मेरो मोबाइल सेनाले सिज गरेको थियो, जेनजीलाई धोकामा पारियो: ओली

665
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनका क्रममा नेपाली सेनाले आफ्नो मोबाइल फोन सिज गरेको खुलासा गरेका छन् । प्रधानमन्त्रीको सपथग्रहण अगाडिसम्म आफूले मोबाइल प्रयोग गर्न नपाएको उनले बताएका हुन् ।

आज सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले पहिलोपटक यो विषय सार्वजनिक गर्दै भने, ‘पदबाट राजीनामा दिएपछि म सेनाको सुरक्षाभित्र रहेँ । यसलाई तपाईंहरू जेसुकै संज्ञा दिन सक्नुहुन्छ, म सेनाको सुरक्षामा थिएँ । प्रधानमन्त्रीको सपथग्रहण अगाडिसम्म मेरो मोबाइल सिज गरिएको थियो । त्यसैले म २७ गते बेलुकासम्म सम्पर्कमा रहिनँ ।’

जेन–जी आन्दोलनपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै ओलीले सो आन्दोलनबारे विस्तृत टिप्पणी पनि गरेका छन् । उनले जेन–जी आन्दोलनलाई तीन भागमा छुट्याएर हेर्ने गरेको बताए ।

‘जेन–जी आन्दोलनका तीन स्पष्ट माग थिए भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना र रोकिएका सामाजिक सञ्जाल खोलिनुपर्ने,’ उनले भने, ‘तर, जेन–जी पुस्तालाई धोकामा पारियो । उनीहरूलाई योजनाबद्ध रूपमा प्रयोग गरी विरोध प्रदर्शनका लागि तयार पारियो ।’

उनका अनुसार जेन–जी आन्दोलनको वास्तविक उद्देश्य प्रधानमन्त्रीको राजीनामा होइन, तर आन्दोलनलाई त्यस दिशामा मोडेर संसद् भवनतर्फ पुर्‍याइएको थियो ।

ओलीले भने, ‘जेन–जीले राजीनामाको माग गरेका थिएनन्, तर उनीहरूलाई धोकामा पारेर संसद् भवनतर्फ धकेलियो ।’