जब टर्कीका राष्ट्रपतिले इटलीकी प्रधानमन्त्रीलाई भने– चुरोट तान्न छोडिदिनुस्

686
Shares

एजेन्सी । टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले इटलीकी प्रधानमन्त्री जोर्जिया मेलोनीलाई इजिप्टको शर्म एल शेखमा भेट्दा दिएको सुझावको चर्चा भइरहेको छ ।

‘तपाईं गजबकी देखिनुहुन्छ,’ उनले भने, ‘तर मैले तपाईंलाई चुरोट तान्न छोडाउनुपर्छ ।’

गाजा शान्ति शिखर सम्मेलनमा सहभागी हुन उनीहरू त्यहाँ पुगेका थिए ।

आफूले चुरोट तान्न छोड्ने हो भने कसैलाई मार्नुपर्ने हुन्छ भनी मेलोनीले ठट्यौली गरेकी थिइन् ।

आफूलाई चुरोट तान्ने बानी छोड्न गाह्रो परिरहेको मेलोनीले स्वीकार गरेकी छन् ।

एर्दोआनले मेलोनीलाई चुरोट छोड्न भन्दा बेलायतका प्रधानमन्त्री सर केर स्टार्मर र फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोन हाँसेका थिए ।

त्यसको जवाफमा मेलोनीले भनिन्, ‘मलाई थाहा छ, थाहा छ । म कसैलाई पनि मार्न चाहन्नँ ।’

हालै प्रकाशित संस्मरणमा मेलोनीले १३ वर्षको अन्तरपछि फेरि चुरोट तान्न थालेको उल्लेख गरेकी छन् ।

यसरी चुरोट तान्दा अरू मुलुकका नेतासँग घुलमिल हुन सजिलो भएको उनको दाबी छ ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पनि सोमबारको सम्मेलनमा मेलोनीको रूपरंगको प्रशंसा गरेका थिए ।