मेयर भएपछि बालेन जनता र मिडियासँग दोहोरो संवादमा देखिएका छैनन् । उनको स्वभाव हेर्दा शक्तिका लागि धेरै प्रयत्न गर्छन् जस्तो नदेखिने राजनीतिक विश्लेषक बताउँछन् । सार्वजनिक हुनभन्दा पनि लुप्त व्यक्ति भएकाले सामाजिक सञ्जालमै रमाएका हुन सक्छन् र भोलिका दिनमा पनि उनी कतै खुल्ने भन्दा पनि गुमनाम नै भएर बस्ने सम्भावनालाई उनको स्वभावले देखाउँछ ।

काठमाडौं । सामाजिक सञ्जालको शक्तिबाट २०७९ को स्थानीय तहको चुनावमा ब्यालेटबाट उदाएका बालेन्द्र शाह (बालेन) सामाजिक सञ्जालकै कारण कमजोर बन्ने संकेत देखिएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन देशबाहिर रहेका ठूलो जनमानसको समर्थन पाएर त्यसैको प्रभावका कारण सामाजिक सञ्जालको शक्तिबाट उदाए ।
सामाजिक सञ्जालमा विकृति, बिसंगती, कुशासन, पुराना राजनीतिक दल र तीनका नेताको आलोचना गरेर बालेनको उदय भएको थियो ।
सामाजिक सञ्जालको बलबाट उदाएका शाह पछिल्लो समय भने सामाजिक सञ्जालमै लेखेका शब्दहरुका कारण आलोचित भइरहेका छन् ।
आफूलाई समर्थन गर्ने समूहलाई वितृष्णा हुने गरी लेखिएका स्टाटस र सर्वसाधारणको पहुँचमा नहुने उनको चरित्रका कारण आगामी दिनमा ’एकताका बालेन थिए’ भन्ने अवस्थामा त पुग्दैनन् भन्ने प्रश्न उब्जिएको छ ।
बालेनले पछिल्लो तीन वर्ष अरुलाई नगन्ने र आफू नझुक्ने स्वाभाव देखाएर महानगरमा काम गरिरहेका त छन् । तर, मपाई हुने उनको स्वभावका कारण उनीमाथि भरोषा गरेका सार्वसाधारणमाथि उनीमाथिको रुची कमजोर बन्दै गएको छ ।
स्वतन्त्र रुपमा ठूलो मतसहित चुनाव जितेर आएका बालेनमा राजनीतिक नेतृत्वलाई नटेर्ने घमण्ड बढ्नु स्वभाविक हो ।
राजनीतिक दलको नेतृत्वले गरेको गल्तीलाई गल्ती भन्न नसक्ने र नेतृत्वले जे गर्यो त्यही सही भन्दै जयजयकार गर्ने कार्यकर्ताभन्दा बालेन तुलनात्मक रुपमा ठीक होलान् । तर बालेनमा राष्ट्र प्रमुखदेखि मन्त्री, प्रधानमन्त्रीभन्दा पनि ’ठूलो हुँ’ भन्ने अहमता र जे गरेको छु शतप्रतिशत सही भन्ने घमण्ड देखिएको टिप्पणी हुने गरेको छ ।
राजनीतिक दलका नेताले आफू राम्रो देखिन अरुलाई गाली गर्ने गरेकै बाटो अवलम्बन गर्नु बालेनको गलत कदम हो । अरुभन्दा फरक भएर बालेनमाथि आम रुपमा भरोषा देखिएको हो । तर आफूले राम्रो गर्दा अरुको नराम्रो काममाथि टिप्पणी गर्न आवश्यक छैन भन्ने सकारात्मक सोच बालेनमा देखिँदैन ।

बालेनमा राजनीतिक नेतृत्वलाई देखि नसहने प्रवृत्ति छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीमाथि व्यक्तिगत रुपमै तल्लोस्तरको गाली गलौज गरेर आफ्नै स्टाटजमा भ्युज बढाउँदै बालेन मख्ख परे ।
सामाजिक सञ्जालमा आएको प्रतिकृया, उनका फलोअर, जे लेखे पनि लाखौंसम्म पुग्नुलाई उनले उपलब्धि ठाने । त्यसले आफ्नै छवि र उच्च नैतिकता गुम्दै गएको बारे बालेनले कहिल्यै सोचेनन् ।
आफ्नो सामाजिक सञ्जालमा कमेन्ट, लाइक र सेयर गरेर बसेका सामाजिक सञ्जाल प्रयोकर्तामध्ये १० प्रतिशत पनि आफ्ना भोटर छैनन् र होइनन् भनेर उनले सायद सोचेका छैनन् होला ।
युवा उमेरका, फरक स्वभावका हुनुका साथै अप्रत्यासितरुपमा उदाएका महानगरको मेयर भएकोले उनलाई सम्पूर्ण देशवासीदेखि विदेशमा रहेका नेपालीले पछ्याउनु स्वभाविक हो ।
कुनै सञ्चारमाध्यममा समाचार आउनुभन्दा धेरै आफ्नो एउटै स्टाटास बढी प्रभावकारी छ भन्दैमा नैतिकता बिर्सने र बेलगाम जे मन लाग्यो त्यही लेख्ने छुट उनलाई छैन । किनकी, उनी एक सामान्य र्यापर वा नागरिक होइनन् । देशको संघीय राजधानी रहेको काठमाडौं महानगरका मेयर उनीमाथि धेरैले आशा गरेका छन् ।

