अमेरिकामा ट्रम्पविरुद्ध किन निकालियो नो किङ्स विरोध प्रदर्शन ?

84
Shares

एजेन्सी । अमेरिकाको डोनल्ड ट्रम्प प्रशासनका नीतिहरूविरुद्ध अमेरिकाभरि शनिबार भएका प्रदर्शनहरू हालसम्मकै सबैभन्दा ठूलो मानिएको छ ।

राष्ट्रपति ट्रम्प निर्वाचित अधिकारी भन्दा पनि राजा जस्तो व्यवहार गर्दैछन् भन्ने आरोप लगाएर प्रदर्शन गरिएको हो ।

यो प्रदर्शन ‘नो किङ्स’ नामक प्रगतिशील संगठनहरूको सञ्जालले आयोजना गरेको दोस्रो ठूलो विरोध आन्दोलन थियो । त्यसले ट्रम्पको एजेन्डाविरुद्ध संघर्ष गर्दै आएको छ ।

आयोजकहरूले करिब २६ सय नो किङ्स कार्यक्रमहरू अमेरिकाका लगभग सबै राज्यहरूमा आयोजना गरिएको र यस पटकको सहभागिता गत जुन महिनामा भएका ५० लाख प्रदर्शनकारीभन्दा बढी हुने अनुमान गरिएको जनाएका थिए ।

गर्मी याममा भएका प्रदर्शनहरूपछि ट्रम्प प्रशासनले लिएका विभिन्न विवादास्पद कदमहरूले यस आन्दोलनलाई अझ ऊर्जाशील बनाएको आयोजकहरूले बताएका छन् । आप्रवासीहरूलाई मास्क लगाएका आईसीई अधिकारीहरूद्वारा व्यापक रूपमा पक्राउ गरिएको, संघीय शिक्षा र वातावरणीय स्रोतहरूमा कटौती गरिएको र निर्वाचन क्षेत्र हेरफेर गरिएको विषयलाई विरोध गरिएको हो ।

यी प्रदर्शनहरूमा तीनवटा दृश्य देखिए ।

१. ‘अमेरिका बचाऔं’ भनी एकताबद्ध सन्देश

प्रदर्शनकारीहरूले आप्रवासन नीतिदेखि संघीय र सैन्य हस्तक्षेपसम्मका विभिन्न मुद्दाहरूको विरोध गरे । ती सबै विषयहरू लोकतन्त्र, संवैधानिक अधिकार र स्वतन्त्रताको साझा सन्देशले जोडिएका थिए । ती नै अमेरिकाको स्थापनाका आदर्श हुन् ।

वाशिङटन डीसीमा प्रदर्शनकारीहरूले अमेरिकी संसद् नजिकैको पेन्सिलभेनिया एभेन्यूभरि ‘नो किङ्स, नो टाइरेन्ट्स’ लेखिएका प्लेकार्डसहित प्रदर्शन गरे । धेरैजसोले पहेंलो रंगका कपडा लगाएका थिए । आयोजकहरूले यो रंग एकताको प्रतीक भएको बताए ।

भर्मोन्टका स्वतन्त्र सांसद बर्नी स्यान्डर्सले डीसीमा भएका प्रदर्शनकारीलाई सम्बोधन गर्दै भने, ‘ट्रम्पको शासनकालमा टेक्नोलोजी क्षेत्रका अर्बपतिहरू थप धनी र शक्तिशाली बनेका छन् ।” उनले इलोन मस्क, जेफ बेजोस, मार्क जकरबर्ग र ट्रम्पको शपथग्रहण समारोहमा उनको पछाडि बसेका अन्य अर्बपतिहरूलाई नामै लिएर आलोचना गरे ।

त्यस्तै क्यालिफोर्नियाको सान पाब्लोमा मारिया फ्लोरियानोले आप्रवासन मुद्दालाई मनमा राख्दै प्रदर्शनमा भाग लिइन् । उनले पुतली चित्र भएका टोपी र टिसर्ट लगाएकी थिइन् । उनले भनिन्, ‘आप्रवासन पुतलीजस्तै सुन्दर र साहसिक काम हो ।’

‘उनीहरूको पक्षमा लड्नेहरू पनि छन् भन्ने कुरा आप्रवासीहरूलाई थाहा होस् । सबैले उनीहरूलाई अस्वागतयोग्य ठान्दैनन्,’ फ्लोरियानोले भनिन् । सान पाब्लो क्षेत्रमा आप्रवासीहरूको ठूलो समुदाय बसोबास गर्छ ।

