न्युयोर्क बाहिर जित्न निकै गाह्रो छ ममदानीलाई, यस्ता छन् १० कारण

189
Shares

एजेन्सी । न्युयोर्कमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जोहरान ममदानीले जितेपछि नेपाल सहित विश्वभरि उनको चर्चा चुलिएको छ । ममदानीले न्युयोर्कस्थित नेपाली रेस्टुराँमा मःम खाएको तस्बिर सार्वजनिक गरेपछि नेपालीहरू भावुक भइरहेका छन् ।

ममदानीले लोकतान्त्रिक समाजवादको सिद्धान्तलाई अंगीकार गरेका छन् । त्यसअन्तर्गत उनले निःशुल्क शिशु स्याहार, निःशुल्क बसयात्रा, घरभाडालाई सुलभ बनाउने, ढाड सेक्ने महँगीबाट राहतका लागि सरकारी किनारा पसल खोल्ने लगायतका योजनाको घोषणा गरेकाले कामकाजी वर्गका मतदाता उनीबाट प्रभावित भए । धनीहरूमाथि कर लगाएर त्यसबाट उठेको पैसा राज्यका सुविधाहरू जनतालाई उपलब्ध गराउने वाचा उनले गरेका छन् । उनको यस नीतिलाई नेपालका कम्युनिस्ट वामपन्थीहरूले आफ्नै जस्तो ठानेका छन् ।

तर, ममदानीको यो विजय अमेरिकाका अन्य क्षेत्रमा पनि सम्भव छ त ? छोटो उत्तर हो, छैन । त्यसका कारणहरूको बारेमा तल चर्चा गरिनेछ ।

वास्तवमा ममदानीका नीति र सन्देश न्यूयोर्क सिटीका डेमोक्रेटबहुल नीला क्षेत्रबाहेक अन्यत्र लागू हुन गाह्रो छ ।

डेमोक्य्राटहरूले ममदानीको सहज, आकर्षक र जनमैत्री शैली, सामाजिक सञ्जालमा देखाएको कौशल र मतदाताले सजिलै सम्झन सक्ने सादा तर प्रभावशाली वाचा गर्ने रणनीति सिक्नुपर्छ ।

तर, ममदानीको नीतिगत विचार र उनी आबद्ध डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिका (डीएसए) को मञ्च कट्टर वामपन्थी हो र राजनीतिक रूपमा विषाक्त छ । यो संसद् र ह्वाइट हाउस जित्नका आवश्यक रिपब्लिकन र अनिर्णित मतदाता भएको क्षेत्रमा लोकप्रिय हुन सक्दैन ।

ममदानीका विचार अमेरिकाका अन्य क्षेत्रमा किन स्वीकार्य हुँदैनन् भन्ने कुरालाई यहाँ १० वटा बुँदामा उल्लेख गरिएको छ ।

१) न्युयोर्क सिटी असामान्य रूपमा डेमोक्रेटिकबहुल क्षेत्र हो : त्यहाँ डेमोक्य्राटहरू रिपब्लिकनभन्दा ४० अंकले बढी छन् ।

मेयरको चुनावमा ६६ प्रतिशत मतदाताले डेमोक्य्राटिक पार्टीलाई समर्थन गरेका छन् (जुन देशभरको भन्दा २२ अंक बढी हो) जबकि २५ प्रतिशत मात्र रिपब्लिकन पार्टीतिर झुकाव राख्छन् (त्यो अन्यत्रभन्दा २४ अंक कम हो) ।

ममदानी शहरभित्र लोकप्रिय भए पनि देशव्यापी रूपमा सबैभन्दा अलोकप्रिय डेमोक्रेटमध्ये एक हुन् । राष्ट्रिय स्तरमा उनको समर्थन दर माइनस १४ अंक छ ।

२) ममदानीले ह्यारिसको भन्दा कमजोर नतिजा ल्याए : प्रारम्भिक अनुमान अनुसार ममदानीले ५० प्रतिशतभन्दा केही बढी मात्र मत पाए जुन गत वर्ष भएको राष्ट्रपति निर्वाचनमा कमला ह्यारिसको ६८ प्रतिशतभन्दा कम हो । १८ अंकको भिन्नता निकै बढी हो । ममदानीले गर्ने किसिमको राजनीतिले न्युयोर्कजस्तो डेमोक्रेटबहुल क्षेत्रमा पनि अपार समर्थन ल्याउन सक्दैन भने कन्जर्भेटिभहरू बस्ने क्षेत्रमा त झन् असफल हुनेछ ।

