
एजेन्सी । भारतको हरियाणामा प्रहरी अधिकृत सन्दीप कुमारले आत्महत्या गरेका छन् । उनी रोहतक प्रहरीमा साइबर सेलमा कार्यरत थिए ।
उनीअघि आत्महत्या गरेका वाई पुरन कुमारमाथि भ्रष्टाचारको आरोप लगाउँदै सन्दीपले आत्महत्या गरेका हुन् ।
आफ्नो अन्तिम भिडियोमा असई सन्दीपले पूर्व एसपी नरेन्द्र बिर्जानियालाई समर्थन गरेका छन् । बिजार्नियालाई पुरनको आत्महत्यापछि किनारा लगाइएको थियो ।
प्रहरी स्रोतले पीटीआई समाचार संस्थालाई बताएअनुसार, सन्दीपले हवलदार सुशील कुमारको पक्राउमा भूमिका खेलेका थिए । सुशील पुरनका सहयोगी थिए ।
‘असई सन्दीप हाम्रो विभागका मेहनती र इमान्दार व्यक्ति थिए,’ रोहतकका एसपी एसएस भोरियाले पत्रकारहरूलाई बताए, ‘एउटा शरीर फेला परेको भनी हामीले सूचना पाएका थियौं ।’
भिडियो र सुसाइड नोटका बारेमा सोध्दा उनले भने, ‘यस चरणमा केही भन्नु कठिन हुन्छ । फरेन्सिक टोलीले अनुसन्धान गरिरहेको छ ।’
मृत्युअघि रेकर्ड गरिएको भिडियोमा सन्दीपले पुरन कुमारका विरुद्ध गम्भीर आरोप लगाएका छन् । आफूले दिएको बलिदानलाई उनले स्वतन्त्रता सेनानी भगत सिंहसँग तुलना गरे ।
सत्यको बाटोमा बलिदान दिँदा देश जाग्नेछ भनी उनले बोलेको सुनिन्छ ।
पुरन कुमारको नाम घुसखोरीको घटनामा हालै जोडिएको थियो ।
रोहतकका एक मदिरा ठेकेदारले सुशील कुमारलाई पुरन कुमारको नाममा साढे २ लाख भारु बराबरको घूस मागेको आरोप लगाएका थिए ।
त्यसपछि सुशील कुमारलाई पक्राउ गरिएको छ ।
पुरनले गत साताको मंगलवार चण्डीगढस्थित निवासमा आत्महत्या गरेका थिए । उनले सुसाइड नोटमा १६ जना वरिष्ठ अधिकृतहरूले सताएको आरोप लगाएका थिए । आत्महत्याका लागि उनीहरूले बाध्य बनाएको पुरनको आरोप थियो ।
पुरन एडिशनल डाइरेक्टर जनरल अफ पुलिस थिए र उनले चण्डीगढस्थित सरकारी निवासमा आत्महत्या गरेका थिए ।
उनको मृत्युपछि हरियाणा सरकारले डीजीपीलाई बिदामा पठाएको छ र एसपी नरेन्द्र बिर्जानियालाई सरुवा गरी उनको ठाउँमा सुरिन्दर सिंह भोरियालाई ल्याएको छ ।
पुरन कुमारको आत्महत्या केसको एफआईआरमा एससी एसटी (प्रिभेन्शन अफ एट्रोसिटीज) एक्ट अन्तर्गतका धाराहरू पनि लगाइएको छ । पुरन दलित भएकाले वरिष्ठ अधिकृतहरूले हेपाहा व्यवहार देखाएर सताउने गरेको र त्यसैले गर्दा पुरनले आत्महत्या गरेको उनकी पत्नी अमनीत पी कुमारले आरोप लगाएकी छन् ।
त्यसपछि दलित अधिकारकर्मीहरूले यस विषयलाई जोडतोडका साथ उठाउन थालेका थिए । तर, अन्यले चाहिँ पुरन कुमारले भ्रष्टाचार गरेकाले अनुसन्धानमा तानिएर बेइज्जत हुने डरले आत्महत्या गरेको र यसमा जातको कुरा ल्याउन नहुने तर्क गरेका छन् ।








प्रतिक्रिया