भाइरल ज्वरो फैलिएपछि उमाकुण्ड गाउँपालिकाका ४२ विद्यालय तीन दिनका लागि बन्द

42
Shares

काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिकामा भाइरल ज्वरोले महामारीको रुप लिएपछि ४२ वटा सामुदायिक बिद्यालय बन्द गरिएका छन् ।

भाइरल ज्वरोले दर्जनौं बालबालिका प्रभावित भएपछि उमाकुण्ड गाउँपालिकाले आगामी तीन दिनको लागि ४२ वटा सामुदायिक विद्यालय बन्द गरेको छ ।

विद्यालयमा अध्ययनरत अधिकांश बालबालिकामा ज्वरो आएपछि आजदेखि लागू हुने गरी मंसिर १ गतेसम्मका लागि गाउँपालिकाभित्र रहेका सम्पूर्ण विद्यालय पूर्ण रूपमा बन्द गर्ने निर्णय पालिकाले गरेको हो ।

केही दिनदेखि निरन्तर उमाकुण्डका विभिन्न स्थानहरूमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, जिउ दुख्ने, रुघाँखोकी लाग्नेजस्ता संक्रमण तीव्र रूपमा फैलिएको छ ।

अहिले ज्वरोका कारण बिरामी परेका स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि खचाखच रूपमा भरिएका छन् । विद्यालयमा एकाएक रूपमा ज्वरोका बिरामी बढ्दै गएपछि विद्यालयको निरीक्षण लागि बिहीबार पालिकाका केही विद्यालयमा पुगेका गाउँपालिकाका अधिकारीहरूले बालबालिका पनि उक्त संक्रमण देखेपछि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।