३) डीएसएको मञ्च अत्यधिक उग्र छ : डीएसएको घोषणापत्रमा कारागारहरू बन्द गरी सबै कैदीहरूलाई मुक्त गर्ने, प्रहरीलाई निःशस्त्र पार्ने, अमेरिकी सिनेट खारेज गर्ने र व्यापार व्यवसायहरूलाई राष्ट्रियकरण गर्ने जस्ता प्रस्तावहरू छन् । यी विचारहरू रिपब्लिकनहरूका लागि डेमोक्रेटविरुद्धका चुनावी विज्ञापनको जस्तै हुन् ।

४) ममदानी स्वयं पनि ती चरम विचारहरूबाट टाढै रहे : आफूलाई गर्वका साथ डीएसए सदस्य भने पनि ममदानीले उनीहरूको अधिकांश विवादास्पद नीतिहरूलाई प्रचारमा उपयोग गर्न अस्वीकार गरे । उनेले प्रहरीलाई बजेट नदिने अघिल्लो अडान फिर्ता लिए र न्युयोर्क पुलिस डिपार्टमेन्टको जनशक्ति अहिले जति छ त्यति नै राख्ने बताए । ममदानी जस्ता डीएसएका सदस्यले डेमोक्रेटबहुल न्युयोर्कमा समेत मध्यमार्गी धार अपनाउन बाध्य हुनुपरेको भन्दा उनी जस्ता उम्मेदवारले रिपब्लिकनबहुल मतदाता भएको क्षेत्रमा उठ्नु लाभदायक हुँदैन ।

५) ममदानीलाई श्रमिक वर्गले नभई उच्च शिक्षित र धनी मतदाताले समर्थन गरे : प्रारम्भिक परिणाम अनुसार, माम्दानीले ५५ प्रतिशत शिक्षित मतदाताको भोट पाए तर श्रमिक वर्गको केवल ३८ प्रतिशत मत पाए । शिक्षित मतदातामाझ डेमोक्रेटहरूको प्रभाव सीमापार पुगिसकेको छ र श्रमिक वर्ग अहिले डेमोक्रेटिक पार्टीबाट टाढिन थालेका छन् । ५८ प्रतिशत श्रमिक वर्गका मतदाताले डेमोक्रेटिक पार्टी उग्रवामपन्थी हुँदै गएको बताएका छन् भने जम्मा ३४ प्रतिशतले डेमोक्रेटहरू श्रमिकसँग जोडिएको बताएका छन् । ममदानी र डीएसएको राजनीतिलाई अँगाल्दा यो खराब परिस्थिति झनै बिग्रनेछ ।

६) मूलधारे डेमोक्रेटहरूले समाजवादी नभइकनै निर्वाचन अभियान चलाएर जिते : मध्यमार्गी डेमोक्रेटहरू भर्जिनियाकी एबिगेल स्पानबर्गर र न्युजर्सीकी मिकी शेरिलले गभर्नरको निर्वाचनमा ऐतिहासिक विजय प्राप्त गरे । स्पानबर्गरले रिपब्लिकन पार्टीको पकडमा रहेको भर्जिनियामा डेमोक्रेटिक पार्टीलाई जिताइन् । यी दुवै महिलाले न्युयोर्क शहरभन्दा निकै बढी प्रतिस्पर्धात्मक निर्वाचन क्षेत्रमा दोहोरो अंकको विजय हासिल गरे । राष्ट्रपति निर्वाचनमा ह्यारिसले ल्याएको भन्दा बढी मत यिनीहरूले ल्याए । जीवनयापन खर्चको समस्यालाई उनीहरूले ममदानीको जस्तै गरी उठाए पनि उग्रवामपन्थ भन्दा पनि सेन्टर लेफ्टको दृष्टिकोण अपनाएका थिए ।

७) उग्रवामपन्थले अनिर्णित मतदातालाई फकाउन सक्दैन : ममदानीले मेयरको पद रिपब्लिकन पार्टीबाट डेमोक्रेटिक पार्टीमा ल्याएका हैनन् । उनले सुरक्षित सिट नहारेका मात्र हुन् । उग्रवामपन्थले कडा टक्कर दिने आमनिर्वाचन जित्नै सक्दैन । सन् २०१८ देखि उग्रवामपन्थी उम्मेदवारहरूले हाउस अफ रिप्रेजेन्टेटिभ्समा रिपब्लिकन पार्टीका कुनै पनि सिट डेमोक्रेटहरूका लागि जिताएका छैनन् । तर, मध्यमार्गी नवडेमोक्रेटहरूले ५० वटा सिट डेमोक्रेटिक पार्टीलाई जिताएका छन् । सन् २०२४ मा लोकतान्त्रिक समाजवादी उम्मेदवारहरू प्राइमरीमा जित्ने उम्मेदवारमध्ये जम्मा १ प्रतिशत थिए । आमनिर्वाचनमा उनीहरू प्रतिस्पर्धामै थिएनन् ।

