
एजेन्सी । कृत्रिम बुद्धिमत्ता (एआई) को प्रतिस्पर्धामा चीनले अमेरिकालाई पछि पार्ने एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङले चेतावनी दिएका छन् ।
ह्वाङले फाइनान्सियल टाइम्सको फ्युचर अफ एआई समिटको अवसरमा उक्त पत्रिकासँग कुरा गर्दै चीनले एआई प्रतिस्पर्धा जित्ने बताए ।
‘एआई क्षेत्रमा चीन अहिले अमेरिकाभन्दा ‘न्यानोसेकेन्ड’ मात्र पछाडि छ,’ ह्वाङले बताए ।
‘अमेरिकाले विश्वभरका डेभलपरहरूलाई आकर्षित गर्दै तीव्र गतिमा अघि बढेर जित्नु अत्यावश्यक छ,’ उनले थपे ।
बजार पूँजीकरणको आधारमा एनभिडिया विश्वकै सबैभन्दा मूल्यवान कम्पनी हो । ऊ एआई चिप्सको अग्रणी उत्पादक हो ।
गत अक्टोबर महिनामा ह्वाङले चीनका विशाल डेभलपर आधारसहित एनभिडियाको प्रणालीमा निर्भर रहेमा अमेरिकाले एआई प्रतिस्पर्धामा जित्न सक्ने बताएका थिए । तर, चीन सरकारले एनभिडियालाई आफ्नो बजारमा पहुँच नदिएको उनले दुःख व्यक्त गर्दै भनेका थिए ।
एनभिडियाद्वारा उत्पादित चीनको उन्नत एआई चिप्समा पहुँच अहिले पनि अमेरिका र चीनको प्रविधिक प्रतिस्पर्धाको मुख्य विवादको विषय बनेको छ किनकि दुवै देश अत्याधुनिक कम्प्युटिङ र एआईको वर्चस्वका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
‘अमेरिका यो एआई प्रतिस्पर्धामा जितोस् भन्ने हामी चाहन्छौं,’ ह्वाङले गत महिना वाशिङटनमा आयोजित एनभिडिया डेभलपर सम्मेलनमा भने, ‘यसमा कुनै शंका छैन ।’
‘विश्व अमेरिकी प्रविधि प्रणालीमा आधारित होस् । तर, हामी चीनमा पनि हुनुपर्छ । त्यहाँका डेभलपरहरूलाई पनि समावेश गर्न सक्नुपर्छ । अमेरिकालाई विश्वका आधा एआई डेभलपरहरू गुमाउन बाध्य बनाउने नीति दीर्घकालीन रूपमा हानिकारक हुन्छ,’ उनले थपे ।
एनभिडियाका अत्याधुनिक ब्ल्याकवेल चिप्सहरू अमेरिकी ग्राहकहरूका लागि मात्र सुरक्षित राखिनुपर्ने अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आइतबार प्रसारित एक अन्तर्वार्तामा बताएका थिए ।
एनभिडियाले अहिलेसम्म चीनमा ती चिप्स बिक्री गर्न अमेरिकाबाट निर्यात अनुमति मागेको छैन । कम्पनीप्रति चीनको नकारात्मक दृष्टिकोणका कारण त्यस्तो अनुमति नमागिएको ह्वाङले बताएका थिए ।
अमेरिकाले चीनलाई एनभिडियासँग व्यापार गर्न अनुमति दिने तर सबैभन्दा अत्याधुनिक सेमिकन्डक्टरहरूका सन्दर्भमा भने नदिने ट्रम्पको भनाइ छ ।








प्रतिक्रिया