बालेनले शनिबार राति अमेरिका, भारत, चीन र नेपालका प्रमुख राजनीतिक दललाई सम्बोधन गरेर अंग्रेजीमा अपशब्दसहित गाली गर्दै स्टाटस राखे । मदिराको लतमा झ्याप भएर फेसबुकमा स्टाटस लेखेका बालेनले आधा घण्टापछि त्यसलाई डिलेट गरे। तर, उनले गल्तीको प्रायश्चितमा अहिलेसम्म माफी माग्न आवश्यक ठानेका छैनन् ।
सामाजिक सञ्जालमा मात्रै देखिने बालेनमाथि, गरिबलाई खेदेर स्टन्टबाजी गर्ने र निमुखालाई पीडा दिएर रमाउने व्यक्तिको रुपमा लुसिफरको चरित्रसँग तुलना गरिएको छ । आफूमाथिको आरोपलाई सहजरुपमा लिन नसक्ने बालेनले लुसिफरसँग आफूलाई तुलना गरिएको भन्दै आक्रोश पोखे । २२ अक्टोवरमा बालेनले एमाले कांग्रेसले देश बिगारेको भन्दै ‘चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्छौ, लाज लाग्दैन ?’ भन्दै स्टाटस राखे ।
त्यसो त आफूले गरेका काम पनि बालेनले सामाजिक सञ्जालबाटै अवगत गराउने गरेका छन् । उनलाई आफूले गरेको काममा मिडिया चाहिएको छैन, मास मिडियामा सिधै आउटपुट देखाउने र काम गरिरहेको देखाउन पनि बेलाबेला पोष्ट गरिहेका छन् ।
त्यसो त बालेनले यसअघि लेखेका स्टाटस पनि विवादमुक्त भने छैनन् । उनले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै लेखेको स्टाटसले तरंग ल्याएको थियो भने जेनजी आन्दोलनका क्रममा सिंहदरबार जल्नुमा बालेनको हात छ भन्दै आलोचना भइरहेको छ ।
उनीमाथि जेनजी आन्दोलाई उक्साएको, जेनजी आन्दोलनपछि बनेको सरकारलाई आफ्नो इसारामा चलाएको, आन्दोलनमा आफ्नो तर्फबाट भएको कमजोरीको जिम्मा नलिएको, संघीय सरकारलाई मात्रै दोष देखाएर पन्छिने कार्य गर्दै आएको आरोप छ र त्यसमाथि अनुसन्धान हुनुपर्ने आवाज पनि उठिरहेको छ ।
त्यसकारण पनि सामाजिक सञ्जालमा धेरै समर्थको ताली र बिरोधीको गाली उत्तिकै आइरहेको छ ।
बालेनले गत मार्च २४ मा काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले ३ महिनादेखि तलब नपाएको र सरकारले सहयोग नगरेको भन्दै आक्रोसपूर्ण स्टाटस लेख्दै नेताहरुलाई ‘टुकुचामा गाडिदिन्छु’ भन्ने धम्की दिएका थिए ।
उनले त्यतिबेला लेखेका थिए, ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिनादेखि तलब पाको छैन, सरकारको दम्भले । को कोले के के आन्दोलन गर्ने हो, मलाई थाहा छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएनन् भने सबैलाई टुकुचामा गाडिदन्छु । त्यो पछि हेरौँला तिमीहरुको के के तन्त्र हो ।’
बालेन र्यापरका साथै स्ट्रकचरल इन्जिनियर हुन् । उनले सामान्य गायक भएर गीतसंगीतमा दिने योगदान र इन्जिनियरले गर्ने सेवा भन्दा कैयौं गुणा ठूलो योगदान महानगरको मेयरका रुपमा दिएका छन् ।
बालेनले जति काम गरेका छन् त्यो महानगरको इतिहासमै उल्लेख्य काम हुनेछन्, तर समाज सयौं राम्रा काम गर्दागर्दै पनि एउटा नराम्रो काम भयो भने त्यसमाथि उठ्ने औंला हजारौं हुन्छन् । हरेक व्यक्ति सबैमा पूर्ण त हुँदैन तर कमजोरीमा सुधार गर्दै गल्ती नदोहोर्याउने प्रण भने गर्दै जानुपर्छ ।

