बैदेशिक रोजगारीमा हुनुहुन्छ ? १० प्रतिशत ब्याज आउने लगानीको अवसर आयो



काठमाडौं । नेपाल राष्ट्र बैंकले बचतपत्र निष्काशन गर्ने भएको छ । यही फागुन ३ देखि २३ गतेसम्मका लागि राष्ट्र बैंकले २५ करोड रुपैयाँ बराबरको बचतपत्र बिक्री खुल्ला गरेको छ ।

सरकारी ग्यारेन्टी भएकाले यो बचतपत्रमा गरिएको लगानीको पूर्णरुपमा सुरक्षा हुन्छ । बचतपत्र खरिदकर्ताले प्रत्येक ६ महिनामा १० प्रतिशतका दरले व्याज भुक्तानी पाउने छन् ।

राष्ट्र बैंकका अनुसार कम्तीमा ५ हजार रुपैयाँ र बढीमा ५ हजारले निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्मका लागि आवेदन दिन सकिने छ ।

यो बचतपत्र ५ वर्षका लागि हो । बचतपत्रमा मुलुक बाहिर रोजगारीमा रहेका वा रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यका नाममा खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिने छ ।

सरकारले आर्थिक वर्ष २०६५/६६ सालदेखि बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी बैदेशिक रोजगार बचतपत्र निष्काशन गर्दै आएको छ ।

रेमिटान्सको ९० प्रतिशत बढी रकम उपभोगमा खर्च भएको प्रति चिन्ता व्यक्त गर्दै रेमिट्यान्सलाई पुँजी निर्माणमा लगाई राष्ट्रिय उत्पादकत्व बढाउन सरकारले बचतपत्रको अबधारणा ल्याएको हो ।


पुष्प दुलाल