादी मारिएका छन् ।
मंगलबार त्यही क्षेत्रमा सुरक्षाफौजले माओवादी विद्रोहलाई ठूलो झड्का दिँदै शीर्ष कमान्डरसहित ६ जनालाई मारेकै भोलिपल्ट यो दोस्रो ठूलो कारबाही भएको हो ।
मारिएकाहरूमध्ये माओवादी केन्द्रीय कमिटी सदस्य थिप्पिरी तिरुपति उर्फ देवजी पनि रहेको विश्वास गरिएको छ । यसै वर्ष मे महिनामा नम्बाला केशव राव उर्फ बसवराजु मारिएपछि देवजीले माओवादीको महासचिवको जिम्मेवारी सम्हालेका थिए ।
आन्ध्र प्रदेश प्रहरीको अतिरिक्त महानिर्देशक (गुप्तचर) महेश चन्द्र लड्ढाले भने, ‘मंगलबारको गोली हानाहानपछि कम्बिङ अपरेसनमा खटिएका सुरक्षाफौजसँग बुधबार भएको भिडन्तमा यी सातजना मारिएका हुन् । अझै घटनास्थलबाट पूरा विवरण आइसकेको छैन, जानकारी संकलन भइरहेको छ ।’ देवजी मारिएको खबर आइरहँदा सुरक्षाफौजले निगरानी कायम राखेको पनि उनले बताए ।
मंगलबार मारिएकाहरूमा माओवादी केन्द्रीय कमिटी सदस्य तथा पहिलो बटालियन कमान्डर माड्भी हिड्मा, उनकी श्रीमती माडकम राजे र अन्य चारजना माओवादी थिए ।
पछिल्लो एक वर्षमा छत्तीसगढ, महाराष्ट्र, बिहार, झारखण्ड, आन्ध्र प्रदेश र तेलंगानामा सुरक्षाफौजले कम्तीमा २७० जना माओवादी मारिसकेका छन् । १२ सय २५ जना आत्मसमर्पण गरेका छन् भने शीर्ष नेताहरू सहित ६८० जना पक्राउ परेका छन् ।
केन्द्रीय सरकारले माओवादी विद्रोह पूर्णरूपमा अन्त्य गर्न ३१ मार्च २०२६ को समयसीमा तोकेको छ । अप्रिल महिनामा १८ वटा रहेका वामपन्थी अतिवाद प्रभावित जिल्लाहरूको संख्या घटेर अब ११ वटा मात्र बाँकी छ ।
छत्तीसगढको सुक्मा जिल्ला अन्तर्गत पुर्वत्ती गाउँका बासिन्दा हिड्मा दुई दशकयता छत्तीसगढमा भएका सबैभन्दा घातक आक्रमणका लागि जिम्मेवार मानिन्थे । सुक्मा–बिजापुर जंगलको गहिरो ज्ञान, तहगत सुरक्षा घेरा र अन्तरराज्यीय सशस्त्र टोली परिचालन गर्ने क्षमताका कारण उनी भारतका सर्वाधिक खोजिएका माओवादी नेता थिए ।
छत्तीसगढमा निरन्तर दबाब परेपछि माओवादीहरू आधारक्षेत्र सार्ने योजनामा रहेको गुप्तचर सूचनाका आधारमा आन्ध्र प्रदेश प्रहरीले अन्तरराज्यीय सीमामा निगरानी बढाएको थियो ।
गत साता शीर्ष माओवादी नेताहरू आन्ध्र–तेलंगाना–छत्तीसगढ सीमाक्षेत्रको मारेडुमिल्लीमा संगठन पुनर्जीवित गर्न प्रवेश गरेको विशिष्ट सूचना प्राप्त भएपछि मंगलबार बिहानै लक्षित अपरेशन सुरु गरिएको थियो । त्यस क्रममा ६ जना माओवादी मारिएका थिए ।
घटनास्थलबाट दुईवटा एके–४७ राइफल, एउटा पेस्तोल, एउटा रिभल्भर, एउटा एकनली बन्दुक, गोलीगठ्ठा र किटब्याग बरामद गरिएको थियो ।
यसैबीच माओवादी सञ्जालसँग जोडिएका ३१ जनालाई आन्ध्र प्रदेशमा बेग्लाबेग्लै पक्राउ गरिएको छ । पक्राउ पर्नेहरूमा देवजीका नौजना सुरक्षागार्ड पनि छन् । बाँकी दक्षिण बस्तर जोनल कमिटीका बटालियनका सदस्यहरू थिए जसले आन्ध्रप्रदेशमा शरण लिएर संगठन पुनर्गठन र पुनर्जीवित गर्ने प्रयास गरिरहेका थिए ।
मंगलबारको भिडन्तमा केही माओवादी भागेका थिए । सुरक्षाफौजले गहिरो जंगलमा कम्बिङ अपरेशन जारी राखेकाले बुधबार फेरि भिडन्त भएको हो ।
लड्ढाले सबै मारिएका माओवादी छत्तीसगढका भएको बताए । भागेकाहरूलाई पक्राउ गर्न टोली परिचालित छन्, त्यसैक्रममा बुधबारको भिडन्त भएको उनले बताए ।
माओवादीहरू छत्तीसगढ र तेलङ्गानाबाट आन्ध्रप्रदेशमा घुसपैठ गर्ने प्रयासमा रहेको भन्दै उनले गुप्तचर सञ्जाललाई बलियो बनाएर उनीहरूको गतिविधि नजिकबाट निगरानी गरिरहेको बताए । बाँकी रहेका माओवादीहरूलाई उनले आत्मसमर्पण गर्न आग्रह गरेका छन् ।








प्रतिक्रिया