प्राध्यापक डाक्टर शिशिर सुब्बा सबैको एउटै स्वभाव नहुने र फरक स्वभावका व्यक्तिको रुची तथा काम गर्ने शैली पृथक हुनुलाई स्वाभाविक मान्नुपर्ने बताउँछन् ।
‘कसैलाई बाहिर देखिन मन हुँदैन, सार्वजनिक प्रश्नको सामना गर्न पनि मन हुँदैन र आफ्नो काम खुरुखुरु गर्ने स्वभाव हुन्छ,’ सुब्बाले क्लिकमान्डुसँग भने, ’बालेनको पनि सामाजिक सञ्जालमा रमाउने, त्यसैलाई शक्ति मानेर काम गर्ने स्वभाव देखिन्छ । मिडियालाई महत्व नदिनु, स्वतन्त्र व्यक्ति भएकोले अरु राजनीतिक दललाई नटेर्नु र सुधार हुन नसकेको राजनीतिप्रति वितृष्णा सञ्जालाबाटै देखाइरहेका छन् ।’
सुब्बाले बालेनको कार्यकाल अझै बाँकी रहेकाले राम्रो काम गर्न सके उनले सामाजिक सञ्जालमा के भने भन्ने कुराले खासै अर्थ नराख्ने बताउँछन् ।
‘उनको स्वभाव ठूलो स्वरले नकराउने र आफ्नै हिसाबले काम गर्ने देखिन्छ । मेयरको रुपमा अझै कार्यकाल बाँकी भएकोले राम्रो काम गरे सबैले धन्यावाद दिन्छन् । मेयरबाट बाहिरिएपछि के कसो गर्लान् भन्ने विषयमा हामीले टाउको दुखाइ रहुनपर्ने आवश्यकता छैन,’ उनले भने ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि राजनीतिक भविष्य नभएका र भोलिका दिनमा जनतामा गएर राजनीति गर्ने मनसाय नभएका व्यक्तिमा हुने स्वभाव बालेनमा देखिएको टिप्पणी गर्छन् । भोलिका दिनमा आफ्नै दुनियामा रमाउने खालको भएकोले बालेनले मिडिया फेससमेत नगरेको हुन सक्ने आचार्य बताउँछन् ।
‘अहिलेसम्म उनले कहीँ कतै दोहोर संवाद गरेको देखिएको छैन । यो स्वभाव भनेको लामो राजनीतिप्रतिको अरुची हुन सक्छ,’ आचार्यले भने, ’भोलि आफ्नै दुनियाँमा रमाउने व्यक्ति बाहिर देखिइरहनु पर्ने भन्ने नहुन सक्छ । ’
बालेनले मेयरको रुपमा राम्रो काम गरिरहेको भन्दै आचार्य बालेनजस्ता व्यक्तित्वले पटक पटक अवसर खोजिरहन्छन् भन्ने नहुने तर्क गर्छन् ।

