टेस्लाले अमेरिकामा बन्ने कारहरूमा चिनियाँ पाटपुर्जा उपयोग नगर्ने

63
Shares

एजेन्सी । टेस्ला कम्पनीले अबदेखि अमेरिकामा बन्ने आफ्ना कारहरूका लागि चीनमा बनेका पार्टपुर्जा प्रयोग गर्न नपाउने भन्दै आपूर्तिकर्ताहरूलाई निर्देशन दिएको वाल स्ट्रीट जर्नलले समाचार प्रकाशन गरेको छ ।

इलोन मस्कको नेतृत्वमा रहेको कम्पनी र उसका आपूर्तिकर्ताहरूले चीनमा बनेका पार्टपुर्जा पहिले नै बदलिसकेका छन् ।

अर्को एक–दुई वर्षभित्र बाँकी सबै पार्टपुर्जा पनि चीनबाहिर बनेका सामानले विस्थापित गर्ने लक्ष्य राखेको समाचारमा उल्लेख गरिएको छ ।

अमेरिका र चीनबीच व्यापार विवादका कारण बदलिँदो भन्सार दरले मूल्य निर्धारण रणनीतिमा ठूलो समस्या सिर्जना गरिरहेको पत्रिकाले थप उल्लेख गरेको छ ।

टेस्लाले भन्सारबारेको अनिश्चितताबीच विगत दुई वर्षदेखि अमेरिकास्थित कारखानाहरूका लागि उत्तरी अमेरिकाबाट आपूर्ति बढाइरहेको रयटर्सले अप्रिलमा समाचार प्रकाशन गरेको थियो ।

यसै महिना चीनको प्यासेन्जर कार एसोसिएसनको तथ्यांकले देखाएअनुसार, चीनमा बनेका टेस्लाका इलेक्ट्रिक कारहरूको बिक्री अक्टोबरमा ९.९ प्रतिशतले घटेर ६१ हजार ४ सय ९७ मा झरेको छ । यो गत वर्षको सोही महिनाको तुलनामा कम हो । सेप्टेम्बर महिनामा भने २.८ प्रतिशतले वृद्धि भएको थियो ।

शाङ्हाई कारखानामा बनेका मोडल ३ र मोडल वाईका उत्पादन र निर्यात सेप्टेम्बरको तुलनामा ३२.३ प्रतिशतले घटेको छ ।

दुई देशबीचको बढ्दो तनावका कारण २०२५ भरि कार उद्योगका अधिकारीहरू दबाबमा रहे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनिश्चित भन्सार निर्णयहरूका साथै दुर्लभ खनिज पदार्थ र चिप आपूर्तिबारे उद्योगमा उत्पन्न हुने डरका कारण गाडी निर्माताहरू चीनमा निर्भरता घटाउने सोचमा छन् । चीन पार्टपुर्जा र कच्चा पदार्थको ठूलो स्रोत मानिन्छ ।

यसै साता जनरल मोटर्सले पनि हजारौं आपूर्तिकर्तालाई आफ्नो आपूर्ति शृंखलाबाट चीनमा बनेका पार्टपुर्जा हटाउन निर्देशन दिएको छ ।