ग्रामिण विकास र समाज लघुवित्तको एकिकृत कारोबार कात्तिक २ देखि

49
Shares

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा मर्ज भएपछि आगामी कात्तिक २ गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त यी दुई लघुवित्त संस्थाले मर्जपछिको संयुक्त कारोबार ‘ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ नामबाट सञ्चालन गर्नेछन् ।

ग्रामीण विकास लघुवित्तको मुख्य कार्यालय बुटवल रुपन्देहीमा रहेको छ भने समाज लघुवित्तको कार्यालय मलंगवा सर्लाहीमा रहेको थियो। मर्जपछि संयुक्त संस्थाको प्रधान कार्यालय ग्रामीण विकास लघुवित्तकै हालको कार्यालय बुटवलमा रहनेछ।

नेपाल राष्ट्र बैंकले असोज २३ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । दुई कम्पनी १ः१ को समान स्वापमा मर्ज हुन लागेका हुन् ।

ग्रामीण विकासको चुक्ता पुँजी ९८ करोड २५ लाख रहेको छ भने समाजको पुँजी २ करोड २८ लाख ५० हजार मात्र छ । हाल ग्रामिण विकास लघुवित्तको सेयरमूल्य ७१५ रुपैयाँ रहेको छ भने समाज लघुवित्तको सेयरमूल्य २ हजार ५७३ रुपैयाँ रहेको छ ।

एकिकृत कारोबार हुने भएकोले डाटा माइग्रेसन कार्यको लागि दुवै कम्पनीको बैंकिंङ कारोबार कार्तिक १ गते बन्द रहने भएको छ । त्यस्तै सेयर लगत एकिकरण तथा मिलानको लागि कार्तिक १ गतेदेखि सेयर कारोबार समेत रोक्का हुने कम्पनीले जनाएको छ ।