८) न्युयोर्क शहरबाहिरका डेमोक्रेटिक मतदाताहरू समाजवादी हैनन् : सन् २०२८ मा डेमोक्रेटिक पार्टीका प्राइमरी भोटरमध्ये जम्मा ५ प्रतिशतले आफूलाई समाजवादी भन्ने गरेका छन् । ६१ प्रतिशत डेमोक्रेटहरू समाजवादी प्रणालीतर्फ जानुभन्दा पूँजीवादलाई सुधार गर्नु सही हुने ठान्छन् । ६५ प्रतिशत डेमोक्रेटहरू अवैध रूपमा सीमाबाट आउनेलाई फौजदारी मुद्दा नलगाउने वा इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्टलाई भंग गर्ने भन्दा पनि अमेरिकाको आप्रवासन प्रणालीलाई सुधार गर्नुपर्ने धारणा राख्छन् । सरकारी स्वामित्वका किराना पसल खोल्नु भन्दा पनि कृत्रिम मूल्यवृद्धि र भन्सार शुल्कमा वृद्धिको विरोध गर्नुपर्ने ठान्छन् ।

९) डेमोक्रेटिक मतदाताहरू शुद्ध विचारधारा भएका भन्दा पनि जित्न सक्ने उम्मेदवार चाहन्छन् : उग्रवामपन्थ अपनाउँदा प्राइमरी निर्वाचन जित्न सकिने भनी धेरैजसो डेमोक्रेट उम्मेदवारहरूले धारणा बनाएका छन् । प्राइमरी जितेपछि आमनिर्वाचनको हिसाबकिताब मिलाउँदा भनी उनीहरूले सोचिरहेका छन् । तर, यो गम्भीर भूल हो । रिपब्लिकनहरू भन्दा विपरीत डेमोक्रेटिक पार्टीका प्राइमरी मतदाताहरूले प्रगतिशील विचारधारा बोकेका उम्मेवार भन्दा पनि निर्वाचन जित्न सक्ने उम्मेदवारहरूलाई २२ अंकको मार्जिनले छान्ने गरेका छन् । सन् २०१९ मा कमला ह्यारिसले राष्ट्रपतिका लागि डेमोक्रेटिक पार्टीको प्राइमरीमा लड्दा उग्रवामपन्थीको दबाबलाई थेग्न नसकी उनीहरूको एजेन्डालाई अँगाल्दा आरम्भमै बाहिरिनुपरेको थियो ।

१०) डेमोक्रेटिक मतदाताहरू पार्टीलाई अझै मध्यमार्गी बनाउन चाहन्छन् : ४५ प्रतिशत डेमोक्रेट र डेमोक्रेटतिर झुकाव राख्ने स्वतन्त्र मतदाताहरू पार्टीलाई मध्यमार्गी विचारधारातर्फ डोर्याउन चाहन्छन् । सन् २०२१ यता त्यो सोच भएका मानिसको संख्या ११ अंकले बढेको छ । पार्टीलाई अझै उदारवादी बनाउनुपर्ने इच्छा राख्ने व्यक्तिहरूको संख्या २९ प्रतिशतले घटेको छ ।
डेमोक्रेटिक पार्टीको राजनीतिमा दुईवटा आधारभूत परियोजनाहरू चलिरहेका छन् । उग्रवामपन्थीहरूको परियोजनालाई बर्नी स्यान्डर्स र एलेक्जेन्ड्रिया ओकासियो कोर्तेज जस्ता राष्ट्रिय स्तरका राजनीतिकर्मीहरूले सम्हालिरहेका छन् ।

तर, तिनीहरूको भन्दा पनि महत्त्वपूर्ण परियोजना सेन्टर लेफ्टले चलाइरहेको छ । उसले रिपब्लिकनहरूको पकडमा रहेको सिट जित्ने र राष्ट्रपति डोनल्ड ट्रम्प तथा उनको मेक अमेरिका ग्रेट अगेन अभियानलाई रोक्ने प्रयास गरिरहेका छन् ।

उग्रवामपन्थीहरूको दृष्टिकोणले त्यस परियोजनालाई अघि बढाउन नसक्ने मात्र नभई यसलाई अझै गाह्रो बनाउने एक दशकदेखिको प्रमाण उपलब्ध छ ।

त्यसैले अमेरिकालाई उग्रदक्षिणपन्थीहरूबाट जोगाउनका लागि ममदानी जस्ता उग्रवामपन्थी समर्थकहरूले अडचन मात्र पैदा गर्नेछन् ।

थर्डवे डट् ओआरजीमा प्रकाशित सामग्रीको अनुवाद