सडकपेटीमा जुत्ता पालिस गरेरै छोरालाई विविएससम्म पढाए सेवलरामले
काठमाडौ । शङ्करदेव कलेज अगाडिको सडकपेटीमा बिहानैदेखि मैलो कपडा लगाएर जुत्ता टल्काउँदै हुन्छन् सेवलराम । महोत्तरी गौशालाका स्थायी बासिन्दा सेवलरामलाई अरुको जुत्ता टल्काउनैमा बढी ध्याउन्न हुने गर्छ ।
काठमाडौंका सडक, पानी पर्दा हिलो र घाम लाग्दा धुलो नहुने भन्ने कुरै भएन । पानी परेको दिन हिलो र घाम लागेको दिन सडकको धुलो उनको शरीरमा लाग्दै गर्दा उनलाई त्यसको पर्वाह हुदैन । उनको ध्यान आज कति कमाइ हुने हो र त्यसले परिवारको पेट पाल्न सक्छु कि सक्दिन भन्नेमै हुन्छ ।
करिब ५ हजार रुपैयाँ लगानी गरेर उनले सडकमा जुत्ता पालिस गर्ने काम सुरु गरेका हुन् । उनी त्यो ठाउँमा बस्न लागेको ३० बर्ष नाघिसकेको सेवलराम बताउँछन् ।
सानो लगानी र असुरक्षित स्थानको ब्यवसाय भएपनि उनको दैनिक कमाइ भने राम्रै छ । ‘दैकि ५ सय रुपैयाँ जति कमाइ हुन्छ, कुनै दिन अलि बढी र कुनै दिन कम पनि हुन्छ,’ उनी भन्छन् ।
दैनिक आम्दानी दैनिक खर्च धान्नमै सकिने उनको भनाइ छ । मासिक डेराभाडामा नै उनले ८ हजार रुपैयाँ खर्चनु परेको बताउँछन् ।
उनको निकै ठूलो परिवार काठमााडौंमा संयुक्त रुपमा बस्दै आएको छ । परिवारमा २ छोरा, २ भाइ एवम् श्रीमती र आमा छन् । छोरीको भने विवाह गरिसकेका छन् । आमाको उमेर ९० बर्ष पुगिसकेको सेबलरामले बताए ।
‘परिवार चलाउन पनि कमाउनै पर्यो, कमाउनलाई केही काम गर्नै पर्यो, यसैले दैनिक जुत्ता मर्मत गर्ने गरेको छु,’ उनी भन्छन् ।
आफूले दुःख गरेर भएपनि उनले आफ्ना सन्तानलाई राम्रो शिक्षा दिलाएका छन् । ‘छोराले भर्खरै बिबिएस सिध्यायो, निकै खुसी छु,’ उनी भन्छन् ।
सडकपेटीमा यस्तो काम गर्दाका उनका आफ्नै प्रकारका समस्या छन् । ‘कहिले महानगरको सास्ती त कहिले भीडभाडले सताउँछ,’ उनी भन्छन् । तर, आफ्नै ब्यवसाय गरेर दैनिकी चलाउन सकेकोमा भने उनी दंग छन् ।
शीप र क्षमता अनुसारको काम पाउनु पर्ने उनको बुझाइ छ । ‘कामलाई सम्मान गर्ने परिपाटी छैन, सरकारी तहबाटै सिपलाई सम्मान गर्ने र त्यही अनुसारको रोजगारीको ग्यारेन्टी गर्ने व्यवस्था मिलाउन सके सबैलाई राम्रो हुन्थ्यो नि,’ उनी भन्छन् ।
उनले आफ्नो बुतावाट नयाँ अबसरको खोजी भने नगरेका होइनन् । केही समय अगाडी सेवलराम रोजगारीकै खोजिमा चीनको खासा पुगेको सम्झन्छन् ।
‘त्यहाँ त सडकपेटीमा काम गर्नेलाई पनि ब्यवस्थित स्थानको ब्यवस्था गरिएको हुदो रहेछ, र बेग्लै पोशाकको पनि बन्दोबस्त गरिदो रहेछ, हाम्रोमा त्यस्तो केही पनि छैन,’ सेवलरामको गुनासो छ ।