२. ट्रम्प प्रशासन र रिपब्लिकन नेताहरूको प्रतिक्रिया
हाउस स्पिकर माइक जोन्सनले शनिबारको प्रदर्शनलाई अमेरिकाविरुद्धको घृणा सभा भन्दै आलोचना गरे । अन्य रिपब्लिकनहरूले पनि यसलाई देशद्रोही कदमको संज्ञा दिए ।

प्रदर्शन भइरहँदा ट्रम्प ह्वाइट हाउसमै थिएनन्; उनी फ्लोरिडाको आफ्नै मार–ए–लागो रिसोर्टमा थिए ।

कनेक्टिकट हाउसका रिपब्लिकन नेता भिन्सेन्ट क्यान्डेलोराले कनेक्टिकट पब्लिकसँग भने, ‘नो किङ्स’को सन्देश विभाजनकारी छ ।’ उनले प्रदर्शनकारीहरूको सरोकारमा एक्बद्धता नजनाए पनि उनीहरूको अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई समर्थन गरे ।

‘मलाई लाग्छ हाम्रो लोकतन्त्र अझै बलियो छ । उनीहरूलाई अभिव्यक्ति स्वतन्त्रता छ,’ क्यान्डेलोराले भने ।

३. गीत र नृत्यसँगै शान्तिपूर्ण प्रदर्शन
ट्रम्पविरुद्ध प्रदर्शन भएका धेरै ठाउँमा उत्साह, आशा र रमाइलोपन पनि देखियो ।

ओरेगनको पोर्टल्यान्डबाट प्रेरित भएर लस एन्जलस, हार्टफोर्ड (कनेक्टिकट) र अन्य शहरहरूमा मानिसले जनावरको पोशाक लगाएर मार्च गरे । साल्ट लेक सिटी र अन्य ठाउँमा गीत र नृत्य समारोह पनि भए ।

पहिलाका ‘नो किङ्स’ प्रदर्शनहरूझैं यसपटक पनि प्रदर्शनकारीहरूले आफ्नो कपडा, नारा र प्लेकार्डहरूमा क्रान्तिकारी सन्देशहरू लेखे । अमेरिकाको स्थापना नै राजतन्त्रको विरोधमा भएको सम्झाउन उनीहरूले प्रयास गरे ।

जर्जियाको म्याकन सहरमा प्रदर्शनकारीहरूले म्युजिकल ह्यामिल्टन को गीत ‘द स्टोरी अफ टुनाइट’ गाए । भोलिको स्वतन्त्रताको लागि आजको बलिदान र एकताको सन्देश त्यस गीतले दिन्छ ।

प्रदर्शनहरू अधिकांश स्थानमा शान्तिपूर्ण रहे । न्युयोर्क सिटी र वाशिङटन डीसीमा भएका ठूलो भीडका कार्यक्रमहरूमा कुनै गिरफ्तारी भएको थिएन ।

भर्जिनियाका रिपब्लिकन गभर्नर ग्लेन यंकिन र टेक्ससका गभर्नर ग्रेग एबोटले आफ्नो राज्यमा राष्ट्रिय सेना (नेशनल गार्ड) तयारी अवस्थामा राखे ।

‘जनताको सुरक्षाका लागि आवश्यक परे गार्ड तयारी अवस्थामा रहोस् भनेर गभर्नरले अनुमति दिएका छन्,’ यंकिनका प्रवक्ता पिटर फिनोचियोले भने ।

टेक्सस न्यूज रुमका अनुसार, गभर्नर एबोटले अस्टिनमा गार्ड पठाउने निर्णयबारे भनेका थिए, ‘हिंसा र विनाश टेक्ससमा कहिल्यै सह्य हुनेछैन ।’

राजधानी परिसरका प्रवेशद्वारमा प्रहरीहरूले झोला जाँच गरे पनि प्रदर्शनकारीहरूले यसपटक जुन महिनामा भएको ‘नो किङ्स’ प्रदर्शनभन्दा सुरक्षा उपस्थिति कम भएको महसुस गरेका थिए ।

टेक्ससको अस्टिनमा भएको शनिबारको प्रदर्शन शान्तिपूर्ण रह्यो र कुनै गिरफ्तारी नभएको अस्टिन प्रहरी विभागले जनाएको छ ।