माडगास्कारमा जेनजी आन्दोलनलगत्तै सेनाको कूपछि भागे राष्ट्रपति राजोलिना, लगाइयो महाभियोग

266
Shares

एजेन्सी । अफ्रिकी मुलुक माडगास्कारमा सेनाले कू गरेपछि राष्ट्रपति आन्द्री राजोलिना भागेका छन् । उनी देश छोडेर गएको बताइएको छ तर कहाँ छन् भनी खुलाइएको छैन ।

सेनाको क्यापस्याट इकाइले विद्रोह गरेकोमा सम्पूर्ण सेना नै उसको नियन्त्रणमा आएपछि राष्ट्रपति भागेका हुन् ।

बिजुली र पानीको आपूर्ति नभएपछि आक्रोशित जेनजी युवाहरूले लगातार प्रदर्शन गर्दै आएका थिए । उनीहरूले राष्ट्रपति राजोलिनालाई राजीनामा दिन दबाब दिएका थिए । तर, सरकार भंग गरेर सेनाका अधिकृतलाई प्रधानमन्त्री बनाएका राजोलिना आफ्नो पदमा कायम रहे ।

त्यसपछि सेनाको क्यापस्याट इकाइ पनि जेनजीको आन्दोलनमा मिसियो । सेनाले साथ छोडेपछि राजोलिनालाई भाग्नुको विकल्प रहेन ।

‘हामीले सत्ता हातमा लिएका छौं,’ कर्नेल माइकल रान्डरियानिरियाले सरकारी रेडियोबाट घोषणा गरे । सरकारले संसद्को तल्लो सदनबाहेक अन्य सबै निकायलाई भंग गरेको पनि उनले जानकारी दिए ।

सेनाको नेतृत्वमा रहेको एक समितिले संक्रमणकालीन सरकारसँग मिलेर दुई वर्षसम्म शासन चलाउने र त्यसपछि नयाँ निर्वाचन गराउने रान्डरियानिरियाले पत्रकारहरूलाई बताए ।

राष्ट्रपति राजोलिनाले संसद् भंग गर्न खोजेका थिए तर सांसदहरूले उनीविरुद्ध महाभियोगको प्रस्ताव पारित गरे । त्यसपछि छाएको संवैधानिक रिक्ततालाई सेनाले कू गर्ने अवसरका रूपमा लियो ।

राजोलिना स्वयं सन् २००९ मा कूमार्फत सत्तामा आएका थिए । उनले अहिलेको सैन्य कूको निन्दा गरेका छन् ।

माडगास्कार संसारको सबभन्दा गरिब देशमध्ये पर्छ । त्यहाँको औसत आयु २० भन्दा कम छ । त्यहाँको करिब ३ करोड जनसंख्यामध्ये तीनचौथाइ गरिबीमा छन् । सन् १९६० मा स्वतन्त्र भएको माडागास्कारको कुल गार्हस्थ्य उत्पादन विगत ६० वर्षमा ४५ प्रतिशतले घटेको विश्व बैंकले जनाएको छ ।