हमासले युद्धविराम पालन नगरे पूरै ध्वस्त बनाइदिने ट्रम्पको चेतावनी

1.9k
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायलसँग हमासले गरेको गाजा युद्धविराम सम्झौता सफल नभएमा पूरै ध्वस्त बनाइदिने चेतावनी दिएका छन् ।

‘हमास राम्रो बनोस्, व्यवहार सुधारोस् र राम्रो तरिकाले बसोस् भनेर हमाससँग सम्झौता गरेका हौं,’ अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बनिजीलाई ह्वाइट हाउसमा आतिथ्य प्रदान गर्ने क्रममा ट्रम्पले पत्रकारहरूलाई बताए ।

‘उनीहरूले त्यस्तो नगरेमा हामी गाजा जान्छौं र आवश्यक परेछ भने उनीहरूलाई नष्ट गरिदिनेछौं । उनीहरू नष्ट हुनेछन् र त्यो कुरा उनीहरूलाई थाहा छ,’ उनले थपे ।

अमेरिकाका दुई शीर्ष कूटनीतिकर्मीहरू आइतबार भएको हिंसापछि संकटमा परेको युद्धविरामलाई ध्वस्त पार्ने सम्भावना भएकाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भेट्न गएपछि ट्रम्पका टिप्पणीहरू आएका थिए ।

तर, हमासविरुद्ध अमेरिकाका सैनिकहरूले भिडन्त नगर्ने र गाजामा युद्धविरामका लागि अन्तर्राष्ट्रिय शान्ति सेनामा सामेल हुन राजी भएका दर्जनौं देशहरू त्यहाँ जान चाहेको ट्रम्पले बताए ।

‘त्यसका साथै मैले अनुरोध गरें भने इजरायल दुई मिनेटमा भित्र जान तयार हुन्छ,’ ट्रम्पले थपे, ‘तर, अहिले हामीले त्यसो भनेका छैनौं । हामीले हमासलाई मौका दिनेछौं र हिंसा अलि कम हुने आशा छ । उनीहरू हिंस्रक मान्छे हुन् भन्ने कुरा तपाईंलाई थाहै छ ।’

हमास अहिले धेरै कमजोर भएको र विशेषगरी क्षेत्रीय समर्थक इरानले यसपालि उनीहरूलाई सहयोग गर्न नसक्ने सम्भावना रहेको ट्रम्पको भनाइ छ । अमेरिका र इजरायलले गरेका आक्रमणका कारण इरान हच्किएको उनले बताए ।