अवैध रूपमा गोप्य दस्तावेज राखेको आरोपमा अमेरिकाका भारतविज्ञ पक्राउ

532
Shares

एजेन्सी । अमेरिकी सरकारले विदेशनीति विज्ञ एश्ली टेलिसलाई पक्राउ गरेको छ ।

टेलिसले अवैध रूपमा राष्ट्रिय सुरक्षा सम्बन्धी कागजात राखेको आरोप लगाउँदै पक्राउ गरिएको हो ।

विगत चार महिनामा टेलिसले लगातार चिनियाँ अधिकारीहरूलाई भेटेको अमेरिकी सुरक्षा निकायले जनाएको छ । दोषी ठहर भएमा टेलिसलाई १० वर्षको कैद सजाय र २ लाख ५० हजार डलर बराबरको जरिवाना लगाइनेछ ।

टेलिस अमेरिका र भारतको सम्बन्धका विज्ञ हुन् । भारतमा जन्मेका उनले मुम्बईमा शिक्षादीक्षा पाएका थिए । पछि उनी अमेरिकाको शिकागो विश्वविद्यालयमा विद्यावारिधि गर्न गएका थिए । अमेरिका–भारत सम्बन्ध, आणविक नीति र अमेरिकाको बृहद् रणनीतिका विज्ञका रूपमा उनले आफूलाई स्थापित गरेका थिए ।

सन् २००० को दशकमा अमेरिका र भारतबीच आणविक सम्झौता गराउने प्रमुख सूत्रधार टेलिस नै भएको बताइन्छ । उनले तत्कालीन बुश प्रशासनको प्रमुख सल्लाहकारका रूपमा अमेरिका र भारतलाई यो सम्झौता गराउनका लागि भूमिका खेलेका थिए । भारतका बहालवाला विदेशमन्त्री एस जयशंकर त्यतिखेर सरकारी कर्मचारी थिए र उनले टेलिससँग मिलेर आणविक सम्झौता गराएका थिए ।

सरकारबाट बाहिरिएपछि टेलिसले विदेशनीतिका विषयमा टिप्पणी गर्दै आएका थिए । वाशिङटन र नयाँ दिल्लीको रणनीतिक वृत्तमा उनको निकट सम्बन्ध थियो । सन् २०२२ मा टेलिसले भारतको विदेशनीतिका विषयमा प्रकाशन गरेको पुस्तकलाई जयशंकरले प्रशंसा गरेका थिए ।

टेलिस पक्राउ पर्दा विदेशनीति समुदायका मानिस स्तब्ध भएका छन् ।

भारतले बहुध्रुवीयतालाई अपनाएकोमा टेलिसले आलोचना पनि गरेका थिए । रणनीतिक स्वायत्तता कायम गर्दै अमेरिकाको इच्छाविपरीत काम गरेकोमा टेलिस असन्तुष्ट थिए ।