‘सामान्य रुपमा हेर्दा कतै अन्तर्क्रिया नगर्ने, मिडिया फेस गर्ने खुबी नदेखाउने यस्ता रहस्यमयी व्यक्तिले पटक पटक अवसर खोजिरहन्छ भन्ने हुँदैन,’ आचार्य भन्छन्, ‘उनले मेयरमा काम राम्रो गरेका छन् त्यसमा दुईमत छैन ।’
तर, काठमाडौं महानगरमा धेरै मत पाएका निर्वाचित जनप्रतिनिधिले सामाजिक सञ्जालमा व्यक्त गरेको विचारको भाषा र शैलीलाई भने सभ्य समाजले स्वीकार गर्न नसक्ने उनले बताए । जनताको मत लिएका व्यक्तिले अरु जनप्रतिनिधिमाथि सम्मान नगर्दा त्यसबाट आगामी पुस्ताले के सिक्छ भन्ने महत्त्वपूर्ण हुने उनी बताउँछन् ।
’बालेनले सामाजिक सञ्जालमा लेखेका शब्द, नेतालाई गाली गर्ने शैलीलाई जुन ढंग र तहबाट प्रस्तुत गरेका छन् त्यसलाई सभ्य समाजले स्वीकार गर्न सक्दैन,’ आचार्यले भने, ’उनको काम गराई राम्रो हुँदाहुँदै पनि जनताले मत पाएका एक जनप्रतिनिधिले अरुलाई सम्मान नगर्ने, अरुको अस्तित्व स्वीकार नगर्ने प्रवृत्ति सही होइन । यसले उनीबाट नयाँ पुस्तासहितकाले के प्रेरणा लिन्छन् भन्ने महत्वपूर्ण हुन्छ ।’
बालेनले देशको कमाण्ड सम्हाल्नु पर्ने मत जेनजी आन्दोलनपछि सरकार गठनको समयमा पनि चर्को रुपमा देखिएको थियो । डिस्कोर्ट लगायत सामाजिक सञ्जालमा सरकारको नेतृत्व बालेनले लिनुपर्छ भन्ने आवाज उठे पनि उनी त्यसँग सम्बन्धित छलफलमा समेत सहभागी भएनन् । अर्थात् उनी त्यस्तो जटिल अवस्थामा पनि दोहोरो संवादमा आएनन्, सामाजिक सञ्जालबाटै निर्देशन जारी गरिरहे । अहिले पनि उनले राजनीतिक दल खोलुन् भन्ने धेरैले चाहन्छन् । तर, उनको स्वभाव भने त्यस्तो देखिएको छैन । विश्लेषक आचार्य बालेनको स्वभाव भोलिका दिनमा गुमनाम नै भएर बस्ने खालको देखिएको टिप्पणी गर्छन् ।
दोहोरो संवादमा नआउने बालेनलाई फेरि शक्तिमा आउन वा फेरि मेयर नै भएर आउन यसले सहयोग नगर्ने आचार्य बताउँछन्।
‘मेयर बालेन पदमा हुँदाहुँदै सिधा जनतासँग संवादमा आएका छैनन् । उनको स्वभावले फेरि शक्तिमा आउने वा पुनः मेयर भएरै आउन यसले सहयोग गर्दैन,’ आचार्यले भने, ’त्यसो त उनी पहिलेदेखि नै खुलेका व्यक्ति होइनन्, लुकेको व्यक्तित्व भएकोले त्यतै रमाएका हुन् । उनी भोलिका दिनमा कतै नखुल्ने र गुमनाम नै भएर बस्ने सम्भावना उनकै स्वभावले देखाउँछ ।’

कोर टिममा खटपट
बालेनले सामाजिक सञ्जालको प्रस्तुतिले उनको कोर टिममा असन्तुष्टि चुलिएको छ । यद्यपि, कोर टिममा पनि उनले गल्ती स्वीकारेका भने छैनन् ।
‘देशका बारेमा चिन्ता गर्ने असल मन भएका व्यक्ति बालेन हामीले अघि सारेको व्यक्ति हो, तर पछिल्लो समय उनले सामाजिक सञ्जालमा जे जस्ता पोस्ट गरे त्यसपछि अब यो मान्छेबाट देश चल्दैन भन्नेमा म पुगिसकेको छु,’ कोरा टिममा रहेर सहयोग गरिरहेका एक सदस्यले भने, ‘बालेनको विकल्प नखोजी हाम्रो अभियान अघि बढ्दैन ।’
कोर टिमका केही सदस्यहरूले भने डिफेन्स गर्नुपर्ने तर्क पनि अघि सारिरहेका छन् । तर अधिकांश सदस्यहरु भने बालेनले आफूहरुको अभियानको नेतृत्व गर्न नसक्ने निचोडमा पुगेका छन् ।
जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले २०८१ फागुन २१ गते निर्वाचन घोषणा गरिसकेको छ ।निर्वाचनमा सहभागी हुनका लागि दल दर्ता गर्ने समय समाप्त हुन दुई साता पनि बाँकी छैन । तर बालेनले दल खोल्नेबारे कुनै तयारी गरेका छैनन् ।
‘बालेनले दीर्घकालसम्म राजनीति गर्ने सोच बनाएका छैनन्, यदि बनाएका हुन्थे भने दल खोलेर नयाँ पुस्ताको अभियानलाई सशक्तरुपमा अघि बढाउँथे,’ कोर टिमका अर्का सदस्यले भने, ‘उनी राजनीतिक चरित्रका भन्दा चिल्ड टाइपका र व्यक्तिगत स्वतन्त्रतामा रमाउने व्यक्ति हुन् । त्यसैले कहीलेकाहीँ आबेग र उत्तेजनामा आएर आफ्नो पदीय मर्यादा र नागरिकको भरोसा भुलेर सामाजिक सञ्जालमा पोस्ट गर्छन् ।’
बालेनले सामाजिक सञ्जालमा अन्टसन्ट पोष्ट गरेपछि आजित भएका उनका कोर टिमका सदस्यहरुले कोर टिमको सहमति लिएर मात्रै पोष्ट गर्न पटक पटक आग्रह गरे पनि उनले त्यसको पालना गरिरहेका छैनन् । बालेनका गतिविधिले हामी कस्तो नेता जन्माउँदै छौं भन्ने प्रश्न उब्जिएको छ ।







प्रतिक्रिया